८ वैशाख २०८१ शनिबार
खेल

एपिएफ महिला लिग च्याम्पियन

काठमाडौं – सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफले मंगलबार उप राष्ट्रपति राष्ट्रिय महिला लिगको उपाधि जितेको छ। 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको प्रतियोगिताको अन्तिम खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गर्दै एपिएफ च्याम्पियन भएको हो।

एपिएफले लिगका सबै खेलमा जित निकाल्दै अविजित रहेर लिगको उपाधि जित्न सफल भएको हो । जितसँगै एपिएफले नगद दुई लाख रुपैयाँ हात पारेको छ भने उपविजेता आर्मीले १ लाख रुपैयाँमा चित्त बुझायो । यस्तै, प्रतियोगितामा तेस्रो भएको रौतहट जिल्ला फुटबल संघको भागमा ५० हजार रुपैयाँ पार्याे। 

एपिएफले खेलको ४१औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । ४९औं मिनेटमा नै आर्मीले बराबरी गोल फर्काएको थियो । निकै प्रतिस्पर्धामक खेलमा एपिएफका लागि सावित्राले ५४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । खेल सकिन ८ मिनेट बाँकी रहँदा सावित्रा भण्डारीले व्यक्तिगत ह्याट्रिक पूरा गर्दा एपिएफ च्याम्पियन बन्यो। 

त्यस्तै, मंगलबारै सम्मपन्न अर्को खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं जिल्ला फुटबल संघमाथि ९–० को फराकिलो विजय हासिल गर्याे । पुलिसको जितमा निरु थापाले ४ गोल गरिन भने निर्मला उपाध्यायले दुई तथा घिमकुमारी गुरुङ, निर्मला बिके र मञ्जु गुरुङले १–१ गोल गरे। 

पाँच टिमको सहभागिता रहेको लिगमा नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी क्लब गरी तीन विभागीय टोली तथा काठमाडौ र रौतहट जिल्ला फुटबल संघले भाग लिएका थिए । प्रतियोगितामा एपिएफकी सावित्रा भण्डारी सर्बोत्कृष्ट खेलाडी घोषित भइन्।

प्रतियोगितामा सर्बाधिक गोल गरेकी सावित्राले चार खेलमा १२ पटक विपक्षी गोलकिपरलाई असफल पारेकी थिइन। सावित्राले नगद २५ हजार रुपैयाँ हात पारिन् । यस्तै, एपिएफका जनक सिंह उत्कृष्ट प्रशिक्षक बन्दा उत्कृष्ट फरवार्ड रौतहटकी राशीकुमारी घिसिङ घोषित भइन् । यस्तै, त्रिभुवन आर्मीकी पुनम जर्घा मगर उत्कृष्ट रक्षक बन्दा एपिएफका रेणुका नगरकोटी उत्कृष्ट मिडफिल्डर तथा एन्जीला थुम्बापो सुब्बा उत्कृष्ट गोलकिपरमा चुनिए । व्यक्तिगत विधामा उत्कृष्ट घोषित हुने सबैले नगद १० रूपैयाँ हात पारे।  

 

प्रकाशित: १६ श्रावण २०७५ ०४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App