coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता

काठमाडौ – पछिल्लो एक महिनादेखि चर्को गर्मीबाट आजित बनेका बेलायतीहरूले आइतबार वर्षा हुँदा राहतको सास फेरे। तर बिहानदेखिको निरन्तर वर्षाका कारण नेपाल, मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक ट्वान्टी–२० शृंखला भने प्रभावित बन्यो।

वर्षाका कारण निर्धारित समयमा खेल सम्भव नभएपछि नेदरल्यान्ड्स र एमसिसी तथा नेपाल र एमसिसीबीचको पहिलो र दोस्रो खेल ६–६ ओभरमा घटाइएको थियो।

वर्षाकै डरका कारण शृंखलाको विजेता टुङ्गो लगाउने निर्णयले नेपाल र नेदरल्यान्ड्सबीचको खेल निर्धारित समयमा भन्दा झन्डै एक घण्टा छिटो सुरु गरिएको थियो।

तर यो खेल पनि वर्षाको प्रभावका कारण अछुतो बन्न सकेन। अन्ततः नेपाल र नेदरल्यान्ड्सलाई त्रिकोणात्मक  ट्वान्टी–२० शृंखलाको संयुक्त विजेता घोषणा गरियो।

नेदरल्यान्ड्स २००९ को ट्वान्टी–२० विश्वकपपछि पहिलो पटक लर्ड्स मैदानमा उत्रिएको थियो। जहाँ उनीहरूले इङल्यान्डलाई स्तब्ध पारेका थिए। त्यस्तै नेपालले २ वर्षअघि यही मैदानमा एमसिसीसँग एकदिवसीय खेल खेलेको थियो। नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापित भएको २ सय वर्ष पुगेको उपलक्ष्यमा नेपाली क्रिकेट टोलीले एमसिसीविरुद्ध सेतो जर्सी लगाएर एकदिवसीय खेल खेलेको थियो। सो खेल नेपालले जितेको थियो।

टस हारेर पहिले ब्याटिङको निमन्त्रणा पाएको नेदरल्यान्ड्स १६.४ ओभरमा १७४–४ मा खेलिरहँदा खेलमा दोस्रो पटक वर्षा बाधक बनेको थियो। निरन्तरको वर्षाका कारण खेल अघि बढाउन नसिकिएपछि नेपाल र नेदल्यान्ड्सलाई संयुक्त विजेता घोषणा गरिएको हो।

यसअघि नेदरल्यान्ड्स १२ ओभरको समाप्तिमा ११२–३ मा खेलिरहँदा पनि वर्षाका कारण खेल रोकिएको थियो।

नेदरल्यान्ड्सका मिचेल रिपोनले अविजित ३८  र स्कट इड्वार्ड्सले अविजित ३४ रन जोडे। २२  बल खेलेका रिपोन र १४ बलको सामना गरेका इडवाडर्सले समान ३ चौका र २ छक्का प्रहार गरे। रिपोन र इडवार्डले अविजित ६१ रनको साझेदारी गरेका थिए।

यसअघि ओपनर टोविस  भिसे (११) र अर्का ओपनर म्याक्स ओ डोउड (५) लाई गुमाएपछि नेदरल्यान्ड्स २४–२ को स्थितिमा आएको थियो। तर वेस्ले बारेसी र रायन टेन डोसचटले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेदरल्यान्ड्स्को इनिङ उकासेका थिए। २४ बल खेलेका वारेसीले ६ चौका र १ छक्काको मद्दतमा ४४ रनको योगदान दिँदा २७ बलको सामना गरेका डोसचटले ६ चौका र १ छक्काको मद्दतमा ३८ रन जोडे।

नेपालका सोमपाल कामी, वसन्त रेग्मी र करण केसीले समान १ विकेट लिए।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि खेलेको यो पहिलो अन्तर्राष्ट्रिय खेल थियो।

यसअघि दुवै टोलीले पहिलो खेलमा एमसिसीलाई पराजित गरेका थिए।

नेदरल्यान्ड्सले एमसिसीलाई १० रनले पराजित गरेको थियो भने नेपालले पनि एमसिसीको चुनौती ९ विकेटले पन्छाएको थियो।

नेपालले नेदरल्यान्ड्सविरुद्ध आम्सटरडममा दुई एकदिवसीय शृंखला खेल्दै छ । शृंखलाको पहिलो खेल मंगलबार हुनेछ भने दोस्रो खेल बिहीबार हुनेछ।

टस हारेर पहिले ब्याटिङको निमन्त्रणा पाएको नेदरल्यान्ड्स १६.४ ओभरमा १७४–४ मा खेलिरहँदा खेलमा दोस्रो पटक वर्षा बाधक बनेको थियो। निरन्तरको वर्षाका कारण खेल अघि बढाउन नसिकिएपछि नेपाल र नेदल्यान्ड्सलाई संयुक्त विजेता घोषणा गरिएको हो।

प्रकाशित: १५ श्रावण २०७५ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App