८ वैशाख २०८१ शनिबार
खेल

उत्कृष्ट खेलाडी हुने भोक

अभ्यासका क्रममा प्रशिक्षक योर्गान क्लोप (बाँया) सँग ड्यानियल स्टुरिज ।

लन्डन – लिभरपुलका स्ट्राइकर ड्यानियल स्टुरिजले आफू पूर्ण रूपमा फिट नभए पनि नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई पुनः क्लबको महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गर्न चाहेको बताएका छन्।

२८ वर्षे स्टुरिज जनवरी सरुवा बजारमा वेस्ट ब्रोममा लोनमा गएका थिए । तर क्लबमा आबद्ध भएको केही समयपछि नै उनी चोटका कारण सिजनभर बेन्चमा बस्न बाध्य भए । उनले गत सिजन वेस्ट ब्रोमबाट ६ खेल मात्र खेलेका थिए । उनी यसै सिजन लिभरपुल फर्किएका हुन्। 

प्रशिक्षक योर्गान क्लोपले पूर्ण रूपमा फिट नभए पनि सिजनपूर्वको अभ्यासमा गरेको प्रदर्शनका आधारमा स्ट्राइकर  स्टुरिजमा यस सिजन क्लबको ‘महत्वपूर्ण खेलाडी’ हुने सम्भावना रहेको प्रतिक्रिया दिएका थिए।

‘मभित्र क्लबकै उत्कृष्ट खेलाडीका रूपमा स्थापित हुने भोक अझै बाँकी छ र त्यो कहिल्यै सकिँदैन । म प्रत्येक दिन सकारात्मक सोचका साथ आफूलाई प्रमाणित गर्न केन्द्रित छु,’ स्टुरिजले भने, ‘सिजनपूर्वको अभ्यासमा मैले उत्कृष्ट प्रदर्शन गर्दैै आफूलाई प्रमाणित गरिसकें तर यो प्रदर्शनले मात्र टोलीमा मेरो स्थान पक्का हुने सम्भावना न्यून छ। 

क्लबले गत सिजन उत्कृष्ट प्रदर्शन गर्याे । हामी च्याम्पियन्स लिगको फाइनलमा प्रवेशसमेत गरेका थियाैं, तर उपाधि भने पक्का गर्न सकेनाैं । क्लब यस सिजन गत सिजनको प्रदर्शनमा थप सुधार गर्दै इङ्लिस प्रिमियर लिगका साथै च्याम्पियन्स लिगको समेत उपाधि जित्न चाहन्छ । त्यसैले म क्लबको सफलताको महत्वपूर्ण पात्र बन्न चाहन्छु।’

सिजनपूर्वको अभ्यास खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई निराश पारेको लिभरपुलले अन्तिम दुई अभ्यास खेलमा नेपोली र टोरिनोको सामना गर्नेछ । लिभरपुलले अगस्ट १२ मा वेस्टह्यामविरुद्ध खेल्दै इङ्लिस प्रिमियर लिगको सुरुआत गर्नेछ।

प्रकाशित: १६ श्रावण २०७५ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App