७ वैशाख २०८१ शुक्रबार
खेल

लिभरपुलमा साकिरीको डेब्यु धमाकेदार

म्यानचेस्टर युनाइटेडविद्ध बाइसाइकल किकबाट गाेल गर्दै लिभरपुलका खेलाडी जार्डान साकिरी। तस्बिर : एएफपी

सिकागो (एएफपी) – जार्डान साकिरीले डेब्यु खेलमा गोल गरेको दिन लिभरपुलले शनिबार सिजनपूर्वको अन्तिम अभ्यास खेलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि ४–१ को सहज जित हात पार्दै अमेरिका भ्रमणको सुखद अन्त्य गरेको छ।

२८औं मिनेटमा साडियो मानेले गरेको पेनाल्टी गोलमा लिभरपुलले अग्रता लिएको थियो। तर टोलीले अग्रता लामो समय टिकाउन सकेन। त्यसको ३ मिनेटपछि नै आन्द्रियास परेराले फ्रि–किकमा गरेको गोलमा युनाइटेड खेलमा फर्किएको थियो।

६६औं मिनेटमा ड्यानिल स्टुरेजले गोल गर्दा लिभरपुलले पुनः अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि सेइ ओजोले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता बढाएका थिए।

खेल सकिन ८ मिनेट बाकी हुँदा साकिरीले उत्कृष्ट ‘बाइसाइकल’ किकमा गोल गर्दै  लिभरपुलको सहज जित पक्का गरेका थिए। साकिरी यसै सिजन स्टोक सिटीबाट लिभरपुलमा आबद्ध भएका थिए।

यसअघि लिभरपुलले पहिलो खेलमा म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गरेको थियो।

त्यस्तै म्यानचेस्टर सिटीले पनि बायर्न म्युनिखलाई ३–२ को नतिजामा पराजित गर्दै अमेरिका भ्रमणको सुखद अन्त्य गरेको छ। तर यसै सिजन क्लबमा भित्रिएका मिडफिल्डर रियाद महारेजको चोटले भने पेप ग्वार्डिओला निराश बनेका छन्।

वैकल्पिक खेलाडी बर्नार्डाे सिल्भाले गरेको दुई गोलमा २–० ले पछि परेको सिटी पुनरागमनका साथ खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो।

१५औं मिनेटमा मारिटन साहबानीले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो। त्यसको ९ मिनेटपछ आर्येन रोबेनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए।

२७औं मिनेटमा महारेज कुर्कुच्चाको चोटका कारण मैदानबाट बाहिरिएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा सिल्भाले गरेको गोलमा सिटीले खेलमा फर्कने संकेत गरेको थियो। ५१औं मिनेटमा लुकास नेमाचाले सिटीका लागि बराबरी गोल गरे।

खेल सकिन २० मिनेट बाकी हुँदा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित पक्का गरेका थिए।

अर्को आइतबार वेम्बलीमा चेल्सीविरुद्ध हुने कम्युनिटी सिल्डका लागि अल्जेरियाका मिडफिल्डर माहरेज अनुपस्थित हुने भए पनि प्रिमियर लिगको सुरुआतसम्ममा भने उनी पूर्ण रूपमा फिट भइसक्ने ग्वार्डिओलाले विश्वास व्यक्त गरे।

‘माहरेजको कुर्कच्चामा समस्या देखिएको छ,’ ग्वार्डिओलाले भने, ‘उनको थप स्वास्थ्य परीक्षण हुन बाँकी छ । हामी उनको चोट गम्भीर नहोस् भन्ने कामना गर्दछाैं।’

यसअघि सिटीले पहिलो अभ्यास खेलमा बोरुसिया डर्टमन्ड र दोस्रो अभ्यास खेलमा लिभरपुललाई नतिजा सुम्पिएको थियो।

विश्वकपका कारण पहिलो रोजाइका अधिकांश खेलाडी टोलीमा नफर्किसकेकाले ग्वार्डिओला युवा टोलीका साथ सिजनपूर्वको अभ्यासका लागि अमेरिका भ्रमणमा निस्किएका थिए। उनले पहिलो दुई खेलमा उतारेको टोलीलाई शनिबार बायर्नविरुद्ध पनि निरन्तरता दिएका थिए।

‘हामीले पहिलो दुई खेलमा गरेको गल्ती बायर्नविरुद्धको खेलमा सुधार ग-याैं’ ग्वार्डिओलाले भने, ‘त्यसैले हामी पहिलो हाफमा २–० ले पछि परे पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमनका साथ ३–२ को नतिजा ल्याउन सफल भयौं।’

यता प्रशिक्षक माउरिरियो सारीको प्रशिक्षणमा लगातार दोस्रो जित हात पार्ने क्रममा चेल्सीले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित ग-यो।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

खेलको आठौं मिनेटमा पेड्रो रोडरिग्वेजले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो। ४९औं मिनेटमा रोबेर्टो गाग्लियार्डिनीले गोल गर्दै इन्टरलाई खेलमा फर्काए।

त्यस्तै बार्सिलोनाले टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको छ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

१५ औं मिनेटमा मुनिर एल हडाडीले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। त्यसको १४ मिनेटपछि अर्थरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

तर बार्सिलोनाले दोस्रो हाफमा अग्रता जोगाउन सकेन। ७३औं मिनेटमा ह्युङ–सन मिनले गरेको गोलमा टोटेनह्यामले गोलअन्तर कम गरेको थियो। त्यसको दुई मिनेटपछि नै जर्जस एन कोडोउको गोलमा टोटनेह्याम खेलमा फर्किएको थियो।

खेल सकिन ८ मिनेट बाकी हुँदा साकिरीले उत्कृष्ट ‘बाइसाइकल’ किकमा गोल गर्दै  लिभरपुलको सहज जित पक्का गरेका थिए। साकिरी यसै सिजन स्टोक सिटीबाट लिभरपुलमा आबद्ध भएका थिए।

प्रकाशित: १४ श्रावण २०७५ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App