coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रंगोली सिर्जनाका आधुनिक आयाम

काठमाडौं - रंगोली चित्रले भारतीय समाजको सिंगो संस्कृति बोकेको हुन्छ । गणेश चतुदर्शी होस् वा दिपावली रंगोली चित्र ढोकादेखि घरभित्र सजिएकै हुन्छ । त्यसरी बनाइने अधिकांश रंगोली विशेष पूजाआजामा शास्त्रअनुसार बनाइन्छ । अझ घर सजावटका लागि महिलाले मन परेका बुट्टा रंगोलीमा भर्छन्।

कला आदानप्रदान कार्यक्रममा नेपाल आएका भारतीय कलाकारले भने रंगोलीको रंगमा आधुनिक चित्रको रौनक भरे । भारतका शिव मानकपुरी, शिखा शर्मा र शेखरले एकै लहरमा बसेर बनाएको चित्र हेर्दा रंगोलीको फरक धारको स्वाद कला पारखीले पाए । नेपालको चाडवाडमा पनि भित्रँदै गरेको रंगोलीबाट चित्रको फरक धार बनाउन सकिन्छ भन्ने उदाहरण उनीहरुले दिए । शिव र शिखाले रंगोलीको सुनौलो रंगले बुद्धको आकृति बनाए । भुइँमा बसेर बनाएको उनीहरुको रंगोली चित्र केहीसमयपछि त्यही रुपमा रहेन । तर खिचिएको डिजिटल फोटोमा रंगोलीको त्यो कला झन् सुन्दर देखियो । शेखरले बनाएको नेपाली मूलकी वृद्धाको रंगोली रुप चित्ताकर्षक थियो।

भारतको अन्य ठाउँ र नेपालको जस्तो बिहे गर्दा छोरीलाई माइतीले दाइजो दिनुपर्दैन । जुन केटाले बिहे गर्ने हो उसको परिवारले जति धेरै दाइजो दिनसक्छ उसले नै असल बुहारी पाउँछ ।

रंगोलीको यो रौनक हेर्न भने ठमेलस्थित मिथिला यें आर्ट ग्यालरी पुगेका पारखीले नयाँ अनुभव संगाले । ‘द ब्लिस इन्टरनेसल आर्ट एक्जिविसन’ नाम दिइएको कला प्रदर्शनीमा यसरी बनाइएका रंगोली कलासँगै नेपाली र भारतीय कलाकारले बनाएका विभिन्न विधाका कलाकृति राखिएका छन् । भारतका पुराना कलाकार किशोर राजहंसले त्यहाँका आदिवासी समुदायको स्थानीयतालाई आफ्नो कलाको कथा बनाए । मध्य प्रदेश र गुजरातको सीमानामा बस्ने आदिवासी जातिमा स्थापित मातृसत्ताको कथा उनको कलाले बोल्छ ।

‘भारतको कतिपय ठाउँमा नेपालको जस्तो बिहे गर्दा छोरीलाई दाइजो दिनु पर्दैन,’ राजहंसले सुनाए, ‘जुन केटाले बिहे गर्ने हो उसको परिवारले जति धेरै दाइजो दिनसक्छ उसले नै असल बुहारी पाउँछे ।’ घरमा गएपछि पनि बुहारीको भूमिका नयाँ घरमूलीका रुपमा रहन्छ । यसले बुहारीको भविष्यसँगै उसको हैसियत परिवारमा स्थापित गरिदिन्छ । त्यसैले निश्चित आदिवासी जातिमा छोरीको जन्म हुनु भनेको इश्वरको आगमन जस्तै मानिन्छ । अन्य स्थानमा दाइजो नल्याएको भन्दै छोरी जलाइँदा आदिवासी जातिले बुहारी पाउन छोरालाई पहिलेदेखि नै ठूलै कसरत र मेहनत गराउने गर्छन् । खुसी भएको आदिवासी जोडी र मेलाबाट घर फर्र्कंदै गरेको आमा छोरीको चित्रमा उनले स्थानीय रंग घोलेका छन्।

त्यस्तै, उनले महाराष्ट्रका स्थानीय घरघरमा बनाइने कला ‘बार्ली’को चित्र नेपाल ल्याएका छन् । नेपालको तराईका महिलाले घरका भित्तामा कोर्ने चित्रझैं महाराष्ट्रका महिलाले घरका भित्ता चित्रले रंगाउँछन् । जसरी मिथिला कलामा चित्रको पूर्णाकृति हुन्छ त्यसरी बार्ली चित्र कोरिन्न । त्रिभुजाकार आकृतिको बढी प्रयोग हुन्छ । रातो, सेतो र पहेलो माटोबाट महिलाले स्थानीयताको भाव भर्छन् । राजहंसले भने अरु रंग मिसाएर त्यो कलालाई थप रंगिन बनाएका छन्।

भारतका नयाँ पुस्ताकी कलाकार वैशाली भावसारले एक्रेलिकमा विद्याकी देवीलाई क्यानभासमा उतारेकी छिन् । उनीभन्दा अघिल्लो पुस्ताबाट उत्तर प्रदेशी डा. लीना मिश्रले नयाँ सृष्टिको संकेत चित्रमा गरेकी छिन् । उत्तर प्रदेशकै प्रदीप शर्माले पानी रंगको ल्यान्डस्केपमा सुन्दर प्रकृति सिंगारेका छन् । गुजरातका चितराम राजुलले अमूर्तकलाबाट आफ्ना भावना पोखेका छन्।

त्यस्तै, नेपालका किशोर नकर्मीले बनाएको बुद्धकला सुन्दर लाग्छन् । त्यस्तै, विभूषण ताम्राकारले किशोरावस्थामै बोतलभित्र बनाएको सिंहदरबार कला प्रदर्शनीको अर्को आकर्षण थियो । कागज र टुथपिकको सहायताले बनाइएको बोतलभित्रको सिंहदरबार देखेर जो कोही चकित पर्छन् । ‘कसरी बनायो भनेर सोध्नेहरु धेरै छन्,’ ताम्राकारले सम्झे, ‘१४ वर्ष छँदा बनाएको यो कला सबैले मन पराउँछन् ।’ उनी व्यवसायिक खेलाडी हुन् । तर मन लागेको चित्र कोर्न र कला भर्न उनी छाड्दैनन् । उनले ढुंगामा कोरेको दुर्गा भवानीको चित्र मूर्ति मानेर अनौठो नजरले  हेर्नेहरु धेरै थिए । मध्य प्रदेशकी रुपाली बेहरले स्थानीय लोकनृत्यको बान्कीलाई लोकशैलीकै चित्रमा रंग भरेकी छिन् । जुन नेपाली संस्कृतिसँग पनि मिल्दोजुल्दो देखिन्छ।

नेपाल र भारतका कलाकारको संयुक्त प्रदर्शनी भएकाले पनि एक अर्काको कलाबाट सिक्ने सिकाउने प्रयास भइरहेको आयोजक कलाकार श्यामसुन्दर यादव उल्लेख गर्छन् । ‘केही संस्कृति र संस्कार उस्तै भए पनि कला कोर्ने शैली दुइदेशका कलाकारको फरक रहेको पाएका छौं,’ उनले थपे, ‘यसले नै नयाँ सिकाइको बाटो खोलेको छ ।’सोमपाल आचार्य लगायतक केही फोटोग्राफरले कलात्मक फोटोलाई समेत कला प्रदर्शनीको अंग बनाएका छन् । कम्बोडियामा रहेको विश्वकै ठूलो विष्णुको मन्दिरका विविध चित्र निकै अतुलनीय लाग्छन्।

समीक्षक मुकेश मल्लले कलाभित्र अटाएको रंगोली नयाँ आयामका रुपमा आएको बताए । अचेल नेपाली संस्कृतिमा समेत अंगालिन थालेको रंगोलीको कला भारतमा अध्यापन नै गराइने भएकाले पनि कलाकारलाई सहज भएको दाबी उनले गरे । कला प्रदर्शनी सबैकलाको मिश्रण भएकाले फरक अनुभूति भएको मल्लले बताए । कला मानिससँग अन्तरक्रिया गर्ने विषय भएकाले विविधतायुक्त कलाबाट धेरै कुरा सिक्न सकिने दाबी गरे । कला प्रदर्शनीको बिहीबार त्रिवि ललितकला विभागकी पूर्वप्रमुख सिमा शर्माले उद्घाटन गरेकी थिइन् । कला प्रदर्शनी आइतबारसम्म चलेको थियो । कला प्रदर्शनीमा भारतका ४५ र नेपालका ४ कलाकारका कला राखिएका थिए ।

प्रकाशित: १६ श्रावण २०७५ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App