४ वैशाख २०८१ मंगलबार
अर्थ

भारु नोटको माग स्वाट्टै घट्यो

काठमाडौं - भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटका बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ । पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो।

भारत जाँदा भारु नोटको सट्टा विद्युतीय प्रणालीबाट कारोबार गर्ने चलन बढेपछि नगद लिन आउने क्रम घट्दै गएको राष्ट्र बैंक, बैंकिङ कार्यालय, थापाथलीका कार्यकारी निर्देशक झलकशर्मा आर्चायले नागरिकलाई बताए ।
‘विद्युतीय प्रणालीबाट सहजै कारोबार गर्न सकिने भएपछि भारु नोट साट्न आउने घटेका छन्,’ उनले भने, ‘भारत जाँदा अहिले एटिएम लगायत विद्युतीय प्रणाली प्रयोग गर्ने चलन पछिल्लो समय बढेको छ ।’ भारतीय रुपैयाँ माग गर्न बैंक धाउनेमा पनि कमी आएको कार्यकारी निर्देशक आचार्यको भनाइ छ।

नेपालमा भारु साट्ने क्रम घटेसँगै राष्ट्र बैंकले भारु ल्याउन कम गरिसकेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षमा आठ अर्ब रुपैयाँ बराबर भारु नोट ल्याउने योजना बनाएको थियो । माग कम भएकाले ६ अर्ब रुपैयाँ बराबरका भारु नोट मात्र ल्याएको कार्यकारी निर्देशक आर्चायले बताए ।‘नगद भारु बोकेर भारत जानुभन्दा कार्डबाट भुक्तानी गर्दा १० देखि १५ प्रतिशतसम्म छुट पाउन थालेपछि नगदको सट्टा कार्ड प्रयोग गर्ने बढेका हुन्,’ उनले भने, ‘नगद बोकेर जाँदा जोखिम पनि त्यत्तिकै हुने भएकाले कार्ड प्रयोग बढेको छ।’

तर, कहिलेकहीँ कार्ड प्रयोग गर्दा समस्या आउने भएकाले नगद बोक्ने चलन अझै छ । केही महिनाअघि भारतका अधिकांश स्थानमा एटिएम ह्याक हुने समस्या आएपछि यसको मारमा भारत जाने नेपाली सर्वसाधारण परेका थिए ।
भारतमा बैंकका एटिएम ह्याक हुने समस्या देखिएको थियो । एटिएममार्फत रकम झिकेर काम चलाउने भन्दै भारत पुगेका नेपाली ह्याकको समस्यामा परेका थिए । भारत जान चाहनेले पनि नगदै बोक्नुपरेको थियो ।  

त्यसले पनि नेपाली सर्वसाधारण भारत जाँदा भारतीय रुपैयाँ (भारु) नगदै लिएर जान्थे । पछिल्लो समय त्यो समस्या समाधान भएपछि सर्वसाधारणले एटिएम कार्ड बोक्न थालेका छन् ।‘भारतमा एटिएमबाट सहज रुपमा भारु नोट झिक्न सकिने भएपछि साट्नेको चाप घटेको छ,’ कार्यकारी निर्देशक आर्चायले भने, ‘भारतभर नेपाली बैंकका एटिएम चल्ने भएपछि नेपालबाट नगद भारु लैजानेको संख्या घटेको छ ।’ अचेल राष्ट्र बैंकको थापाथली कार्यालयमा भारु साट्नेको भिड कम छ।

कार्यकारी निर्देशक आचार्यले पहिलाको जस्तो समस्या नभएको, अहिले धेरै सहज बनेको बताए ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र हजार दरका भारु नोटमाथि प्रतिबन्ध लगाएपछि रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले नोट व्यवस्थापन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकलाई साना दरका भारु नोट दिन आनाकानी गर्दै आएको थियो । त्यसबेलादेखि सय दरका भारु सटहीमा चाप परेको थियो ।राष्ट्र बैंकले संस्थागत रुपमा चिठी बनाएर आउनेलाई आवश्यकता अनुसार भारु नोट दिने गरेको छ । तर, व्यक्तिगत रुपमा अवस्था हेरी बढीमा ५० हजार मात्र भारु सटहीको सुविधा दिने गरेको छ।

भारु नोट दैनिक एक करोडसम्म साट्ने गरेको आचार्यले बताए । घुमफिर, स्वास्थ्य उपचार, तीर्थाटन जस्ता काममा नेपाली भारत जान्छन् ।  राष्ट्र बैंकका कर्मचारीले पनि भारत जाने नेपालीलाई एटिएम प्रयोग गर्न सुझाव दिन्छन् । ‘सजिलो हुने भएकाले पनि एटिएम कार्ड प्रयोग गर्नुहोस् भन्ने गरेका छौं,’ राष्ट्र बैंकका एक कर्मचारीले भने ।
वाणिज्य बैंकमार्फत पनि सर्वसाधारणले भारु नोट साट्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । पछिल्लो समय भारतले दुई हजार दरका नयाँ भारु नोट प्रचलनमा ल्याए पनि नेपालमा त्यस्तो नोटलाई वैधानिकता दिइएको छैन । सय दरको भारु नोट बढी चल्तीमा छ ।

प्रकाशित: १६ श्रावण २०७५ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App