७ वैशाख २०८१ शुक्रबार
समाज

दिनहुँ प्रदर्शन, शव बुझ्न अझै अस्वीकार

फाइल फाेटाे

धनगढी - बलात्कारपछि क्रुर ढंगले हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको शव आफन्तले अझै बुझेका छैनन्। हत्या भएको चार दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै पीडित परिवारले बालिकाको शव बुझ्न नमानेका हुन्। घटनामा संलग्नलाई पहिचान गरी कारबाही माग गर्दै आक्रोशित स्थानीय बासिन्दाले आइतबार पनि दिनभर महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरू शनिबार पनि विरोध प्रदर्शन गरेका थिए।

हत्या गरिएकी बालिकाकी आमा दुर्गादेवी पन्तले चार दिन बित्दा पनि प्रहरी प्रशासनले छोरीको हत्यारा पत्ता लगाउन नसकेकामा दुःख व्यक्त गरिन्। ‘चार दिनदेखि भोक, निद्रा सबै हराएको छ,’ उनले भनिन्, ‘मेरो अवोध छोरीलाई बलात्कार गरेर हत्या गर्नेलाई छिटो पक्राउ गरेर कारबाही गरियोस्।’ घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही नभए पीडित परिवार अन्यायमा पर्ने मात्र होइन, आगामी दिनमा अरूमाथि पनि यस्तो जघन्य अपराध हुन सक्ने स्थानीय बासिन्दा बताउँछन्।

दोषी पत्ता नलाग्नु र दिनुह प्रदर्शन भइरहनुले महेन्द्रनगरमा तनाव बढेको छ। बालिकाका आफन्त शव बुझ्न आत्तुर रहेको तर, एक समूहले बुझ्न नदिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्काको आरोप छ। ‘एउटा समूहको दबाबका कारण आफन्तले बालिकाको शव जलाउन सकेका छैनन्,’ उनले भने, ‘बल प्रयोग गर्नु नपरोस् भनेर अहिलेसम्म प्रशासनले छलफलबाटै सहमतिको प्रयास गरिरहेको छ ।’ बालिका हत्याको अनुसन्धान गम्भीर ढंगले भइरहेको प्रमुख जिल्ला अधिकारी खड्काको दाबी छ।

प्रदेश ७ प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमचन्दले कञ्चनपुरका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली बनाएर बालिका हत्याको अनुसन्धान भइरहेको जानकारी दिए। यसैगरी घटना अनुसन्धानका लागि केन्द्रबाट पनि टोली आउने उनको भनाइ छ। ‘दोषी पत्ता लगाइ पीडितलाई न्याय दिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन हामी गम्भीर भएर अनुसन्धानमा जुटेका छौं,’ उनले भने।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखाम महुलियाकी १३ वर्षीया निर्मला पन्तको गत बिहीबार बलात्कारपछि निर्मम ढंगले हत्या भएको थियो। उनको शव शुक्रबार नांगो अवस्थामा भेटिएको थियो। भीमदत्तपन्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा उनको शव भेटिएको थियो।

प्रकाशित: १४ श्रावण २०७५ ०४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App