८ वैशाख २०८१ शनिबार
खेल

पहिलो रोजाइका लागि बुफोनको संघर्ष

सिंगापुर – पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक थोमस टचेलले पोस्ट सम्हाल्नका लागि कसलाई पहिलो रोजाइमा राख्ने निर्णय गरिनसकेको अवस्थामा इटालीका विश्वकप विजेता भेट्रान गोलकिपर जियानलुइजी बुफोनले एक नम्बरका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

४० वर्षको उमेरमा पुगेपछि पहिलो पटक विदेशी क्लबमा सरुवा भएका बुफोनले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य बनाएको फ्रान्सेली क्लबमा पहिलो रोजाइबाट खेल्नका  लागि कडा प्रतिस्पर्धा गर्नुपर्नेछ। टचेलसँग फ्रान्सको विश्वकप विजेता टोली सदस्य अल्फोन्से एरेओला, जर्मन अन्तर्राष्ट्रिय केभिन ट्राप, सेवास्टिन सिबोइस र रेमी डेसच्याम्प्सलगायतका गोलकिपर भएकाले बुफोनका लागि पहिलो रोजाइ पाउन कठिन मानिएको छ।

‘आफ्नो स्थानका लागि प्रतिस्पर्धा गर्नबाट उनी डराएका छैनन्। यसै गरी केभिन र अल्फोन्से पनि प्रतिस्पर्धाबाट डराएका छैनन्,’ सिंगापुरमा सोमबार एट्लेटिको मड्रिडसँग अभ्यास खेल खेल्ने तयारीमा रहँदा पिएसजीका जर्मन प्रशिक्षक टचेलले भने, ‘म हरेक पोजिसनमा यस्तै प्रतिस्पर्धा होस् भन्ने चाहन्छु। सबै जना उच्च फर्मका साथै उच्च फिटनेसमा रहेको बेला निर्णय गर्नु सहज हुँदैन। तर पनि बिनादबाब स्पष्ट निर्णय गर्नैपर्छ।’

पिएसजीमा बुफोनको सुरुआत स्मरणीय हुन पनि सकेन। बायर्न म्युनिख र आर्सनलविरुद्धका दुई मैत्रीपूर्ण खेलमा बुफोनले चार गोल खाए। युभेन्ट्सबाट १७ वर्ष खेल्ने क्रममा ६ सय ५६ खेल खेलेका बुफोनले फ्रान्सेली क्लबमा सजिलै पहिलो रोजाइ नपाउने यथार्थ आफूले बुझेको बताएका छन्।

‘२४ वर्षको करियरमा यसअघि पनि मैले एक नम्बर जर्सी सजिलोसँग पाएको होइन। अभ्यासमा कडा मिहिनेत र प्रशिक्षकको निष्पक्ष छनोटमा सफल भएर मैले त्यो मौका पाएको हुँ,’ बुफोनले भने, ‘त्यसैले म अझै पनि त्यस्तै मिहिनेत र प्रतिस्पर्धाका लागि तयार छु। टिममा रहेका अन्य युवा गोलकिपरलाई अगाडि बढ्न सघाउनु पनि मेरो जिम्मेवारी हुनेछ।’

२००६ को विश्वकप विजेता बुफोनले च्याम्पियन्स लिग जित्ने लक्ष्यले एक वर्षे सम्झौतामा पिएसजी सरुवाका लागि प्रेरित गरेको स्विकार गरेनन्। ‘शीर्ष स्तरमा खेल्ने क्रमलाई निरन्तरता दिनका लागि मैले यस्तो निर्णय गरेको हुँ। मलाई पहिल्यैदेखि विदेशमा चुनौती स्विकार्ने कुराले उत्साहित बनाउँथ्यो। त्यो उत्साह बिस्तारै मेरा लागि महत्वाकांक्षामा परिणत भयो। यसका लागि पेरिस राम्रो थलो हुन सक्छ। ४० वर्षको उमेरमा इटालीबाहिरको चुनौती स्विकार्नु मेरा लागि व्यावसायिक र व्यक्तिगत दुवै रूपमा राम्रो हुने अपेक्षा गरेको छु।’

प्रकाशित: १४ श्रावण २०७५ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App