गत साता पाकिस्तानमा भएको आमनिर्वाचनमा पूर्व क्रिकेट खेलाडी इमरान खानको दल पीटीआई भनेर चिनिने तहरिक–इ–इन्साफले सबैभन्दा धेरै सिट प्राप्त गरेको छ । यससँगै उनले पाकिस्तानको नेतृत्व लिने देखिएको छ । तथापी उनी साना दलहरुलाई मिलाएर गठबन्धन बनाई सरकार बनाउने कसरतमा लागि परेका छन्।
पाकिस्तानको ७१ वर्ष लामो इतिहासमा तेस्रो पटक गत बुधबार भएको आमनिर्वाचनमा सन् १९९२ मा पाकिस्तानलाई विश्वकप क्रिकेटको उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका खानको दलले अग्रता पाएको हो । २२ वर्षअगाडि राजनीतिमा यात्रा शुरु गरेका उनलाई पछिल्लो निर्वाचनमा युवा पुस्ता र महिलाहरुको विशेष समर्थन मिलेको समाचारहरुमा उल्लेख छ । ६५ वर्षीय खानले आफ्नो निर्वाचन अभियानको क्रममा भ्रष्टाचार र राजनीतिक संकटलाई व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
पाकिस्तानको राष्ट्रिय राजनीतिमा तरंग ल्याउने गरी मतगणनाको क्रममा अग्रता लिएका इमरान खानको बारेमा सामाजिक सञ्जालमा चर्चा नहुने कुनै भएन । दक्षिण एसियाको सामाजिक सञ्जाल र सञ्चारमाध्यम मात्र होइन, पश्चिमा सञ्चार माध्यमले पनि प्राथमिकताका साथ उनका खवरहरु प्रकाशन र प्रसारण गरिरहेका छन् । केही दिनदेखि खान सामाजिक सञ्जाल ट्वीटरको ट्रेन्डमा रहिरहेका छन् । नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि उनको बारेमा र उनीसँग सम्वन्धित विषयमा ट्वीट गरिरहेका छन् ।पूर्व क्रिकेट क्याप्टेन खान प्रधानमन्त्री हुने चर्चासँगै डाँडाखर्के नाम राखेका एक ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन्, ‘अब भारतको अर्को प्रधानमन्त्री सचिन हुने होलान् किनकी उता पाकिस्तानमा इमरान खान प्रधानमन्त्री भए । नेपालमा पारसको पालो कहिले आउला?’
त्यस्तै, गौरव पोखरेलले ट्वीट गरेका छन्, ‘इमरान खान प्रधानमन्त्री भएर पहिलो भ्रमण नेपाल गर्छन् की नाइ? हुन तर्फ, जहिले आए पनि एक सेल्फी खिच्न मन छ ।’पहिले देखि खानको क्रिकेट यात्राको बारेमा चासो राख्ने नेपालीहरुले पनि उनको बारेमा ट्वीट गरेका छन् । आर्यन राउतले नेपालको एक क्रिकेट फ्यानको तर्फबाट बधाइ भन्दै ट्वीट गर्छन्, ‘प्रधानमन्त्री बन्न सफल संसारकै पहिलो क्रिकेट खेलाडी इमरान खानलाई धेरै धेरै बधाइ । विश्वकप विजेता जस्तै पाकिस्तानलाई राम्रो देश बनाउनुहोस्।’
निरज श्रेष्ठले इमरान खानको प्रसंगमा नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्कालाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘सन् ८० र ९० को दशकमा पाकिस्तानमा इमरान खानजस्तै तपाईं नेपालको सबैभन्दा आशलाग्दो र प्रेरणादायी क्याप्टेन हुनुहुन्छ । के हामीले केही दशकमा यस्तै हुने सपना देख्न सक्छौं?’
प्रकाशित: १४ श्रावण २०७५ ०३:१० सोमबार