८ वैशाख २०८१ शनिबार
समाज

माछापुच्छ्रेको शिरमाथि नेपालको झण्डा

पोखरा- फेवातालमा देखिने माछापुच्छ्रेको छायाँमाथि नेपालको झण्डा देखिनेछ। माछापुच्छ्रेको छायाँ देखिने फेवातालको ड्यामसाईड क्षेत्रबाट फेवातालमा हिमाल देख्ने पर्यटकहरुले अब देशको झण्डा पनि देख्नेछन्। गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढेको छ।

उक्त क्षेत्रमा १०० मिटर अग्लो नेपालको झण्डा राखिनेछ। उक्त झण्डाको छायाँ फेवातालमा पर्दा त्यो माछापुच्छ्रेको हिमालको शिरमाथि हुनेछ। पर्यटन गण्डकी सरकारको पहिलो प्राथमिकता हो। गण्डकी सरकारले सन् २०२२ भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उसो त नेपाल सरकारले पनि सन् २०२० सम्ममा २० लाख नै पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। संघीय  र प्रदेश सरकारको प्राथमिकतालाई सार्थकता दिन ‘माछापुच्छ्रे शिरमाथि नेपालको झण्डा’ले सघाउ पुर्‍याउने सरकारले अपेक्षा राखेको छ।

  •         १ करोड लागत लाग्ने
  •       गण्डकी सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानी गर्ने
  •       मन्त्रिपरिषदबाट स्विकृत भईसकेको
  •       राष्ट्रियताको सम्वद्र्धन र पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य

‘राष्ट्रियताको सम्वद्र्धन र पर्यटनको प्रवद्र्धन’को लागि स्थानीय र प्रदेश सरकारले यो योजना बनाउने भएका हुन्। पोखरा महानगरपालिकाले नै यो योजना निर्माण गर्ने भएतापनि गण्डकी सरकारले यसमा आधा लगानी गर्नेछ।

पोखरा महानगरपालिकाका सहायक प्रशासकीय अधिकृत यमलाल अधिकारीले भने, ‘योजनाको लागि सम्भाव्यता अध्ययन गरिसकिएको छ र ईष्टिमेट पनि तयार भईसकेको छ, प्रदेशको पर्यटन मन्त्रालयमा ईष्टिमेट पनि पठाएका छौँ।’

यो योजनाले पर्यटकलाई निकै आकर्षित गर्न सक्ने उनी बताउँछन्। ‘फेवातालमा देखिने माछापुच्छ्रेको सुन्दर छायाँमाथि देशको झण्डा देखिनु साँच्चिकै सुन्दर हुनेछ, यसले राष्ट्रियतालाई पनि सम्वद्र्धन गर्छ अनि सरकारको प्राथमिकतालाई पनि सहयोग गर्छ,’ अधिकारीले भने।

प्रदेश सरकारले स्विकृत गरेको खण्डमा यो योजना सुरु हुने उनले जनाए। महानगरपालिकाले यसको अध्ययन गरेर झन्डै १ करोड रुपैयाँ लागत लाग्ने प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको छ।

महानगरपालिकाको यो प्रस्ताव बुधबारको मन्त्रिपरिषद बैठकले पनि स्विकृत गरिसकेको छ। मन्त्रिपरिषदले नै यो योजनालाई स्विकृत गरेपछि योजाना अब टेण्डर प्रक्रियामा जाने सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

टेण्डर प्रक्रियामा गईसकेपछि लाग्ने लागतमा सरकारले समपुरक अनुदानबाट र महानगरपालिकाले ५०/५० प्रतिशत लगानी गर्नेछन्। टेण्डर भने महानगरपालिकाले आह्वान गर्नेछ।

१०० मिटर अग्लो झण्डा राखिने भएपछि ड्यामसाईड पार्क परिसरको संरचना पनि फेरिने प्रवक्ता बस्नेतले जानकारी दिए।

‘संरचना निर्माण गरेर टिकट घरसहितको झण्डा पार्क निर्माण हुनेछ, प्राविधिक दृष्टिकोणले पनि यसको अध्ययन भईसकेको छ’ उनले भने।

झण्डाको लागि संरचना निर्माण गर्दा तथा झण्डा नै राख्दा पनि पर्यावरणलाई नबिग्रिने तरिकाले काम गरिने र यसको लागि पुन एकपटक अध्ययन गरिने जनाईएको छ।

यस्तै, बैठकले प्रादेशिक संरचनाहरुलाई प्रदेश मातहतमा नै ल्याउनको लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। प्रदेशमा रहेका सातवटा मन्त्रालय, मन्त्री र मन्त्रालयका सचिवहरु बस्ने क्वाटरहरु सरकारी भएतापनि संघीय सरकार मातहत नै रहेका छन्। सञ्चालनमा रहेका सबै प्रशासनिक संरचना प्रदेशलाई हस्तान्तरण गर्न अनुरोध गरिने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

प्रकाशित: १६ श्रावण २०७५ १४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App