६ वैशाख २०८१ बिहीबार
खेल

माउरिन्होको सेन्टर रक्षक भित्र्याउने लक्ष्य

सिकागो (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले यस सिजन क्लबमा भित्र्याउन व्यवस्थापनलाई पाँच खेलाडीको विकल्प दिइसकेको भन्दै अगस्ट ९ मा खेलाडी सरुवा बजार बन्द हुनुभन्दा अघि कम्तीमा एक खेलाडी ओल्ड ट्राफोर्ड भित्रिइसक्ने विश्वास व्यक्त गरेका छन्।

सिजनपूर्वको अभ्यासका लागि अमेरिका भ्रमणमा रहेको युनाइटेडले शनिबार लिभरपुललाई ४–१ को नतिजा सुम्पिएपछि प्रतिक्रिया दिँदै माउरिन्होले क्लबको मुख्य लक्ष्य भनेको सेन्टर रक्षक भित्र्याउने रहेको बताए।

केही दिनअघि बेतायतका सञ्चारमाध्यमले युनाइटेड लेस्टर सिटीका ह्यारी म्याग्वेर र टोटेनह्यामका टोबे एन्डरवेरेल्डलाई भित्र्याउन इच्छुक भएको खबर सार्वजनिक गरेका थिए। यता माउरिन्होले भने रियाल मड्रिडका राफायल भरान, बायर्न म्युनिखका जोयोर्मी बोयटाङ र इन्टर मिलानका मिलान स्किनियारमध्ये एक खेलाडीलाई ओल्ड ट्राफोर्डमा भिœयाउने इच्छा देखाएका छन्।

माउरिन्होले क्लब व्यवस्थापनले यस सिजनका लागि दुई खेलाडी अुनबन्धन गर्ने कुनै सम्भावना नरहेको बताए।

‘म क्लबमा अझै दुई खेलाडी अनुबन्धन गर्न चाहन्छु । तर क्लबका दुई खेलाडी भित्रिने सम्भावना न्यून छ,’ माउरिन्होले भने, ‘मैले केही महिनाअघि क्लब व्यवस्थापनलाई आफूले यस सिजन क्लबमा भित्र्याउन  चाहेका पाँच खेलाडीको विकल्प दिएको छु। आशा छ ती पाँच विकल्पमध्ये कम्तीमा एक खेलाडी सरुवा बजार बन्द हुनु अगावै क्लबमा अनुबन्धित भइसक्नेछन्।’

माउरिन्होले सिजनपूर्वको अभ्यास खेलमा जित हात पार्न नसके पनि यस प्रदर्शनले इङ्लिस प्रिमियर लिगमा कुनै अर्थ नराख्ने बताए।

‘पहिलो रोजाइका ७० प्रतिशत खेलाडी विश्राममा रहेकाले हामीले अभ्यास खेलहरुमा युवा खेलाडीलाई समावेश गर्दै टोली निर्माण गरेका छौं,’ माउरिन्होले भने, ‘प्रिमियर लिगमा हामीसँग पहिलो रोजाइमा पाउल पोग्बा, मारोउने फेलानी, मार्कुस रसफोर्ड, जेसी लिंगार्ड, एन्थोनी मार्सियालजस्ता स्टार खेलाडी हुनेछन्। जसको उपस्थितिमा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।’

साथै माउरिन्होले सञ्चारमाध्यममा आएको जस्तो चिलीका स्ट्राइकर एलेक्सिस सान्चेज क्लबसँग असन्तुष्ट रहेको भन्दै आएको खबरमा कुनै सत्यता नभएको बताए।

‘एलेक्सिस टोलीका एक मात्र आक्रामक खेलाडी हुन्,’ उनले भने, ‘हामीसँग विंगर र स्ट्राइकर छैनन्। हामीसँग अहिले उपलब्ध उनी मात्र यस्ता खेलाडी हुन्, जो विपक्षीलाई सहजै दबाबमा राख्न सक्छन्। उनले आफ्नो क्षमताअनुसारको प्रदर्शन गरिरहेका छन्। उनी हामीसँग खुसी छन्। उनको नैराश्यताप्रति सञ्चारमाध्यममा आएका खबरमा कुनै सत्यता छैन।’

युनाइटेडले मंगलबार मायामीमा रियाल मड्रिडविरुद्ध खेल्दै सिजनपूर्वको अभ्यास भ्रमण टुंग्याउनेछ।

प्रकाशित: १५ श्रावण २०७५ ०५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App