६ वैशाख २०८१ बिहीबार
अर्थ

लाइसेन्सबिनै गाडी चलाउन बाध्य

काठमाडौं - गोरखा, भीमसेन गाउँपालिका–७ की अम्बिका रानामगर आनन्दले नसुतेको ६ महिना भइसक्यो । चिन्ता र तनावका दिन अझै कहिलेसम्म बाँकी रहने हुन्, कुनै टुंगो छैन ।

उनको इच्छा भने निराशा नै निराशाले गाँज्ने यी दिन सक्दो चाँडो अन्त्य होस् भन्ने छ । आफूले भोगिरहेको पीडा कम्तीमा छोराछोरीमा त नसरोस् भन्ने उनको एकमात्र चाहना छ।निराशालाई खुसीमा बदल्न उनले अनेक प्रयास गरेकी छन् । ती प्रयासलाई सफल बनाउन अम्बिका कहिले पत्रकार, कहिले नेता अनि कहिले सरकारी कर्मचारी त कहिले गैरसरकारी निकाय र कहिले अन्य सहयोगी हात गुहार्दै विभिन्न ठाउँ धाउँछिन् । उनले गरेका प्रयासलाई कसैले राम्रै ठान्छन् र होस्टेमा हैंसे गर्न खोज्छन् पनि । अधिकांशलाई उनको पीडा र मिहेनतको कुनै मतलब लाग्दैन । कतिखेर उनलाई लाग्ने गर्छ – समाज यति धेरै किन निष्ठुरी भएको होला ! जवाफ त कसले देओस् र खै ? यो त उनको मनमा खेलिरहेको प्रश्न न हो ! उनका मनमा मडारिइरहेको कालो बादलले अरुलाई के फरक पर्छ र ? बाँकी दुनियाँलाई के चासो ? अम्बिका आफैं जवाफ फर्काउँछिन्।

हरेस नखाई गाउँदेखि राजधानीसम्म धाएका अनेक प्रयास खेर जाने सम्भावना देखिएपछि कतै कमाउन गएका पति विदेशका विदेशै त हुने होइनन् भन्ने उनलाई चिन्तासमेत लाग्न थालेको छ ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिना गाडी चलाएका कारण उनका पति कुमार रानामगर ६ महिनादेखि साउदी अरेबियाको सेन्ट्रल जेलमा छन् । पति जेलमा परेको खबर सुनेदेखि नै उनको दिनको भोक र रातको निन्द्रा हराम भएको हो।

नेपालबाट जाँदा कुमारले खालिद एसएल कम्पनीमा हेल्परको काम गर्ने सम्झौता थियो । तर, त्यो कम्पनीले हेल्परको साटो कुमारलाई जबर्जस्ती ड्राइभरको काममा लगायो । ठूलो गाडी चलाइरहेको बेला पछाडितिरबाट आएको कार ठोकिँदा साउदी नागरिक घाइते भएकोमा रानामगरलाई दोषी ठहर गर्दै त्यहाँको अदालतले दुई लाख ९४ साउदी रियाल (करिब ८३ लाख रुपैयाँ) बुझाउनुपर्ने फैसला गरेको छ । अम्बिका भन्छिन्, ‘उहाँलाई (कुमार) जेलमुक्त गर्न सक्ने घरको अवस्था छैन । अदालतको फैसला अनुसार ८३ लाख रुपैयाँ नजुटाई भएको छैन।’

अदालतको आदेशअनुसार ‘ब्लड मनी’ बुझाउन नसके कुमारलाई मृत्युदण्ड हुने त होइन भन्ने परिवारको आशंका छ । अम्बिका भन्छिन्, ‘वैदेशिक रोजगारीले घरपरिवार बन्छ भन्थे, वास्तविकता फरक हुँदो रहेछ । विदेशमा काम गर्न गएकै कारण हाम्रो परिवार भताभुंगको अवस्थामा पुगेको छ ।’ उद्धारका लागि पर्याप्त रकम जुटाउन निकै समस्या परेको भन्दै उनले सहयोगको अपिल पनि गरिन्।

त्यस्तै, रोभ म्यानपावरलाई तीन लाख ३० हजार रुपैयाँ बुझाएर साउदी  गएका झापा, बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बूले पछिल्लो एक वर्षदेखि घरपरिवार र आफन्तलाई छिटो घर फर्काउन हारगुहार गरिरहेका छन् ।
वैदेशिक रोजगारीबाट घरपरिवारको गुजारामा सहज हुने अपेक्षाले साउदी गएका प्रशान्त नसोचेको अवस्थामा पुग्नुको कारण पनि लाइसेन्सबिना सवारी साधन चलाउनु हो । साउदीको करम अल खालिज कम्पनीका मालिकले प्रशान्तलाई लाइसेन्स नहुँदा पनि गाडी चलाउन लगाएका कारण समस्या आएको हो । पिता उत्तरसिंहले जेलमा परेको छोराको उद्धार गर्न आवश्यक पर्ने रकम नभएको गुनासो गरे।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार यतिखेर रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीमध्ये तीन सय ३३ जना जेलमा छन् । तीमध्ये सबैभन्दा बढी साउदीमा दुई सय १९ जना छन् ।

पोहोर रमजानको दोस्रो दिन गाडीमा सामान लोड गर्दै गर्दा साउदी नागरिकले चलाइरहेको गाडी ठोक्किनुमा अदालतले प्रशान्तलाई दोषी ठहर गरेको छ । उक्त दुर्घटनामा साउदी नागरिकको ज्यान गएकाले अदालतले एक लाख २० हजार साउदी रियाल (करिब ३६ लाख रुपैयाँ) ब्लड मनी बुझाउनुपर्ने फैसला गरेको छ ।‘सम्पत्तिको नाममा झापामा एक कट्ठा जमिन मात्र छ,’ उत्तरसिंहले भने, ‘साउदीबाट छोराले छिटो घर फर्काउने व्यवस्था मिलाइदिन आग्रह गरिरहेको छ । कुनै उपाय छैन ।’ प्रशान्तलाई साउदी साहुले पछि लाइसेन्स निकालिदिने सर्तमा गाडी चलाउन लगाएको थियो । लाइसेन्स तयार नहुँदै दुर्घटना भएपछि उनी मात्र नभइ पूरै परिवार अलपत्र अवस्थामा पुगेको छ।

पछिल्लो समय रोजगारीमा गएका युवालाई रोजगारदाताले सवारी चालक अनुमतिपत्रको लोभ देखाउँदै सवारी साधन चलाउन लगाउने र कामदार समस्यामा पर्ने क्रम बढेको पाइएको छ । गन्तव्य मुलुकको सवारी चालक अनुमतिपत्र नलिएका कामदारलाई गाडी चलाउन लगाउँदा सस्तो पर्ने भएकाले रोजगारदाता कम्पनीले त्यस्तो धन्दा चलाइरहे पनि कामदार दुर्घटनामा पर्दा कुनै सहयोग गर्दैनन्।

साउदीमा ब्लड मनी बुझाउन नसकेका कामदारको विवरण संकलन गरिरहेको प्रवासी नेपाली समन्वय समितिका अनुसार लाइसेन्स नभएका कामदारलाई गाडी चलाउन लगाउने र दुर्घटनामा परेपछि उद्धार गर्नमात्र करोडौं रकम चाहिने अवस्था सिर्जना भएको छ । ‘साउदीमा लाइसेन्स नभएका नेपालीलाई गाडी चलाउन लगाउने क्रम निकै बढ्यो,’ समितिका अध्यक्ष कुलप्रसाद कार्कीले भने, ‘यसको मुख्य दोष गन्तव्य मुलुकका सरकार, रोजगारदता र कामदार पठाउने मेनपावरको छ ।’ड्राइभिङ भिसामा जानेभन्दा नेपालबाट फरक काममा जाने र विदेशमा गाडी चलाउँदा समस्या बढिरहेको पाइएको छ । सवारी चालक अनुमतिपत्र नभएका नेपालीलाई उद्धार गर्नमात्र करोडौं रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार यतिखेर रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीमध्ये तीन सय ३३ जना जेलमा छन् । तीमध्ये सबैभन्दा बढी साउदीमा दुई सय १९ जना छन् । २३ जना नेपाली विदेशी अस्पतालको कोमा (अचेत)मा छन् । आर्थिक वर्ष ०७४-७५ मा आठ सय २१ नेपालीले विदेशमा ज्यान गुमाएको बोर्डले जनाएको छ । त्यसअघि आर्थिक वर्ष ०७३-७४ मा वैदेशिक रोजगारीको क्रममा  आठ सय ५० युवाले ज्यान गुमाएका थिए ।


प्रशान्त लिम्बूको उद्धार अभियान सुरु
गल्ती नगर्दा पनि जेल बस्न बाध्य झापा, बुद्धशान्ति–४ का प्रशान्त लिम्बूको उद्धारका लागि अभियान सुरु भएको छ ।
२०७३ साउन २६ गते रोभ इन्टरनेसनल म्यानपावरमार्फत साउदीको रियाद गएका प्रशान्तलाई रोजगारदाता करम अल खालिज ब्लक कम्पनीले लाइसेन्सबिना मालवाहक गाडी चलाउन बाध्य पारेको थियो । साउदी पुगेको करिब आठ महिनापछि उनले चलाएको गाडीमा पछाडितिरबाट स्थानीय नागरिकले चलाएको कार ठोक्किएको थियो।

मालवाहक गाडीमा कार ठोक्किएका कारण स्थानीयको मृत्यु भएपछि अदालतले प्रशान्तलाई लाइसेन्सबिना सवारी चलाएकाले आठ महिना जेल र एक लाख २० हजार रियाल ब्लड मनी तिर्नुपर्ने फैसला गरेको थियो । अदालतको फैसला अनुसार प्रशान्तले आठ महिना जेल भुक्तान गरिसककेका छन् । ब्लड मनी जोहो हुन नसक्दा घर फर्कन पाएका छैनन् । उक्त दुर्घटनापछि लाइसेन्सबिना गाडी चलाउन लगाउने रोजगारदाताले बेवास्ता गरेको उनका पिता उत्तरसिंहले बताए । छोराले चाँडो घर फर्कन खोजे पनि ब्लड मनीको व्यवस्था नहुँदा समस्या भइरहेको उनको भनाइ छ।

प्रशान्तको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले ब्लड मनी संकलन अभियान सुरु गरेको छ । पत्रकार सम्मेलन गरी समितिले प्रशान्तलाई उद्धार गर्ने अन्य कुनै उपाय नभएकाले अभियान सुरु गरेको जनाएको छ । प्रशान्तलाई उद्धार गर्न आवश्यक रकमको जोहो भएपछि मृतक साउदीका परिवारलाई हस्तान्तरण गरिने उनले बताए । रोभ म्यानपावरले पनि प्रशान्तलाई लाइसेन्स नहुँदानहुँदै ड्राइभर भिसामा साउदी पठाएको थियो । उत्तरसिंहका अनुसार प्रशान्तले गाडी चलाउन जाने पनि लाइसेन्स लिने प्रक्रिया पूरा नहुँदै म्यानपावरले साउदी उडाएको थियो।

प्रशान्तकी पत्नी कमलाले घरको अवस्था निकै दयनीय भएकाले उद्धारका लागि देश, विदेशमा रहेका सबैसँग सहयोगको याचना गरेकी छन् । वैदेशिक रोजगारीमा जाँदा दुई लाख २० हजार रुपैयाँ खर्च गरेका प्रशान्तले अहिलेसम्म एक सुको घरमा नपठाएको उनको भनाइ छ । उक्त अभियानमा किरात याक्थङ चुम्लुङले पनि ऐक्यबद्धता जनाएको छ । २२ वर्षदेखि साउदीमा काम गर्दै आएका काभ्रेका रामप्रसाद सापकोटाले गल्तीबिना नै साउदीमा पाँच–सात प्रतिशत युवा समस्यामा पर्ने गरेको बताए ।

 

 

 

प्रकाशित: १५ श्रावण २०७५ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App