७ वैशाख २०८१ शुक्रबार
खेल

नयाँ यात्रामा उत्साहजनक थालनीको अपेक्षा

काठमाडौं – बाउन्ड्री भित्र नेपाली क्रिकेटको उकाली यात्राले बुधबारबाट नयाँ उचाईको औपचारिकता पूरा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएपछि नेपाली राष्ट्रिय टोलीले बुधबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ।

कुनै समय नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष जयकुमार नाथ शाहले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताको कुरा गर्दा उनी हासोको पात्र बन्थे । तर, नेदरल्यान्ड्सविरुद्ध उसकै मैदानमा खेल्दै नेपालले बुधबार एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको औपचारिक सुरुआत गर्दैछ।

‘८ वर्षअघि हामी आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन–५ खेलिरहेका थियौं । अहिले शीर्ष १६ टोलीभित्र स्थान बनाउन सफल भएका छौं,’ आइसिसीसँगको कुराकानीमा नेपालका कप्तान पारस खड्काले भनेका छन्, ‘एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि हामीले कडा मिहिनेत गरेका छौं । यसलाई निरन्तरता दिँदै टेस्ट मान्यताका लागि खेल्नेछौं । त्यसको शुरुआत नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय खेलबाट गर्दैछौं । आशा छ, राम्रो प्रदर्शन गर्नेछौं।’

देशको क्रिकेट प्रशासन आइसिसीबाट निलम्बनमा रहेका बेला सुरु हुन लागेको यो एकदिवसीय अन्तर्राष्ट्रिय खेलको यात्रा नेपालमा खेलको आधार कायम राख्नका लागि महत्वपूर्ण मानिएको छ । खेलको लोकप्रियता कायम राख्दै नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित गर्नका लागि नेदरल्यान्ड्समा सुखद नतिजा ल्याउनु नेपाली टोलीको आवश्यकता हो । वर्षौदेखि मौलाउँदै गएको आन्तरिक विवाद, अपारदर्सिता, कुसाशन, भ्रष्टाचार लगायतबाट आजित आइसिसीले निलम्बन गरेपछि पछिल्लो दुई वर्षयता नेपालमा क्रिकेट संघको अस्तित्व कोमामा छ। 

देशभित्र सर्बोच्च निकाय निलम्बनमा रहेका कारण मैदानभित्रका गतिविधि औपचारिकतामा सिमित हुँदा नेपाली क्रिकेट चरम संकटमा छ । तर खेलको अस्तित्व संकटमा रहेका बेला प्रत्येक पटक मैदानभित्र नेपाली टोलीले असाधारण प्रदर्शनबाट सुखद नतिजा निकालेको छ। 

पक्कै पनि नेदरल्यान्ड्स नेपालका लागि सहज प्रतिद्वन्द्वी होइन । विगत हेर्ने हो भने दुई टिमबीच अहिलेसम्म ५० ओभरका ५ खेल भएका छन् । त्यसमध्ये नेदरल्यान्ड्सले ३ खेल जितेको छ । नेपालले २ खेलमा विजयी नतिजा निकालेको छ । नेपालले पहिलो पटक २०१४ को विश्वकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध एक दिवसीय खेलेको थियो । त्यतिबेला नेदरल्यान्ड्स ७ विकेटले विजयी भएको थियो।

विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले २ विकेटको विजयी नतिजा हात पारेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेल नेदरल्यान्ड्सले ७ विकेटले जितेको थियो भने दोस्रो खेलमा नेपाल १९ रनले विजयी भएको थियो । २०१८ विश्वकप छनोटमा नेदरल्यान्ड्स ४५ रनले विजयी भएको थियो।

नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त पहिलो खेल खेल्ने तयारी गरिरहँदा नेदरल्यान्ड्स भने पुरानो अनुभवी टिम हो । ट्वान्टी–२० मा इङल्यान्डजस्तो विश्व क्रिकेटको महारथीलाई निराश पारिसकेको नेदरल्यान्ड्सको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहास नेपालको तुलनामा निक्कै बलियो छ । २००६ को शुरुमै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेदरल्यान्ड्सले २०१४ सम्म त्यसलाई कायम राखेको थियो।

२०१४ फेब्रुअरीमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाए पनि २०१५ देखी २०१७ सम्म भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता बन्दै पूनः युरोपेली टोलीले अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको थियो । १९९६, २००३, २००७ र २०११ मा एकदिवसीय विश्वकप खेलेको नेदरल्यान्ड्सले ७९ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ । त्यसमाथि बुधबार र शुक्रबार हुने दुवै खेल नेदरल्यान्ड्सले आफ्नो घरेलु मैदानमा खेल्दैछ । जसका कारण नेपालमाथि दबाब अझै थपिनेमा शंका छैन। 

तर नेपाली टिमले महत्वपूर्ण समयमा सुखद नतिजा निकालेर समर्थकलाई खुसी दिएका थुप्रै स्मरण छन् । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउनुअघि ट्वान्टी–२० विश्वकपसम्म पुर्याएर होस वा विश्व क्रिकेट लिग च्याम्पियनसिपको यात्रा गरेर टिमले नेपाली क्रिकेटलाई जोगाएको इतिहास छ । त्यसैले अहिले आवस्यकता पर्दा टिमबाट त्यही प्रतिबद्ध प्रदर्शन र सुखद नतिजा आशा गर्न सकिन्छ।

किनकी अनुभवी नेदरल्यान्ड्सका लागि नेपालविरुद्धको घरेलु शृंखला थप दुई खेलमा सिमित हुन सक्छ । जवकि नेपालका लागि भने यो नयाँ यात्राको थालनी हो । जससँग लाखौं क्रिकेटप्रेमी नेपालीको भावना जोडिएको हुनेछ । टिम नेदरल्यान्ड्समा त्यहाँको प्रतिकुल मौसम र विपक्षीसँग लडिरहँदा यता पूरा नेपाल आफ्नो टिमको सफलताका लागि कामना गरिरहेको हुनेछ । जसले नेपाली खेलाडीहरुलाई सकारात्मक उर्जा प्रदान गर्नेछ। 

नेदरल्यान्ड्स पुग्नुअअघि नेपालले इङ्ल्यान्ड भ्रमण गरेको थियो । लर्ड्समा नेपाल, मेरेलीबोन क्रिकेट क्लब(एमसिसी) र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक ट्वान्टी–२० खेलेको थियो । वर्षाले प्रभावित बनेपछि ६ ओभरमा छोट्याइएको खेलमा नेपालले एमसिसीलाई ९ विकेटले पराजित गरेको थियो भने नेदरल्यान्ड्सविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल बराबरी भएको थियो । त्यसपछि स्थानिय क्लबहरुसँग ४ अभ्यास खेल खेलेको थियो।

नेपालले ह्यम्पसायर हग्सविरुद्ध ५० ओभरको खेल २ सय ४३ रनले जितेको थियो । सेन्ट क्रसविरुद्ध २० ओभरको खेलमा नेपाल १९ रनले पराजित भएको थियो । इस्ट लन्डन–११ विरुद्ध ५० ओभरको खेलमा नेपाल २ सय २३ रनले जितेको थियो भने इन्ट लन्डनस सर्कविरुद्ध २० ओभरको खेल १ सय ३४ रनले जितेको थियो। 

प्रकाशित: १६ श्रावण २०७५ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App