८ वैशाख २०८१ शनिबार
समाज

बाढीले क्षति पुर्‍याएको पुलको मर्मत सुरु

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले क्षति पुर्याएको पुल । तस्बिरः नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै खोलाले क्षति पुर्याएको पुलको मर्मत कार्य सुरु भएको छ। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले क्षति पुर्याएको पुलको मंगलबारदेखि मर्मत कार्य सुरु गरिएको डिभिजन सडक कार्यालयले नुवाकोटले जनाएको छ। 

बाढीले पुलको फाउण्डेसनमा क्षति पुर्याएपछि जोखिमलाई मध्यनजर गर्दै शुक्रबारदेखि सवारी सञ्चालनमा रोक लगाइएको थियो। सवारी आवागमन रोकेर काम सुरु गरिएको डिभिजन प्रमुख निरज शाक्यले बताए। 

‘पानीको बहाव उच्च भएकाले ठुलाठुला ढुङ्गा खसालेर ढलान गर्न लागिएको छ, डिभिजन प्रमुख शाक्यले भने, निर्माण सम्पन्न हुन अझै केही दिन लाग्छ।’ स्थानीयले घर निर्माणका लागि जग खन्ने क्रममा ठुलाठुला ढुङ्गा खोलामा हालेका कारण पुलमा क्षति भएको कार्यालयले जनाएको छ। 

पुलको अवस्था कमजोर भएको कारण शुक्रबारदेखि सवारी सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। सामग्री आयातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुगेका सवारी रसुवागढी नाका पारी नै रोकिएका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। 

नेपालतर्फ आउन लागेका ७० र नेपालबाट चीन जान लागेका १ सय सवारी बीच बाटोमै रोकिएका छन्। पुल मर्मतका लागि डिभिजन प्रमुखसहितको टोली सोमबारनै टिमुरेमा पुगेका छन्। पुलको अवस्था बारेमा अध्ययन सकिएको र काम सुरु गरिएको उनले बताए।  

सवारी साधन सञ्चालनमा आउन नसक्दा नाका पारी आइपुगेका स्याउ कुहिन थालेको रसुवा सीमापार व्यापार संघका अध्यक्ष कामी नुर्पु तामाङले बताए। ‘सीमापारी ७४ वटा स्याउ बोकेका कन्टेनर आएका छन्, अध्यक्ष तामाङले भने, पुल छिटो बन्न सकेन भने व्यापारीलाई अर्बौ क्षति पुग्छ।’

आउँदै गरेको हिन्दु महिलाहरूले मान्ने चाड तिजका लागि आएका सामग्रीसमेत नाकापारीनै रोकिएका छन्। सडक अवरुद्ध भएपछि मानसरोबार जान लागेका भारतीय पर्यटकसमेत समस्यामा परेका छन्। 
भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामाग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। 

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ। 

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतका मुख्य बस्तुहरू निकासी भइरहेको छ। 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।  रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १५ श्रावण २०७५ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App