काठमाडौं - सरकारले अन्यत्र अनुगमन गर्ने गरे पनि ठूला र तारे होटलमा बिरलै अनुगमन गर्ने गरेको छ । सरकारले खुद्रा पसलका साथै मध्यम खालका होटलमा भने बर्सेनि अनुगमन गर्ने गरेको पाइन्छ।
तारे होटलमा खानाको गुणस्तर, खाद्यान्न भण्डार, भान्छामा प्रयोग भएका कच्चा पदार्थ लगायत विषयमा अनुगमन भएको पाइँदैन । बर्खा र कर्मचारी सरुवाका कारण सुस्त रहेको बजार अनुगमन पछिल्लो समय सक्रिय भएको छ । तर यो खुद्रा व्यवसाय, पसलमा सीमित छ, ठूला होटलमा अनुगमन भएको छैन।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन अनुगमन भन्नेबित्तिकै आपूर्ति विभागलाई जिम्मा लगाउनु नहुने बताउँछन् । ‘बजारमा विभिन्न व्यवसाय र उद्योग छन् । व्यवसाय अनुसार अनुमति दिने फरकफरक निकाय हुन्छन्,’ महानिर्देशक गौचनले भने, ‘तर हरेक चिजको गुणस्तर र अनुगमनलाई लिएर आपूर्ति विभागमा गुनासो आउँछ । यो भ्रम हो । व्यवसायसँग सम्बन्धित निकायले अनुगमन गर्नुपर्छ।’
उनका अनुसार ठूला होटललाई लाइसेन्स दिने कम्पनी रजिस्ट्रारको कार्यालयको साथै पर्यटनसँग सम्बन्धित निकाय पर्यटन विभागले अनुगमन गर्नुपर्ने महानिर्देशक गौचनको भनाइ छ । ‘सामूहिक अनुगमनमा आपूर्ति विभाग सक्रिय सहभागी हुन्छ,’ उनले भने, ‘अहिले पनि अनुगमन गरिरहेका छौं । सम्बद्ध निकायसँग समन्वय गरेर ठूला होटलमा पनि अनुगमनको प्रयास गर्नेछौं।’
बजार अनुगमन गर्ने अर्को निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग पनि तारे होटल अनुगमनको योजना छैन । तारे होटलले विभिन्न देशबाट आयात गर्ने मासु लगायत खाद्य वस्तुको अनुगमन हुन नसकेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले तारे होटलमा अनुगमनबारे कार्यविधिमा उल्लेख भए पनि अहिले पानी, तेल र दूधमा ध्यान केन्द्रित रहेको बताए । होटल क्षेत्रलाई गुणस्तरीय बनाउन अभियानको रुपमा विभागले काम गरिरहेको कर्णको भनाइ छ।
‘विभागले तारे होटल र सामान्य होटललाई व्यवस्थित गर्न स्टिकर प्रणाली ल्याएको छ । होटलको पूर्वाधार, खाद्य गुणस्तर र वातावरणको आधारमा हरियो र पहेंलो रङको स्टिकर टाँस्छौं,’ महानिर्देशक कर्णले नागरिकसँग भने, ‘हरियो रङलाई ए, बी र सी श्रेणीमा छुट्ट्याइएको छ । गुणस्तरको आधारमा श्रेणी छुट्ट्याएको हो । सन्तोषजनक होटलमा पहेंलो स्टिकर टाँस्ने गरेका छौं ।’उनले तारे होटल अनुगमनलाई प्राथमिकतामा राखे पनि विभिन्न कारणले अनुगमन गर्न नसकेको बताए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले काठमाडौं उपत्यका र बाहिरका तारे होटलमा अनुगमन जरुरी रहेको बताए । ठूला होटलमा सरकारी तथा गैरसरकारी कार्यक्रम हुने गरेका कारण अनुगमन हुन नसकेको उनको भनाइ छ।
‘ठूला होटलको खानेकुरामा प्रयोग गरेको टेस्टिङ पाउडर, मसलेदार खाना र अजिनो मोटोको विषयमा आम उपभोक्ताले जानकारी पाउन सकेका छैनन् । होटलको भान्छामा प्रयोग भएका कच्चा पदार्थको स्रोतको विषयमा समेत जानकारी हुँदैन,’ मञ्चका अध्यक्ष तिमल्सिनाले भने, ‘ठूला होटलमा प्रयोग हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाद्य वस्तुको गुणस्तर परीक्षण, पानीको स्रोतको अनुगमन गर्न जरुरी छ ।’
प्रकाशित: १७ श्रावण २०७५ ०१:२९ बिहीबार