coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्तनपानमा नेपालको प्रयास र उपलब्धी प्रशंसनीय : विश्व स्वास्थ संगठन

तस्बिर : युनिसेफ

काठमाडौं– बच्चालाई स्तनपान गराउनमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धिलाई विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ)ले प्रशंसा गरेका छन्। स्तनपानको अवस्थाबारे विश्वका ७६ देशको अध्ययन गरी सार्वजनिक गरिएको ‘क्याप्चर दि मोमेन्ट’ नामक प्रतिवेदनमा यस्तो औल्याइएको हो। 

प्रतिवेदनमा नेपालले स्तनपानका क्षेत्रमा राष्ट्रियस्तरमै सकारात्मक उपलब्धी हासिल गरेको उल्लेख छ। भनिएको छ, ‘नेपाल त्यस्तो एउटा मुलुक हो जसले स्तनपानका चुनौतिलाई गम्भीरतापूर्वक लिएर राष्ट्रियस्तरमै संरक्षण गर्न सकेको छ।’ नेपालमा नवजात तथा शिशुलाई स्तनपान गराउन प्राथमिकस्तर देखिनै परामर्श उपलब्ध गराउने, जिल्लाहरूले समुदायमा आधारित पोषण, स्वास्थ तथा अन्य कार्यक्रम सञ्चालन गर्नुजस्ता कार्यले सफलता मिलेको उल्लेख छ।

नेपालमा ६ महिना भित्रका ६६ प्रतिशत नवजात शिशुले पूर्णस्तनपान पाएका छन् भने २ वर्ष उमेरसम्म आमाको दुध खान पाउने ८९ प्रतिशत छन्।

२०७२ सालको भूकम्पका समयमा समेत नेपाल सरकार र साझेदार संस्थाहरुले नवजात शिशुका लागि तयारी खानेकुरा भन्दापनि स्तनपानकै लागि परामर्श दिन सकृयता देखाएको भन्दै प्रतिवेदनमा प्रशंसा गरिएको छ। नेपालमा ६ महिना भित्रका ६६ प्रतिशत नवजातले पूर्णस्तनपान पाएका, २ वर्ष उमेरसम्म स्तनपान गराइनेमा ८९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनअनुसार नेपालमा नवजात शिशु स्तनपान सुधारका लागि अन्तर्राष्ट्रिय दातृ निकायले प्रति नवजात शिशु करिब पाँच डलरमात्र खर्च गरेका छन्। जसअनुसार स्तनपान प्रवर्द्धनका लागि नेपालमा दातृ निकायको २९ लाख अमेरिकी डलर खर्च भएको छ। नेपाल जनसांख्यिक स्वास्थ सर्वेक्षण–२०१६ अनुसार शिशु जन्मेको १ घण्टाभित्र ५५ प्रतिशत आमाले स्तनपान गराउँछन्। सन् २०११ मा यो आँकडा ४५ प्रतिशत थियो।

प्रतिवेदनले नेपालमा नवजात शिशु स्याहारका लागि आमाहरुले पाउनुपर्ने जति सहयोग भने नपाएको औल्याएको छ। बालमैत्री अस्पतालको अभाव, छोटो सुत्केरी विदा लगायतलाई यसका चुनौती मानिएको छ। नेपाल स्तनपान प्रवर्द्धन फोरमका अध्यक्ष डा. प्रकाशसुन्दर शाक्यले भनेका छन्, ‘स्तनपान प्रवर्द्धनका लागि सरकारले आवश्यक लगानी गर्न नसक्दा चुनौती सामना गर्न समस्या हुन्छ, आमाको दुघ जस्तो प्रकृतिको उपहार नपाएर हजारौ बच्चा मर्नुपर्ने अवस्था अझै छ।’ 

विश्वमा ५ मध्ये ३ शिशु जन्मेको पहिलो घण्टाको स्तनपानबाट बञ्चित

विश्वभरमा जन्मेको पहिलो घण्टाभित्र स्तनपान नगराइने शिशुहरूको संख्या ६० प्रतिशत रहेको पाइएको छ। १ घण्टाभित्र स्तनपान गराउनु बाल मृत्यु र रोगको शिकार हुनबाट जोगाउन अत्यन्तै लाभदायक रहेपनि ५ मध्ये ३ नवजात शिशु यस्तो स्तनपानबाट बञ्चित रहने गरको प्रतिवेदनमा उल्लेख छ। न्युन तथा मध्यम आयस्तका मुलुकमा यो समस्या विकराल रहेको औल्याइएको छ।  

अघिल्ला अध्ययनलाई उद्धृत गर्दै उक्त प्रतिवेदनमा भनिएको छ, ‘२ देखि २३ घण्टाभित्र स्तनपान गराए पनि मृत्युको संभावना १ घण्टा भित्र गराईएकाको भन्दा ३३ प्रतिशत बढी हुन्छ। १ दिनपछि १ महिनाभित्र मात्र स्तनपान गराउँदा यो खतरा दोब्बर रहन्छ।’ 

प्रतिवेदनमा १ घण्टा भित्रै स्तनपान गराइएका बच्चाको बाँच्ने संभावना उच्च रहने औल्याइएको छ। यस्तो स्तनपानमा केही घण्टाको ढिलाइले पनि बच्चाको ज्यान जोखिममै हुन्छ। स्तनपानका क्रममा बच्चा र आमाबीचको स्पर्शले आमाको दुधसँगै बच्चाको पहिलो खोप भनिने ‘कोलस्ट्रम’ उत्पादन गराउन उत्प्रेरित गर्छ। ‘कोलस्ट्रम’ रोग प्रतिरोधी क्षमता र पोषणको मुल तत्व हो।  

बच्चा जन्मेको पहिलो घण्टा भित्रै स्तनपान गराउनेमा पूर्वी र दक्षिण अफ्रिकाको अवस्था बलियो देखिन्छ। त्यहाँ जन्मेको १ घण्टाभित्र ६५ प्रतिशत बच्चालाई स्तनपान गराइने प्रतिवेदनमा उल्लेख छ। सबैभन्दा कमजोर एसिया प्रशान्तक्षेत्रमा ३२ प्रतिशत देखिएको छ। बुरुण्डी, श्रीलंका, भानुआटुमा १० मध्ये ९ बच्चाले पहिलो १ घण्टामै स्तनपान पाउने प्रतिवेदनमा उल्लेख छ। 

प्रकाशित: १५ श्रावण २०७५ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App