७ वैशाख २०८१ शुक्रबार
समाज

सप्तरीमा कहालीलाग्दाे घटना : अंश जोगाउन ५ बर्षीया भतिजीसहित दाजुभाउजुको हत्या ?

कोसी पश्चिमी नहरमा सोमवार प्रहरी शव उत्खनन गरिरहँदा जम्मा भएको भिड ।  तस्बिर : नागरिक

राजविराज– सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ।

हत्या गरिएका मध्ये १७ बर्षीया बेचनीको शव घर नजिकै रहेको ट्वाइलेटको सेफ्टी ट्यांकभित्रबाट प्रहरीले जेठ ३१ गते राति फेला पारेको थियो। बेचनी गर्भवती थिइन्। सुरज र छोरी प्रतिभाको शव अझै फेला परेको छैन्। मृतक बेचनीको माइती पक्षको उजुरीको आधारमा घटनाको अनुसन्धान थालेको सप्तरी प्रहरीले हाल पाँच जना आरोपीलाई पक्राउ गरी बाउछोरीको शव खोजतलास गरिरहेको छ। 

सोमबार मृतकहरुको घरदेखि झण्डै दुई किलोमिटर टाढा कोसी पश्चिमी नहरको खाँडो साइफन नजिक शव उत्खनका लागि प्रहरीले घण्टौ प्रयास गरेपनि अत्यधिक पानी रहेका कारण शव उत्खनन गर्न नसकिएको घटनास्थलमै भेटिएका सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी गराए। घटनाबारे विस्तृत अनुसन्धान भइनसकेको भन्दै बृहत जानकारी दिन नमिल्ने उनको भनाई छ। ‘केही अभियुक्तलाई हामीले पक्राउ गरी अनुसन्धान थालेका छौ’, सिंहले भने, ‘उनीहरुले प्रहरी समक्ष दिएको वयानकै आधारमा शव उत्खनन गर्न थालिएको हो।’ 

जिल्ला प्रहरी कार्यालय निकट स्रोतका अनुसार हत्याको आरोपमा सुरजका भाई पञ्चदेव साहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। जेठ ३१ गते साँझ सेफ्टी ट्यांकभित्र फालिएको बेचनीको शव गन्हाउन थालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले सेफ्टी ट्यांकबाट बेचनीको शव निकालेर परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। 

उक्त घटना पश्चात वेचनीका पती र छोरीलाई प्रहरीले खोजतलास गर्ने प्रयास गरेपनि उनी फेला पर्न सकेका थिएन। प्रहरी र गाउँलेहरु सुरजले नै बेचनीको हत्या गरी छोरीलाई लिएर फरार भएको शंका गर्न थालेका थिए। 

यद्यपी घटनाको एक सातापछि बेचनीका पिता सप्तरीकै छिन्नमस्ता गाउँपालिका–६ बस्ने ४२ बर्षीय रामकुमार साहले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराउँदै निजका परिवारजनले नै आफ्नो छोरी, ज्वाई तथा नातिनीको हत्या गरेको आरोप लगाएका थिए। 

साहले दर्ता गरेको किटानी जाहेरीमा मृतक सुरजका भाई पंचदेव साह, पञ्चदेवकी पत्नी प्रमिलादेवी साह, छोरा सन्तोष कुमार साह र आमा ६५ बर्षीया सोमनी भनिने शोभादेवी साह उपर हत्याको आरोप लगाएका थिए। सोही किटानी जाहेरीको आधारमा अनुसन्धान थालेपछि प्रहरीले केही अभियुक्तलाई पक्राउ गरेर सोधपुछ थालेको थियो। सोधपुछमा निजहरुकै संलग्नतामा परिवारसहित सुरज साहको हत्या गरिएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय निकटको स्रोतले जनाएको छ। 

सुरजलाई सानै उमेरमा निजका मामाले नै भारतमा बेचिदिएको तथा १४ बर्षपछि उनी घर फर्केको निजका ससुराले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख गरिएको छ। १४ बर्षपछि उनी घर फर्किदा परिवारका सदस्यहरु उनलाई चिन्न समेत आलटाल गर्दै आएका थिए। पछि अदालतको आदेशमा डिएनए परीक्षण पश्चात मात्रै उनलाई परिवारजनले स्विकारेका थिए। 

लामो कानुनी प्रक्रिया पश्चात सुरजलाई परिवारजनले स्वीकारे पनि उनको नागरिकता बनाउन चाहेका थिएनन्। विवाह पश्चात आफ्नो नागरिकता बनाई दिन पटक पटक आमा लगायत परिवारजनलाई आग्रह गर्दा पनि परिवारजनले आलटाल गर्दै आएको उजुरीमा उल्लेख छ। पछिल्लो पटक गत जेठ २८ गते गाउँमै भएको पञ्चायतीका क्रममा परिवारजनले असार ३ गते सम्ममा सुरजको नागरिकता बनाइदिने सहमति भएको थियो तर त्यस अगावै आरोपीहरुले सामूहिक रुपमा आफ्नो छोरी, ज्वाई तथा नातिनीको हत्या गरि फालेको पीडित पक्षको आरोप छ। 

यता प्रहरी प्रमुख एसपी सिंहले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै मंगलबार विहान पुनः शव उत्खनको प्रयास गरिने बताए। ‘घटनाबारे हाल वृहत जानकारी खुलाउन सक्ने अवस्था छैन, हामी शवको खोजी गरिरहेका छौ’, सिंहले भने, ‘यसबारे चाँडै सप्तरी प्रहरीले आधिकारिक जानकारी गराउनेछ।’ 

प्रकाशित: १४ श्रावण २०७५ १६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App