खोटाङ – खोटाङका शहीद मनोज जोशीको हत्या भएको २८ वर्ष पूरा भएको छ। २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरूले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोजको प्रहरीको गोली लागेर ज्यान गएको थियो।
दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययनरत जोशीको हत्या घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ का रुपमा चिन्ने गरिन्छ। तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुसारको सेवा सुबिधा नदिइएको विरोधमाकर्मचारीहरूको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो।
विरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जाने क्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरू बताउँछन्। उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरूलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहार गरेका थिए।
सरकारविरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरू जागीरबाट हटाइएका थिए। सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाउँदै आएका छन्।
मनोजमार्ग सरसफाई, अस्पतालका बिरामीलाई फलफुल वितरण लगायतका कार्यक्रम गर्दै मनाउन थालिएको मनोज–झपेन्द्र स्मृति दिवस मंगलबार जोशीको समाधिमा माल्यार्पण एवं श्रद्धाञ्जलीसभा गर्दै समापन गरिएको छ।
जोशीलाई शहीद घोषणा गर्ने माग पुरा भएपनि दोषीमाथि कारबाही हुन बाँकी रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताए। लामो समयदेखिको मागका बावजुद जोशीलाई सरकारले २७ वर्षपछि २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो।
सदरमुकाम दिक्तेलमा बुवा नारायणप्रसाद जोशी र आमा अम्बिका जोशीको कान्छो छोराका रुपमा २०३० साल असोज २३ गते मनोजको जन्म भएको थियो। वास्तविक नाम सर्मेन्द्र भएपनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध थिए। यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीका रुपमा परिचित थिए।
प्रकाशित: १५ श्रावण २०७५ ०५:५८ मंगलबार