coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धरापजस्तै हुलाकी सडक

कैलालीको फूलबारीस्थित हुलाकी सडकखण्डमा कल्भर्ट फुटेर देखिएको फलामे छड । तस्बिरः पुष्पराज /नागरिक

फूलबारी (कैलाली) - धनगढीदेखि फूलबारीसम्मको ११ किलोमिटर हुलाकी सडक ठाउँठाउँमा भत्किएर धरापजस्तै भएको छ । धनगढीको क्याम्पसचोकदेखि फूलबारीको जिरो प्वाइन्टसम्मको ११ किलोमिटरको यात्रा मोटरसाइकल तथा अन्य साना ठूला सवारीसाधनका लागि कष्टपूर्ण बन्दै गएको छ।

हुलाकी सडकमा बनेको साना कल्भर्ट भत्किएर फलामे छड निस्कँदा सडकमा धराप बिछ्याएझैं लाग्ने गरेको छ । ‘धनगढीदेखि फूलबारीसम्म ठाउँठाउँमा कालोपत्रे उप्किएर उस्तै छ, त्यसमाथि तीन ठाउँका कल्भर्टको पहिलो ‘लेयर’ निस्केर फलामे छड छरपस्ट हुँदा झनै जोखिम बढेको छ,’ फूलबारीका स्थानीय कृत बिष्टले भने, ‘धनगढी–फूलबारी आउजाउ गर्नै जोखिम छ ।’ बेलुकीको समयमा मोटरसाइकलमा यात्रा गर्न झनै जोखिम रहेको उनले बताए । ‘सडकका खाल्डामा पानी भरिँदा जोखिम उस्तै छ,’ उनले भने, ‘कल्भर्टका सरियाले त झनै धराप बिछ्याएझैं लाग्छ ।’धनगढी–फूलबारी सडकखण्डमा पहिलोपटक यात्रा गर्ने सवारी चालकले अझ बढी जोखिम बेहोर्नुपर्ने बाध्यता रहेको धनगढीका डिल्लीराज जोशीले बताए ।

‘काम विशेषले फूलबारी जाउँ भनेको त पूरै खाल्डै खाल्डाले मोटरसाइकल पन्चर भयो,’ उनले भने, ‘कल्भर्टको पहिलो लेयर उप्किएर तल बिछ्याइएका सरिया निस्कँदा जोखिम झन् बढेको छ ।’ ती कल्भर्टका सरियाले सवारी दुर्घटनाको जोखिम तथा टायर पन्चर हुने र फुट्ने समस्या बढेको जोशीको भनाइ छ।फूलबारीका महेश गोलेका अनुसार फूलबारी क्षेत्र जाने हुलाकी सडकको तीन स्थानमा बनाइएको कल्भर्ट फुटेर फलामे छड निस्किएको छ । उक्त  सडकखण्डको कनरीका दुई वटा र बेलीको जंगलमा निर्माण गरिएको एउटा कल्भर्ट फुटेका छन् । निर्माण कम्पनीले सरकारलाई सडक हस्तान्तरण गरेको डेढ वर्ष नबित्दै सडक जीर्ण बनेको उनले बताए । ‘सडक र कल्भर्ट निर्माणमा कमसल सामग्री प्रयोग गरिएको हुनुपर्छ ।

धनगढीको क्याम्पसचोकदेखि फूलबारीको जिरो प्वाइन्टसम्मको ११ किलोमिटर सडकखण्डका तीन ठाउँमा निर्माण गरिएका कल्भर्ट फुटेर फलामे छड निस्कँदा सडक धरापजस्तै बनेको छ ।

नत्र निर्माण सम्पन्न भएको डेढ वर्ष नबित्दै भत्कनु आफैंमा शंकास्पद् छ,’ गोलेले भने, ‘जाँचबुझ गर्ने र उजुरी दिने स्थानसम्म जनता पुग्न सक्ने अवस्था छैन ।’धनगढीस्थित हुलाकी राजमार्ग आयोजनाको कार्यालयमा पटकपटक धाउँदासमेत कुनै सुनुवाइ नभएको धनगढी उपमहानगरपालिका–१८ का वडा अध्यक्ष मुरारी अधिकारीले जानकारी दिए । ‘यो सडकखण्ड भारतीय जिआर गाभर कम्पनीले बनाएको हो,’ उनले भने, ‘हतारहतारमा सरकारलाई हस्तान्तरण गरेर ऊ पन्छिसकेको छ ।

अहिले हामीले सास्ती भोग्नुपरेको छ ।’ सम्झौताअनुसार सडक निर्माण गरेको दुई वर्षपछि मात्रै निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो । दुई वर्षसम्म भत्के बिग्रिएको मर्मतसम्भारसमेत गर्नुपर्ने सम्झौतामा छ । निर्माणलगत्तै हतारमा भारतीय निर्माण कम्पनीले हस्तान्तरण गर्दा सरकारी पक्ष उदासीन बनेको उनले बताए । हुलाकी सडक संघीय सरकार मातहत रहेको र बजेट पनि केन्द्रबाटै निर्धारण गरिएकाले नगरपालिकाले मर्मतसम्भार गर्न नसक्ने वडा अध्यक्ष अधिकारीको भनाइ छ । ‘समस्या लिएर जनता वडा कार्यालयमा आइरहन्छन्,’ उनले भने, ‘नगरपालिका मातहत नभएकाले हामीले केही गर्न सक्ने अवस्था छैन।’

धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले हुलाकी सडकमा बनेका खाल्डाखुल्डी मर्मतसम्भारका लागि हुलाकी सडक आयोजना कार्यालयसँग आग्रह गरिएको जानकारी दिए । धनगढीस्थित हुलाकी राजमार्ग आयोजनाका योजना प्रमुख मनिषकुमार साहले गत आर्थिक वर्षमा बजेट नभएकाले हुलाकी सडक मर्मत गर्न नसकिएको बताए । ‘फूलबारी क्षेत्रमा कल्भर्ट फुटेर निस्केका सरिया सोझ्याउने काम गरेका छौं,’ साहले भने, ‘चालु आर्थिक वर्षको बजेट नआउँदासम्म मर्मतसम्भारको काम गर्न सकिदैन ।’ बजेट आएपनि टेण्डर प्रक्रियामा जानुपर्ने भएकाले असोजपछि मात्रै मर्मतको काम हुने उनले बताए ।



 

प्रकाशित: १७ श्रावण २०७५ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App