७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्सागढी नगरपालिकाको बजेट ५१ करोड ८६ लाख

वीरगन्ज (पर्सा) - पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि ५१ करोड ८६ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरसभाबाट पारित चालु आवको वार्षिक बजेट र नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायत प्राथमिकतामा राखिएको छ ।नगरपालिकाले आर्थिक वर्ष सुरु भएको १५ दिनपछि बल्ल बजेट ल्याएको हो । ऐनअनुसार स्थानीय तहले गत असार १० गतेभित्रै बजेट र नीति तथा कार्यक्रम ल्याउनुपर्ने थियो।

नगरपालिकाले संघीय सरकारबाट अनुदानस्वरुप प्राप्त हुने ४४ करोड ६९ लाख ७० हजार रुपैयाँ, प्रदेश सरकारबाट आउने एक करोड २९ लाख ३७ हजार र विभिन्न संघसंस्था र गैरसरकारी निकायबाट आउने ९५ लाख ८४ हजार रुपैयाँ विनियोजित बजेटको मुख्य स्रोत रहने उल्लेख गरेको छ । त्यस्तै, तीन करोड २४ लाख १९ हजार रुपैयाँ नगरपालिकाको आन्तरिक स्रोतबाट आम्दानी हुने अनुमान छ ।कुल बजेटमध्ये ७६ प्रतिशत पुँजीगत र २४ प्रतिशत चालु खर्चका लागि छुट्याइएको छ । त्यसअनुसार चालुतर्फ १२ करोड ४८ लाख १८ हजार र पुँजीगततर्फ ३९ करोड ३८ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

सोमबार बजेट सार्वजनिक गर्दै नगरपालिकाका मेयर लोकनारायण यादवले हरेक वडाका लागि ६० लाख रुपैयाँका दरले बजेट दिइएको बताए । ठूला वडाका लागि नगरस्तरीय कार्यक्रमबाट थप बजेट दिइने उनले बताए । आन्तरिक आय वृृद्धिका लागि करदातालाई न्यून कर तथा सेवा शुल्क लगाएर करको दायरा बढाइएको, घरको नक्सा पास, अभिलेखिकरण, सम्पत्ति कर, व्यवसाय दर्ता करलगायत लागू गरिने नगरप्रमुख यादवले जानकारी दिए।
नगरपालिका कार्यालय भवन निर्माण, फोहोर मैला व्यवस्थापन, विद्यालयमा दिवा खाजा कार्यक्रम, खुल्ला दिसामुक्त क्षेत्र घोषणा, सीपमुलक र आयआर्जका कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राख्दै अघि सारेको छ । गत आर्थिक वर्षमा पूर्ण खोपयुक्त नगरपालिका घोषणा भइसकेको पर्सा गढीलाई यसआर्थिक वर्षभित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिइएको यादवले बताए।

पर्सागढी नगर गुरुयोजना निर्माण, पर्यटन गुरुयोजना निर्माण, भू–उपयोग नीति बनाउने, योजनाका आधारमा विकासका कार्य अघि बढाउँदै उपभोक्ता समितिलाई ग्राहयता दिने कृषि, शिक्षा र स्वास्थ्यको क्षेत्रगत रणनीति र योजना निर्माण गर्ने जस्ता महत्वपूर्ण कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको उनले बताए ।
 

प्रकाशित: १७ श्रावण २०७५ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App