८ वैशाख २०८१ शनिबार
अर्थ

सिमेन्टमा आत्मनिर्भर ! क्लिंकर आयात उल्टो बढ्दै

काठमाडौं - सरकारले सिमेन्टमा मुलुक आत्मनिर्भर भएर निर्यात हुने अवस्था आएको दाबी गरे पनि यसको प्रमुख कच्चा पदार्थ क्लिंकर आयात बढ्दै गएकाले आत्मनिर्भरको वास्तविक औचित्य नभएको व्यवसायीहरुले बताएका छन्।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको जेठसम्ममा २७ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । यस अवधिमा झन्डै तीन अर्ब २८ करोड किलोग्राम क्लिंकर आएको छ । पछिल्लो ११ महिनामा आयात भएको यो क्लिंकर अघिल्लो आर्थिक वर्ष २०७३-०७४ भन्दा झन्डै दुई अर्ब रुपैयाँले बढी हो । उता, यही जेठसम्ममा एक अर्बभन्दा धेरैको सिमेन्ट पनि आयात भएको छ।

क्लिंकर आयात बर्सेनि बढदै जाँदा मुलुक सिमेन्टमा आत्मनिर्भर भए पनि यसको बढी अर्थ नहुने उद्योगी व्यवसायीको भनाइ छ । सिमेन्ट उत्पादनमा सबैभन्दा ठूलो भूमिका खेल्ने र लागत पनि धेरै हुने क्लिंकरमा आत्मनिर्भर भएमात्र खास अर्थमा आत्मनिर्भर भएको भन्न सकिने सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रब थापाले बताए ।‘सिमेन्टमा मात्र आत्मनिर्भर भन्न सकिएला तर यसलाई चाहिने कच्चा पदार्थ क्लिंकरमा समेत आत्मनिर्भर भए मात्र खास अर्थमा आत्मनिर्भर मानिने छ,’ थापाले नागरिकसँग भने, ‘यसका लागि मुलुकमै आवश्यक क्लिंकर उत्पादन गर्नु आवश्यक छ।’

  अर्कोतिर सरकारले चालु आर्थिक वर्षदेखि क्लिंकर आयात शून्य बनाउने योजना अघि सारेको छ । नेपालमा भुटान, चीन, भारतबाट क्लिंकर आयात भइरहेको छ । अधिकांश क्लिंकर भारतबाट आउँछ । भुटानबाट झन्डै १० करोड ८० लाख र चीनबाट ३० लाख रुपैयाँको मात्र आएको छ ।  सरकारले आयात प्रतिस्थापन एवं निर्यात प्रवर्द्धन गर्न आत्मनिर्भर हुन सक्ने क्षेत्रमा सिमेन्टलाई पनि राखेको हो । तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता भएका स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनलाई प्राथमिकता दिँदै आत्मनिर्भर हुन सक्ने उद्योगको रुपमा सिमेन्टलाई राखे पनि यसका कच्चा पदार्थ आयात रोक्नु चुनौती बनेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको चालु आवको योजनाअनुसार यसै वर्षभित्र क्लिंकर र सिमेन्ट आयात शून्यमा झारिनेछ । उद्योगमा रहेका समस्या समाधान भएमा चालु आवको अन्त्यसम्म वा अर्को वर्षको सुरुसम्ममा क्लिंकर आयात शून्य हुन सक्नेमा थापा पनि सहमत छन् । ‘अहिले कोइला लगायत क्षेत्रमा हामीलाई धेरै समस्या छ,’ थापाले भने, ‘पाइपलाइनमा भएका उद्योग समयमै आएमा क्लिंकर आयात शून्य हुन सक्छ ।’मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकमा क्लिंकरको माग ५.७६ लाख टन छ । यसमध्ये ३.५० लाख टन स्वदेशमै उत्पादन भइरहेको छ । क्लिंकर उत्पादन चालु आवमा ८.५५ लाख टन र आव २०७८-०७९ मा १५.७२ लाख टन पुर्याउने लक्ष्य मन्त्रालयले राखेको छ।

त्यसैगरी, सिमेन्टको माग आठ लाख टन छ । उत्पादन ७.२ लाख टनमात्र रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । चालु आवमा सिमेन्टको माग १०.५८ लाख टन हुने र उत्पादन पनि त्यत्ति नै गर्ने योजना सरकारको छ । आव २०७८÷०७९ माग १६.०९ लाख टन हुने र उत्पादन पनि सोही परिमाणमा गर्ने योजना मन्त्रालयले अगाडि सारेको छ ।
हाल मुलुकमा ५४ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । यसमध्ये झन्डै एक दर्जनले आफैं क्लिंकर उत्पादन गर्छन् । ६ वटा सिमेन्ट उद्योग निर्माणाधीन अवस्थामा छन्।

मुलुकमा प्रशस्त मात्रामा चुनढुंगा खानी रहे पनि अधिकांश सिमेन्ट उद्योगले भारतबाट क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गर्छन् । मन्त्रालयका अनुसार अहिलेसम्म ५२ वटा चुनढुंगा उत्खनन अनुमतिपत्र जारी भएको छ ।
मन्त्रालयको चालु आवको नीति तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना अन्तर्गत सिमेन्ट उद्योग प्रवद्र्धनका लागि पहल गर्ने भनेर केही योजना अघि सारिएको छ । सरकारको योजना अनुसार सुर्खेत, खोटाङ र धादिङमा चुनढुंगाा खनिज भण्डारको पहिचान, विकास तथा प्रवद्र्धन गरिने छ।

त्यसैगरी, सिमेन्टको नेपाल गुणस्तर परिमार्जन गर्न आगामी आवमा ३३, ४३ र ५३ ग्रेडको सिमेन्ट सम्बन्धी एनएस नेपाल गुणस्तर परिषद्बाट स्वीकृत योजना मन्त्रालयले बनाएको छ । सिमेन्ट उद्योगको कच्चा पदार्थको रुपमा कोइला आयात गर्दा लाग्ने समय र लागत घटाउन वीरगन्जका अतिरिक्त विराटनगर, भैरहवा, नेपालगन्ज नाकाबाट पनि ल्याउने व्यवस्था गर्न पहल गर्ने सरकारी योजना छ ।नेपालमा क्लिंकर आयात हुने भन्सार बिन्दुमा छुट्टै डस्टी कार्गो राख्न मिल्ने सुक्खा बन्दरगाह निर्माण गर्ने, आव २०७९-०८० सम्म ३० वटा सिमेन्ट उद्योग खानी पहुँचमार्गको ट्र्याक खोल्ने कार्य सम्पन्न गर्ने पनि सरकारको योजना छ । त्यस्तै, हाल सुरु भएका १२ वटा सिमेन्ट उद्योगमा सबस्टेसन तथा प्रसारण लाइन निर्माण कार्य आव २०७९÷०८० सम्म सम्पन्न गर्ने उद्योग मन्त्रालयको योजना छ ।

 

प्रकाशित: १७ श्रावण २०७५ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App