coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बँदेल सहित वन्यजन्तुको आतंकले किसान हैरान

हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीका एक किसानले मकैबारीमा बँदेल नपसोस् भनेर वरिपरी बाँधेको डोरी । उक्त डोरीलाई करेन्टयुक्त तार ठानेर बँदेल बारीभित्र नपस्ने किसानहरुको भनाई छ । तस्बिर : नागरिक

सर्लाही– जंगली जनावरले खेतमा लगाएको बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। 
बँदेल, निलगाँई, घोडगधा लगायत जंगली जनावरले खेतमा लगाएको बाली खाने एवं नष्ट समेत पार्ने गरेका कारण किसानहरु पीडित बन्दै आएका हुन्। पूर्व–पश्चिम राजमार्ग क्षेत्रदेखि दक्षिण भारतीय सीमाक्षेत्रसम्म महिनौ यता त्यस्ता जनावरहरुको आतंक रहेको स्थानीय किसानहरुको गुनासो छ। वन्यजन्तुको आक्रमणबाट बालीनाली जोगाउन किसानहरु खेतमा विद्युतीय करेन्ट फिट गर्ने, वरीपरी बाँसको भाटामा डोरी बाँधेर बारीलाई घेर्ने नभए पालैपालो रुँगेर बस्न बाध्य छन्। 

बालीनाली नष्ट पार्दा आफूहरु निकै मारमा पर्दै आएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनको घुर्कौली निवासी हरिनारायण महतोले गुनासो गर । ‘हुलका हुल जंगली जनाबर पसेर खेतको बाली सिध्याउने गरेको छ’, उनले भने, ‘अरु जनावरले माथि माथि खाने भएपनि बँदेलले त उखु समेत जरै उखेलेर खाने अनि पुरै नष्ट नै पार्ने गरेको छ।’ केही वर्षअघि सम्म कहिल्यै नदेख्ने गरेको जंगली जनावरहरु हाल खेतभरी हुलका हुल आएर बालीनाली नष्ट पार्न थालेपछि किसानहरु खेती गर्ने कि नगर्ने भन्ने दोधारमा समेत परिरहेको महतोको भनाई छ।

गत चैततिर खेतमा लगाएको बाली हेर्न गएको समयमा हरिवन नगरपालिका–५ घुर्कौली निवासी ६५ वर्षीया रामप्यारी देवीलाई त बँदेलले आक्रमण गरेर गम्भीर घाइते नै बनायो। ‘घरछेउको बारीमा लगाएको बाली हेर्न जानुभएको आमालाई एक्कासी बँदेलले आक्रमण ग-यो’, शिवनारायण महतोले भने, ‘अझ गाउँलेहरुले देखेर लखेटेका कारण धेरै आक्रमण गर्न पाएन, तैपनि जीउभरी दाराले हिर्काएका कारण उपचारमा मात्रै २÷३ लाख रुपैंया खर्च भयो।’

खेतमा लगाएको धान, मकै, गहुँ, उखु लगायत सबैखाले बाली बँदेल लगायत जंगली जनावरले खाने र नष्ट समेत पार्ने गरेको जिल्लाको दक्षिण–पश्चिम क्षेत्र हरकठवा निवासी संजिव सिंहले गुनासो गरे। ‘विशेष गरी बँदेलले हैरान नै पार्ने गरेको छ’, उनले भने, ‘किसानहरुले बाध्य भएर खेतमा करेन्ट फिट गर्ने गरेका छन्।’ जंगली जनावरलाई तर्साउन राखिएको करेन्ट लागेर किसान आफै समेत घाइते हुने गरेको सिंहले बताए। ‘निलगाई र घोडगधा लखेट्दा खेरी भाग्ने भएपनि बँदेलले भने लखेट्न खोज्ने किसानलाई नै आक्रमण गर्ने गरेका कारण गाउँलेहरु सामूहिक रुपमा गस्ती गर्न बाँध्य छन्’, सिंहले भने, ‘वर्ष दिनमा उत्पादन हुने नगदे उखु बाली पूर्ण रुपमा नष्ट पार्दा भने किसानहरु निकै खेप्दै आएका छन्।’

जिल्ला वन कार्यालयका अधिकृत बेचन यादवले केही महिनायता जिल्लाको दक्षिणी क्षेत्रमा वन्यजन्तुको आतंकले किसान एवं सर्वसाधारण हैरान भएको खबर आइरहेको बताए। ‘उत्तर चुरे क्षेत्रमा मानव बस्ती बढ्दै जानु र विकास निर्माणका नाममा ठूला–ठूला आवाजका मेसिनहरु चलाइने गरेकाले वन्यजन्तुहरु दक्षिण समथल भू–भागतर्फ भागेर बस्ने क्रम बढेको छ’, उनले भने, ‘स्वतन्त्र रुपमा बस्न चाहने वन्यजन्तुले आफ्नो बासस्थानमा निकै डिस्टर्व महसुस गरेपछि आँतिएर जताततै विनास गर्दै हिड्ने गर्दछन्।’ बस्ने ठाउँ, हिड्ने बाटो, चर्ने ठाउँ सबै क्रमशः अतिक्रमणको चपेटामा पर्दै गएपछि वन्यजन्तु तराईको अन्नबाली हुने क्षेत्रमा झरेर विनाशलिला मच्चाउन सुरु गरेको यादवको कथन छ। 

प्रकाशित: १४ श्रावण २०७५ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App