coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोलकता बन्दरगाहमा हटेन ‘कन्जेसन’

कोलकता बन्दरगाहस्थित नेपाली कन्टेनर राखिने यार्ड  । तस्विर : नागरिक

वीरगन्ज– सोमबारसम्म कोलकता बन्दरगाहमा त्यहाँबाट नेपालको लागि ‘फरर्वार्ड’ (चलान) भइसकेको ६ सय ५० कन्टेनर पालो पर्खेर बसेका छन्। कोलकतास्थित भारतीय बन्दरगाहमा नेपाली कन्टेनरहरु ‘कन्जेसन’अर्थात मालवाहक ‘कन्टेनर’हरुको जाम निरन्तर दोहोरिँदै छ। तेस्रो मुलुकसंगको आयात व्यापारका लागि नेपालले प्रयोग गर्ने प्रमुख बन्दरगाह हो यो।

‘रेक’अर्थात ढुवानी गर्ने रेलको अभावमा बढेको भिडभाडका कारण त्यहाँबाट कन्टेनर नेपालका लागि निकासी नहुँदा थन्किएका हुन्। रेलमार्फत नेपाली कन्टेनर ढुवानी गर्ने एक मात्र सेवा प्रदाय संस्था भारतीय कन्टेनर निगम लिमिटेड (कन्कोर)ले बेलैमा ‘रेक’नदिँदा ‘कन्जेसन’ दोहरिएको कोलकता पोर्ट ट्रष्टका एक अधिकारीले बताए। रोकिएका कन्टेनरमा ३ हप्ता अगाडि गएका पनि छन्। बन्दरगाहबाट चलानी भएका कन्टेनर समयमा त्यहाँबाट निकासी हुन नपाउँदा नयाँ कन्टेनर थपिँदै गई जाम पर्ने गर्छ। असार २८ मा ‘फरर्वार्ड’ (चलान) भइसकेका कन्टेनर सोमबार लोड गर्न लागिएको कोलकता पोर्ट ट्रष्टले जनाएको छ। 

कोलकता आइसकेपछि कन्टेनर नेपाल पुगेर खाली भई फिर्ता हुनमा ढिलाई हुँदा त्यसमा विलम्ब शुल्क र जरिवानाको आर्थिक भार थपिन पुग्छ। ‘पछिल्लो ६/७ महिनादेखि लागातार यो समस्या छ’, उद्योग बाणिज्य महासंघको सडक पारवहन समितिका संयोजक अशोक टेमानीले भने, ‘कोलकता बन्दरगाह भनेपछि निश्चित रुपमा विलम्ब जरिवानाको भारी भन्ने आयातकर्ताको बुझाई भएको छ।’ हजार बढीसम्मको संख्यामा कन्टेनरहरुको जाम पछिल्लो ६÷७ महिनाभित्र आयातकर्ताले सामना गरेको उनले बताए। यसले गर्दा रेलबाट तय कन्साइन्मेट सडकतिरबाट आउन थालेको उनले बताए। सडक भएर आउनेभन्दा रेलबाट आउने कन्टेनरको लागि जामको समस्या परेको हो। 

कन्टेनर रोकिँदा त्यसमा प्रतिदिन सयदेखि डेढ सय डलरसम्म विलम्ब शुल्क परिरहेको टेमानीले बताए। रेलमार्फत कन्टेनर ढुवानीका लागि एकमात्र सेवाप्रदाय कन्कोरमाथि निर्भरताका कारण नेपालले बारम्बार यो समस्या खेप्नु परेको छ। नेपाल–भारत रेल्वे सम्झौतामा नेपाली कन्टेनर ढुवानी गर्न प्रतिस्पर्धामा सेवा प्रदायक छान्न सकिने प्रवधान नराखेर भारतीय रेल्वेको भगिनी संस्था कन्कोरको भर पर्नुपरेको हो। आयातकर्ताले ‘कन्जेसन’ समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर पहल गर्नुपर्ने बताएका छन्। 

प्रकाशित: १४ श्रावण २०७५ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App