coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषि पेसा सिक्न इजरायल जाँदै युवाहरु

इजरायल जानका लागि तयारी गर्दै कृषि प्रशिक्षार्थी ।तस्बिर :योगेश रावल

टीकापुर - कैलाली गोदावरी नगरपालिका–९ का यज्ञराज भण्डारी डोटीको केदार ज्योति कुञ्ज बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । उनले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन्।

यतिबेला उनी प्राध्यापन पेसा छाडेर टीकापुर नगरपालिकास्थित पोलिटेक्निक इन्स्टिच्युटमा सामुदायिक कृषि सहायक विषयको एकमहिने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल गरिरहेका छन् । उनीसँगै साबिक सुदूर र मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत विभिन्न जिल्लाका ३९ जना पनि छन् । जसमा १० जना महिलासमेत रहेका छन्।

उनीहरु इजरायली दूतावास र साना किसान विकास बैंकले स्थानीय वित्तीय र प्राविधिक शिक्षण संस्थाहरुको सहयोगमा सञ्चालित ‘सिकाइ तथा कमाइ’ कार्यक्रम अन्तर्गत ज्ञान हासिल गरिरहेका छन् । एक महिने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल गरेपछि उनीहरु ‘कृषि प्रशिक्षार्थी’को रुपमा इजरायलको सेडोतस्थित नेगेम कलेजमा पढ्दै र आयमूलक काम गर्नेछन् ।११ महिने इजरायल बसाइ अवधिमा उनीहरुले साताको पाँच दिन कृषि फार्ममा काम, एक दिन पढाइ र एक दिन आराम गर्न पाउनेछन् । उनीहरुले काम गरेबापत पारिश्रमिक समेत पाउनेछन् । उनीहरुले मेहनतअनुसार पाँचदेखि २० लाख रुपैयाँसम्म पारिश्रमिक प्राप्त गर्न सक्ने बताइएको छ।

कृषि विषयको ज्ञान र आम्दानी दुवै हुने भएपछि भण्डारी प्राध्यापन पेसा छाडेर यसतर्फ लागेका हुन् । उनले इजरायलमा कमाएर ल्याएको रकम र सीपले स्वदेशमै आत्मनिर्भर हुने सपना देखेका छन् । ‘क्याम्पसमा पढाएर चित्त बुझेन,’ उनले भने, ‘अभिभावकले गर्दै आएको निर्वाहमुखी कृषि पेसालाई व्यवसायीकरण गर्ने सोचमा छु ।’
यसरी इजरायल जान खोज्नेमा उच्च शिक्षा हासिल गरेका भण्डारी मात्रै छैनन् । उनीहरुमध्ये ७५ प्रतिशतले स्नातक र २५ प्रतिशतले स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । इजरालय जानका लागि शैक्षिक योग्यता प्लस टु उत्तीर्ण मागिएको थियो।

कञ्चनपुरको कृष्णपुर नगरपालिका रैकवारबिचवाकी रचना पाण्डेसमेत शिक्षकको जागिर छाडेर इजरायल जाने तयारीमा छिन् । उनी पनि सामुदायिक कृषि सहायक विषयको ज्ञान हासिल गरिरहेकी छन् । उनले स्थानीय बाल विकास एकेडेमीको जागिर छाडेको बताइन्।

उनी कृषिमा नयाँ प्रविधि भिœयाएर बुबा हरिलाल पाण्डेले गर्दै आएको तरकारी खेतीलाई विस्तार गर्ने योजनामा छिन् । उनका बाबुले गाउँमै तरकारी खेती गर्दै आएका छन् । ‘म नयाँ प्रविधि भित्र्याएर राम्रो आर्जन हुने गरी तरकारी खेती विस्तार गर्न चाहन्छु,’ उनले भनिन्, ‘त्यसैले जागिर छाडेर इजरायल जान लागेकी हुँ ।’बझाङको पाथीभरा गाउँपालिका–४ का कपिल दर्जीले स्नातक तह उत्तीर्ण गरेपछि केही समय निजी विद्यालयमा पढाए । निजी विद्यालयको जागिरले जीविकोपार्जनमा खासै प्रगति नहुने देखेपछि उनी पनि इजरालय जाने तयारीमा छन् । विदेशमा सिकेको सीपलाई स्वदेश लागू गरेर कृषि पेसाबाटै आत्मनिर्भर बन्ने उनको सोच छ।

कैलाली अत्तरियाका डिल्लीराज रोस्यारा पेसाले सञ्चारकर्मी हुन् । उनी अत्तरीयामा रहेको गोदावरी एफएममा काम गर्थे । उनको पारिवारिक पृष्ठभूमि खेती किसानी हो । रेडियोको जागिर र परिवारले गर्दै आएको खेती किसानीबाट उनी सन्तुष्ट हुन सकेनन् । उनले पनि इजरायलबाट फर्केर नयाँ प्रविधिका साथ खेती किसानी गर्ने सोच बनाएका छन् । ‘परिवारले गर्दै आएको खेतीपातीलाई व्यावसायिक बनाउने हो,’ उनले भने, ‘त्यसका लागि सीप जरुरी छ ।’
उनीहरुले इजरायलबाट फर्केपछि थप दुई महिना सैद्धान्तिक र प्रयोगात्मक ज्ञान लिनुपर्नेछ । त्यसपछि मात्रै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को सिप परीक्षण महाशाखाले लेभल–२ को मान्यता दिने टीकापुर पोलिटेक्निक इन्स्टिच्युटका शिक्षालय प्रमुख टेकेन्द्रबहादुर थापाले जानकारी दिए । उनले सरकारको उद्देश्य कृषिमा इजरायलको प्रविधि भिœयाउनुका साथै स्वरोजगार बनाउनु रहेको बताए।

साविक सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत लगायत जिल्लाका सय जना इजरायल जान छानिएका छन् । यस्तै देशभरबाट पाँच सय ४० जना इजरायल जाँदैछन् । उनीहरुले इजरालयमा समूहमा रहेर काम गर्नुपर्नेछ ।छानिएका ‘कृषि प्रशिक्षार्थी’ले साना किसान विकास बैंकमा एक लाख नगद र १४ लाख बराबरको अचल सम्पत्ति धितो राखेका छन् । उनीहरुले यसका अलावा हवाई टिकटबापत ६५ हजार र प्रशिक्षण शुल्कबापत ३० हजार रुपैयाँ तिरिसकेका छन् ।

 

प्रकाशित: १४ श्रावण २०७५ ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App