काठमाडौं - स्थानीय बजारमा सुनको भाउ ६ महिनायता कै सस्तो बिन्दुमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउँदा स्थानीय बजारमा पनि केही महिनायताकै तल्लो बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५६ हजार चार सय रुपैयाँमा सुन कारोबार भएको छ । यो ६ महिनायता कै सस्तो हो । यसअघि २०७४ पुस महिनामा प्रतितोला ५४ हजार तीन सय रुपैयामा कारोबार भएको थियो । जेठमा अधिकतम ५९ हजार दुर्य सयसम्म पुगेको सुन साउनको ४ गते ५६ हजार पाँच सयसम्म झारेको थियो।
केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य सोमबार केही महिनायता कै सस्तो भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘सोमबारको मूल्य ५–६ महिनायता कै सस्तो हो,’ बज्राचार्यले नागरिकसँग भने, ‘विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटले नेपाली बजारमा असर गरेको हो ।’विश्वबजारमा एक्कासि कुनै पनि ठूलो परिस्थिति आएन भने अब यो मूल्यमा ठूलो परिवर्तन नहुने अन्तर्राष्ट्रिय बजारको विश्लेषण भइरहेका बज्राचार्यले बताए । यस्तै परिस्थिति रहिरहे दसैसम्ममा अझै ४–५ सय मूल्य घट्न सक्ने उनको अनुमान छ।
सुनको मूल्यमा सधैं प्रभाव पार्ने डलर, तेल र सेयर बजारमा यसपालि गिरावट छ । बज्राचार्यका अनुसार यसपालि सुन सस्तो हुनुमा पहिलो कारण अमेरिकी डलर बजबुत हुनु हो । पछिल्ला केही दिनमा डलरको मूल्य मजबुत हुँदैछ । जसले गर्दा सुनमा लगानी गरेका व्यवसायी डलरतिर आकर्षित भएका छन् । ‘सुनमा लगाएको लगानी झिकेर विदेशी मुद्रामा लगाएको अवस्था छ,’ बज्राचार्यले भने।
नयाँ बजेटको प्रावधानले सुन बजारमा उत्साह थप्न सकेन– व्यवसायी
त्यस्तै, अर्को कारणमा विश्व बजारलाई प्रभाव पार्ने प्रभावशाली देशहरूबीचको द्वन्द्व पनि हो । उत्तर कोरिया, अमेरिका, इरान र रुसबीचको द्वन्द्वले सुन र डलरको मूल्यलाई असर गर्दै आएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वार्ताले विश्वबजारलाई सकारात्मक सन्देश दिँदा सुनका लगानीकर्ता अन्य क्षेत्रमा लागेको विश्लेषण गरिएको छ । ‘अहिले अमेरिका, उत्तर कोरिया, इरान, रुसजस्ता देशबीचको द्वन्द्व कम भएको छ,’ बज्राचार्यले भने, ‘यसले गर्दा लगानीकर्ता सेयर बजारमा लगानी गरेका छन्।’
विश्वमा द्वन्द्व, युद्ध, दैवी प्रकोप जस्ता घटनाले सुनको मूल्य बढ्ने गर्छ । अहिले विश्वबजारमा यी सबै क्षेत्रमा कुनै त्यस्तो नकारात्मक अवस्था आएको विश्लेषकहरूको भनाइ छ । यसले गर्दा पेपर मनी, करेन्सीतिर व्यवसायी लागेका छन् । कुनै बेला इराक, अफगानिस्तान, अमेरिका जस्ता देशको द्वन्द्वले सुनको मूल्य अकासिएको थियो ।
अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर बढाउने संकेत गरेपछि सुनमा लगाएको पैसा झिकेर सेयरतिर लगानी गरेका छन् । यसले सुनको माग घटाएको छ।
विश्वमा सुन धेरै खपत हुने देशहरूमध्ये भारत, पाकिस्तान, बंगलादेशको अवस्थाले पनि सुनको मूल्य थपघट हुने गर्छ । सुन बढी खपत हुने भारतमा अहिले यसको माग बढ्न नसकेको बज्राचार्यले बताए । ‘भारतमा सुनको खपत तुलनात्मक रुपमा कम छ,’ बज्राचार्यले भने, ‘त्यहाँ भदौबाट सुरु भएको सिजन फागुनसम्म हुन्छ । त्यो बेला मागसँगै मूल्य बढ्न सक्छ ।’
बजेटले सुन बजारलाई सहज बनाउन सकेन
सरकारले चालु आर्थिक वर्ष ०७५-७६ को बजेटमा ल्याएको प्रावधानले नेपाली सुन बजारमा उत्साह थप्न नसकेको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बजेटको प्रावधानले सुन बजारलाई सहज र उत्साह थप्न नसकेको बताउँछन्।
सरकारले चालु आवदेखि विदेशबाट आउँदा प्रतिव्यक्ति एक सय ग्रामसम्म सुनको ढिक्का ल्याउन सक्ने प्रावधान ल्याएको थियो । उक्त नियम बनाए पनि त्यसमा लगाएको भन्सारले झन् महँगो बनाएको उनको भनाइ छ ।
सरकारको नियम अनुसार सय ग्राम सुन ल्याउँदा पहिलो ५० ग्राममा प्रति १० ग्राम पाँच हजार दुई सय कर भन्सार तिर्नुपर्छ । अर्को ५० ग्राममा प्रति १० ग्राम ६ हजार दुई सय भन्सार दिनुपर्ने नियम छ।
राष्ट्र बैंकबाट प्रतिदिन आउने २० किलो सुनमा भने योभन्दा सस्तो भन्सार दर छ । जसमा प्रति १० ग्राम चार हजार दुई सय भन्सार तिर्नुपर्छ । ‘सुरुमा व्यक्तिले पनि सय ग्राम ल्याउन पाउने भयो भनेर दंग पर्यौं,’ बज्राचार्यले भने, ‘सरकारले बनाएको नियम अनुसार त व्यक्तले ल्याउँदा झन् महँगो पर्ने रहेछ ।’ नेपालमा भन्दा महँगो पर्ने भएपछि बजेटबाट ल्याएको नियमले व्यक्तिगत सुन आउन नसकेको उनले बताए ।
प्रकाशित: १५ श्रावण २०७५ ०१:४६ मंगलबार