coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

छानबिन सुरुआत काठमाडौंबाट

फाइल फाेटाे

जुम्ला - अनशन बसेको २०औं दिनमा डा. गोविन्द केसीलाई काठमाडौं लैजाँदा जुम्ला अस्पतालमा भएको क्षतिको छानबिन गर्न कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कार्यकारी परिषद्ले एक साताअघि छानबिन समिति गठन ग-यो। तर समितिले अहिलेसम्म छानबिन प्रक्रिया सुरुसम्म गरेको छैन। प्रतिष्ठानले ९ गते नै समितिलाई कार्यकारी परिषद्को निर्णय र आधिकारिक पत्र पठाइसकेको छ।

‘डा. केसीलाई सरकारले बलजफ्ती काठमाडौं लैजाँदा भएको क्षतिको छानबिनका लागि उच्चस्तरीय समितिलाई पत्र काटिसकेका छौं’, प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले भने, ‘अब केही दिनमा छानबिन हुन्छ होला तर टोलीले कहिलेदेखि प्रक्रिया थाल्ने भन्ने विषय टुंगो लागेको छैन।’ उनका अनुसार प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले आवश्यक कागजात लिएर काठमाडौं हिँडेका छन्। उनले भने, ‘छानबिन समितिले बोलाएको खण्डमा म पनि जान सक्छु ।’ पदाधिकारीसँग काठमाडौंमै पहिलो चरणको बैठकपछि छानबिन थालनी हुने बताइएको छ।

घटना भएको स्थानलाई बेवास्ता गर्दै काठमाडौंबाट छानबिन गर्ने काम दोषी उम्काउने चलखेल भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।

स्थानीयले भने छानबिनका लागि सबै कागजात लिएर काठमाडौं पुग्नु गलत भएको टिप्पणी गर्न थालेका छन्। प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामै भएकाले छानबिन समिति यहीं आएर छानबिन थाल्नुपथ्र्यो’, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने, ‘घटनामा भएको क्षतिलाई गुपचुप राख्न काठमाडौंमै थामथुम पार्न थालेको अनुभूति हुन थालेको छ। त्यो कर्णालीवासी र कर्णाली अस्पतालका लागि न्याय हुनेछैन।’ उनले टोली तत्काल जुम्ला आई सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे। उनले भने, ‘जुम्लामा भएको घटनाको छानबिन यहींबाटै गरिनुपर्छ । कागजपत्र काठमाडौं लिएर जाँदा चलखेल भएर दोषी उम्कन सक्छन्।’

महतले घटनाका साक्षी जुम्लावासीको प्रत्यक्ष भोगाइ छानबिन समितिले सुन्न जरुरी भएको बताए। ‘बिरामीको चित्कार, कुरुवाले भोग्नुपरेको पीडा, चिकित्सक, कर्मचारी र डा. केसीको समर्थक भएकै कारण प्रहरीको लाठीले घाइते हुनुपर्दाको अवस्थाको सही मूल्यांकन गर्न जरुरी छ अनिमात्र छानबिन समिति गठन गरेको सार्थकता हुन्छ’, उनले भने।

जुम्ला अस्पतालको घटनाबारे छानबिन गर्न राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गीताभक्त जोशीको संयोजकत्वमा सातसदस्यीय समिति गठन भएको छ। समितिका सदस्यमा डा. सिनेन्द्रराज उप्रेती, डा. कृष्णकुमार राई, डा. बाबुराम मरासिनी, डा. देवमान लिम्बू, पत्रकार गोरखबहादुर थापा र सदस्यसचिवमा राजु कटुवाल छन्।

छानबिन समितिले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उत्पन्न दुःखद परिस्थितिको विश्लेषण गर्ने उपकुलपति वाग्लेले बताए। उनले भने, ‘अस्पताल घटनालाई विभिन्न कोणबाट परिभाषित गर्न खोजिएको छ। त्यसैको सत्यतथ्य छानबिनका लागि समिति बनाएका हौं। समितिले सबै भ्रम मेटाउने आशा गरिएको छ।’

समितिका संयोजक शर्माले प्रतिष्ठानको पत्र प्राप्त भइसकेको बताए। उनले भने, ‘प्रतिष्ठानले छानबिनका लागि पठाएको पत्र प्राप्त भइसकेको छ। प्रतिष्ठानका उपकुलपति र रेक्टर आउँदै हुनुहुन्छ। यहाँ (काठमाडौंमा) बैठक बसेर छानबिनको काम अघि बढाउँछौं।’

प्रकाशित: १४ श्रावण २०७५ ०२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App