८ वैशाख २०८१ शनिबार
समाज

सवारी नचल्दा स्थानीयलार्इ सास्ती

धादिङ - वर्षायामले निर्माणाधिन सडक विग्रिएपछि धादिङका अधिकांश सडकखण्डहरुमा यातायात सेवा अवरुद्ध भएको छ। जिल्लाको अधिकांश ग्रामीण बस्ती कच्ची सडक पार गरेर जानुपर्ने हुन्छ। यी बस्तीमा जाने बाटोमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ।

धादिङबेसी–सल्यानटार सडक खण्ड, सांकोष–तिप्लिङ सडक खण्ड, आदामघाट–किराञ्चोक सडक लगायतका ठाउँहरुमा निर्माण सुरु हुँदै गरेको बाटो पानीले बिगारेको छ। बाटो बिग्रिएका कारण सवारी साधन चल्न सकेको छैन। यातायात सञ्चालनमा आउन नसक्दा यात्रुहरू समस्यामा परेका छन् । यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

घर बनाउन सुरु गरेका सिद्धलेक गाउँपालिका –३, डुमिडाँडाका मीननारायण श्रेष्ठले सवारी चल्न नसक्दा बनाउन थालेको घर त्यतिकै छाडेका छन् । भूकम्पले घर भत्किएपछि घर बनाउन सुरु गरेका श्रेष्ठले डिपीसी गरेको घरमा गारो लगाउन इट्टा र बालुबा लैजान सकेका छैनन् । ‘पानी परेर बाटो हिड्न नसक्ने भएको छ, गाडी त गुड्ने अवस्था नै छैन’ श्रेष्ठले भने, ‘सामान ल्याउन नपाउदाँ बनाउन थालेको घर अलपत्र बनेको छ।’ 

पक्कि सडक निमार्णको कार्य भइरहेको ठाउँमा निर्माण कार्यको सुस्तताले प्रायजसो ठाउँमा सडक अलपत्र परेका छन्। सडक निमार्णको कामलाई तिव्रता दिई नागरिकको समस्या चाडो समाधान गर्न स्थानीयले आग्रह गरेका छन्। 

जिल्लाको उत्तरी भेगमा चल्ने सवारी साधन चल्न नसक्दा दैनिक उपभोग्य सामान र पुनर्निर्माणका लागि आवश्यक साधन पुर्याउन सकिएको छैन। धादिङबेसीदेखि टारीबेंसीसम्मको २६ किलोमिटर दुरी सडकको स्तरोन्नति नहुँदा सल्यानटार, मुलपानी, बसेरी, फूलखर्क लगायतका ठाउँमा जानका लागि समस्या भएको छ। वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किएका छन्। खाल्टाखुल्टी भएको ठाउँमा पानी जमेर सडक नै भासिएको छ भने हिलाम्य बनेको छ  सुरुसुरुका दिनमा यात्रुहरुले गाडी धकेलेरै भएपनि गन्तव्यमा पुर्याएका थिए तर अहिले सवारी साधनहरु पूर्ण रुपमा ठप्प भएका छन्।

२०४२ सालदेखि जिटिजेडको सहयोगमा हरियाली मार्गको रुपमा निर्माण सुरु गरिएको धादिङबेसी–सल्यानटार सडक हरेक वर्ष सडक मर्मत सम्भारको लागि एक करोडको हाराहारीमा खर्च भइरहेपनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन।

 

प्रकाशित: १६ श्रावण २०७५ १०:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App