८ वैशाख २०८१ शनिबार
कला

विशारदको भर्जिन ट्रेलर

काठमाडौं– निर्माणको घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘मिस्टर भर्जिन’को ट्रेलर सार्वजनिक भएको छ । भदौ १ मा रिजिल हुने भर्जिनको आइतबार ट्रेलर सार्वजनिक भइरहँदा निर्देशनमा डेब्यु गरेका कलाकार विशारद बस्नेतले फिल्म मनोरञ्जनको प्याकेज रहेकाले निर्धक्कसँग भएर फिल्म हेर्न आग्रह गरे।

फिल्मको ट्रेलरमा द्विअर्थी संवादको भरमार भए पनि उत्शृृंखल नरहेको दाबी बस्नेतले गरे । ‘फिल्मको नाम हेरेर दर्शकहरू नझुक्किनु होला,’ उनले भने, ‘फिल्मको नाम मात्र सम्झेर जानुभयो भने तपार्इंले आफूले चाहेको कथा नपाउन पनि सक्नुहुनेछ।’

फिल्मका कलाकार कमलमणि नेपालले नामलाई अनर्थमा नबुझ्न आग्रह गरे । ‘फिल्मको नाम नै मिस्टर भर्जिन भएपछि दर्शकका मनमा अनेक कुरा खेल्न सक्छन् । तर फिल्म सामान्य कथामा बनेको छ,’ कमलमणिले भने, ‘धेरै नेपालीहरु दिनभरि काम गर्छन् र राति सुत्छन् । तर हामी चाहीं यो फिल्ममा रातभरी काम गथ्र्यौ, दिनभरी सुत्थ्यौं।’

नायिका मरिस्का पोखरेलले जाडोको समयमा काम गर्दा निकै रमाइलो लागेको बताइन् । ‘ठमेलको लोकेसनमा भएकाले पनि रातिको सुटिङ निकै रमाइलो भयो,’ उनले भनिन्, ‘फिल्म सरल छ, लजाउनुपर्ने कुनै दृश्य छैनन् ।’कार्यक्रममा रवीन्द्र झा, विजय बराल, भोलाराज सापकोटा, गौरव पहारी, सिर्जना सुब्बालगायतले फिल्ममा काम गर्दाको अनुभव सुनाएका थिए । फिल्ममा तीन युवाको यौन मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा पनि युवाको यौन चाहना र त्यो यौन चाहना पूरा गर्न खोज्दा आइपर्ने बाधा अवरोधलाई देखाइएको छ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्मित फिल्ममा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी, प्रजापति शिवाकोटी, विशारद बस्नेतको लगानी छ । फिल्ममा दीपकमान सिंहको नृत्य, रामेश्वर कार्कीको छायांकन, महेश दवाडीको संवाद छ ।

प्रकाशित: १४ श्रावण २०७५ ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App