७ वैशाख २०८१ शुक्रबार
खेल

न्युजिल्यान्डद्धारा पाकिस्तान जान अस्विकार

वेलिङटन – क्रिकेट न्युजिल्यान्डले यसै वर्षको अन्त्यमा ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि पाकिस्तानले गरेको भ्रमण निमन्त्रणा सुरक्षाको कारण देखाउँदै अस्विकार गरेको छ।

न्युजिल्यान्डले पाकिस्तानविरुद्ध तीन टेस्ट, तीन एकदिवसीय अन्तर्राष्ट्रिय र त्यतिनै ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नका लागि अक्टोबर देखि नोभेम्बरसम्म संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्दैछ । यही दौरान न्युजिल्यान्डलाई २० ओभरका तीन खेलका लागि पाकिस्तान भ्रमण गर्न सहमत गराउने पाकिस्तानको योजना थियो।

पाकिस्तानले अन्तर्राष्ट्रिय खेलका लागि युएइलाई घरेलु मैदानका रुपमा प्रयोग गर्दै आएको छ । न्युजिल्यान्डले पाकिस्तानविरुद्धको शृंखलाका लागि युएई भ्रमण गर्ने पक्का भए पनि खेलतालिका भने अझै तय भएको छैन।

‘हामीले त्यहाँको सुरक्षा अवस्था र हाम्रा सुरक्षा निकायबाट आएका सल्लाहमाथि ध्यान दिनुपर्छ । पक्कै पनि उनीहरु (पाकिस्तान क्रिकेट बोर्ड) हाम्रो निर्णयबाट निराश छन्,’ क्रिकेट न्युजिल्यान्डका अध्यक्ष ग्रेग बार्कलेलाई उद्यृत गर्दै इएसपिएन क्रिकइन्फोले जनाएको छ, ‘पाकिस्तानमा अन्तर्राष्ट्रिय कार्यक्रमहरु फिर्ता ल्याउने अभियानमा न्युजिल्यान्डजस्तो टिमको भ्रमणले ठूलो महत्व राख्ने थियो । त्यसैले पनि उनीहरु धेरै निराश भएका छन् । तर पाकिस्तान क्रिकेट बोर्डमा धेरै असल मानिसहरु छन् । उनीहरु हाम्रो बाध्यता बुझ्छन् । उनीहरुले हाम्रो निर्णयलाई सम्मान गर्नेछन्।

पाकिस्तानले भ्रमणका लागि क्रिकेट न्युजिल्यान्डलाई यो वर्षको सुरुमै प्रस्ताब गरेको थियो । पाकिस्तानको प्रस्ताब विषयमा क्रिकेट न्युजिल्यान्डले सुरक्षा निकाय, सरकार तथा खेलाडीहरुको राय माग गरेको थियो । तर सबै पक्षले तत्काल पाकिस्तानको जानु सुरक्षित नहुने सुझाव दिएपछि क्रिकेट न्युजिल्यान्ड प्रस्ताब अस्विकार गर्न बाध्य भएको बताइएको छ। 

२००९ मा लाहोरमा श्रीलंकाको टिम बसमाथि आतंककारी हमला भएपछि पाकिस्तानले युएईलाई घरेलु मैदानका रुपमा प्रयोग गर्दै आएको छ । यसबीचमा जिम्बाब्लेले २०१५ मा सिमित ओभरको शृंखलाका लागि भने पाकिस्तान भ्रमण गरेको थियो । पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने प्रयासस्वरुप गतवर्ष सेप्टेम्बरमा फाफ डु प्लेसी नेतृत्वमा थुप्रै वर्तमान अन्तर्राष्ट्रिय खेलाडीसहितको विश्व ११ टोलीले तीन ट्वान्टी–२० खेलको शृंखलाका लागि पाकिस्तानको भ्रमण गरेको थियो । यसैगरी २००९ यता लाहोर र कराचीमा पाकिस्तान सुपर लिग (पिएसएल) का केही खेल पनि भएका थिए। 

न्युजिल्यान्डले कराचीस्थित आफ्नो टिम होटलवाहिर आत्मघाति बम हमला भएका कारण २००२ को पाकिस्तान भ्रमण छोट्याएर चाढै भर फर्किएको थियो । पछिल्लो पटक न्युजिल्यान्डले त्यसको एक वर्षपछि २००३ मा पाकिस्तान भ्रमण गरेको थियो। 

‘वेस्ट इन्डिजको निर्णय प्रक्रियावारे म केही बताउन सक्दिन,’ वेस्ट इन्डिजले पाकिस्तान भ्रमणका लागि सहमति जनाएको निर्णयवारे बार्कलेले भने, ‘तर हामीले निश्चित प्रक्रियामार्फत निर्णय गर्नुपर्छ । हामीले गरेको निर्णयमा मलाई कुनै अप्ठेरो छैन । उनीहरुको अवस्थाप्रति हामीलाई सहानुभूति छ । हामी आइसिसीको सदस्य हौं । आइसिसी पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउन प्रयासरत छ । त्यसका लागि हामी पनि सहयोगी बन्न चाहन्छौं।’

प्रकाशित: १६ श्रावण २०७५ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App