७ वैशाख २०८१ शुक्रबार
समाज

राजधानी पुग्न अाठ घन्टा

काठमाडाैं - कुनै बेला रामेछापका बासिन्दा राजधानी आउन दोलखाको बाटो प्रयोग गर्थे । सदरमुकाम मन्थलीबाट पुष्पलाल मार्ग हुँदै लामोसाँघु–जिरी सडक छिचोलेर अरनिको राजमार्ग भेटेपछि राजधानी आइपुग्थे रामेछापबासी । उनीहरूलाई यो सडक मार्गबाट काठमाडाैं आउन आठदेखि १० घन्टासम्म लाग्थ्यो।

सडक विकासले तीव्रता पाउँदै गयो । बिपी राजमार्ग बन्यो । तामाकोसी र सुनकोसी नदीको संगम खुर्कोटमा चार वर्षअघि पुल बनेपछि रामेछाप राजधानीसँग नजिकियो । अरनिको राजमार्गबाट भन्दा राजधानी आउन ६३ किलोमिटर यात्रा छोटियो । दोलखा हुँदै राजधानी पुग्ने रामेछापबासी सडक छोटिएपछि सिन्धुली–काभ्रे हुँदै चार घन्टामा काठमाडांै आइपुग्न थाले ।

समयले कोल्टे फे¥यो, अहिले दोलखाबासीचाहिँ रामेछाप घुमेर सातदेखि आठ घन्टा लगाएर राजधानी आउन थालेका छन् । दोलखाको प्रमुख प्रवेशमार्ग लामोसाँघु–जिरी सडक फराकिलो बनाउन तीन वर्षअघि सडक विभागले ठेक्कामा दिएको थियो । ठेकेदारले सडक भत्काएर अलपत्र छाड्दा एक सय ३२ किलोमिटर सडक दुरीमा साढे तीनदेखि चार घन्टासम्म राजधानी आइपुग्ने गरेका दोलखाबासीको राजधानीतर्फको गन्तव्य उल्टो यात्रामा पुगेको हो।

‘पहिले हामी दोलखाबाट चार घन्टामा राजधानी आइपुग्थ्यौं । रामेछापबासी भने दोलखा घुमेर नौ घन्टामा काठमाडांै आउँथे,’ बिगु गाउँपालिकाका सामाजिक कार्यकर्ता सुन्दर लामिछानेले भने, ‘सडक विस्तारमा ठेकेदारको लापरबाहीले अहिले हामी काठमाडौं आउन रामेछापको बाटो प्रयोग गर्न बाध्य छौं ।’ लामिछानेका अनुसार दोलखा सदरमुकाम चरिकोटबाट अचेल ठूला बस र केही मालवाहक गाडीबाहेक साना र दुईपांग्रे गाडी मुडे–खाडीचौर हुँदै आउजाउ गर्नै सक्दैनन् । ‘ठूला बस पनि राजधानी पुग्न नौ घन्टासम्म लगाउँछन्’, उनले भने, ‘दुईपांग्रे साथै चारपांग्रे र हलुका सवारीसाधन मन्थली, खुर्कोट हुँदै यात्रा गर्छन् ।’ सडकमा ठूलाठूला खाल्डा छन् । वर्षायामा पानी जम्दा ती सडकमा पैदल यात्रा गर्न पनि असहज छ ।

खाडीचौर–मुडे सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । सडकबाट एम्बुलेन्स र साना सवारी आउजाउ गर्न सक्दैनन् । सडक मार्ग अस्तव्यस्त बनेकै कारण बिरामीलाई हेलिकप्टर चार्टर्ड गरी राजधानीका अस्पतालमा लैजाने गरिएको छ । जिल्ला प्रहरी कार्यालयको रेकर्डअनुसार गत असारमा दोलखाबाट राजधानीमा अस्पतालमा बिरामी लैजान दर्जन बढी हेलिकप्टरले उडान गरेका थिए।

उपभोग्य सामग्रीको मूल्यवृद्धि

सडक जीर्ण हुँदा दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । दोलखामै निर्माणाधीन माथिल्लो तामाकोसीसहितका विद्युत् आयोजनाका सामान ढुवानीमा असर परेको छ । पर्यटन व्यवसाय ठप्प बनेको छ । मालवाहक गाडीले राजधानीबाट चरिकोट पुग्न चार दिनसम्म लगाउने गरेका छन् । जोखिमपूर्ण सडकमा सामान बोेकेर गाडी चलाउनुपरेको भन्दै मालवाहक गाडीको भाडा बढेको छ । यसको असर उपभोग्य सामग्री पर्दा सर्वसाधारण महँगीको मारमा परेका छन्।

ठेकेदारले सडक भत्काएर अलपत्र छाड्दा साढे तीनदेखि चार घन्टामा राजधानी आइपुग्ने गरेका दोलखाबासी अहिले रामेछाप हुँदै बिपी राजमार्ग भएर आठ घन्टा यात्रा गरेपछि मात्र राजधानी आइपुग्ने गरेका छन् ।

व्यवसायीका अनुसार सडक मार्गकै कारण जिल्लामा महँगी बढेको छ । ‘पहिला एक रुपैयाँ ७० पैसा प्रतिकेजी भाडा लिएर मालवाहक गाडीले राजधानी र बनेपाबाट सामान ओसार्थे,’ दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले भने, ‘अहिले प्रतिकेजी तीन रुपैयाँसम्म भाडा लिन्छन् ।’ उनका अनुसार एकै दिनमा आइपुग्ने मालवाहक गाडी हिलाम्मे बाटोमा फस्दा चार दिनसम्म लगाउने गरेका कारण भाडा महँगिएको छ । विगतमा भैरहवाबाट सामान बोकेर तीन दिनमा चरिकोट पुग्ने गरेका मालवाहक गाडीले १० टन बोकेबापत ३२ हजार रुपैयाँ भाडा लिन्थे । अहिले त्यस्ता गाडी चरिकोट पुग्न सात दिनसम्म लाग्ने गरेको छ भने भाडा ४९ हजार रुपैयाँ लिने गरेका छन् । दोलखामा अहिले पर्यटन व्यवसाय ठप्पजस्तै छ । राजधानीबाट पर्यटक दोलखा जानै छाडेका छन् । होटल सुनसान छन् । ‘एउटै सडककै कारण हामी पुरानै दुर्गम र विकटताको युगमा पुग्यौं’, अध्यक्ष कार्कीले भने ।

सडकको चारवर्षे कथा
दोलखामा २० को दशकदेखि पूर्वाधार निर्माणमा लगानी गर्दै आएको स्विस सरकारले ४० वर्षअघि बनाइदिएको हो लामोसाँघु–जिरी सडक । पर्यटन तथा जलस्रोतमा विकास साथै बढ्दो सवारी चाप हेरेर सडक विभागले दोहोरो लेन बनाउन पहिलो चरणमा चरिकोटसम्मको सडकलाई दुईवटा प्याकेजमा विभाजन गरेर काम थाल्यो । खाडीचौर–चरिकोट सडक भारतको एक्जिम बैंकको सहयोगमा दोहोरो लेन बनाउन प्रक्रिया सुरु भयो । सोही क्रममा विभागले टेन्डर गरेको थियो ।

सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडेसम्मको २५ किलोमिटर खण्डको पहिलो प्याकेजको ठेक्का सुनौला खिम्ती र गौरी पार्वतीले पाए । यो प्याकेजको ठेक्कामा भारतीय ठेकेदार कम्पनी सीमाञ्चलको ५० प्रतिशत सेयर थियो । बाँकी ५० प्रतिशत दुई नेपाली कम्पनीका । ३९ करोड लागतको यो ठेक्कामा व्यवस्थापनको जिम्मेवारी लियो सुनौला खिम्ती कम्पनीले । आयोजनाका अधिकारीका अनुसार दुई वर्षभित्र कालोपत्रे गरेर हस्तान्तरण गर्ने गरी ठेक्का पाएको कम्पनीले २०७२ कात्तिक ८ गते सम्झौता गरेको थियो ।दोस्रो प्याकेज मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर खण्ड भारतीय कम्पनी सकिल हैदरको ५० प्रतिशत र नेपाली कम्पनी शंकर माली र सुनौला खिम्तीको २५–२५ प्रतिशतका दरले ७० करोडमा ठेक्का सम्झौता भएको थियो । २०७२ चैतमा सम्झौता भएको यो प्याकेज पनि दुई वर्षभित्र सक्ने समयसीमा थियो ।

दुवै प्याकेजका ठेकेदार कम्पनीले पेस्की रकम लिएर धमाधम काम थाले । सडक फराकिलो पार्न पुरानो संरचना भत्काउन थालियो । सडकमा टेवा पर्खाल, नालालगायतका केही पूर्वाधार निर्माण भए ।पहिलो प्याकेजको अधिकारिक प्रतिनिधि सुनौला खिम्तीका सञ्चालक भीमसेन भण्डारी कर छली गरेको आरोपमा मुछिए । राजस्व विभागले उनको बैंक खाता रोक्का ग¥यो । त्यसपछि भण्डारीले गत भदौदेखि काम अलपत्र पारेर छाडिदिए । उनी गत जेठमा पक्राउ परेका छन् ।

त्यसपछि त्यो प्याकेजमा काम गर्ने जिम्मेवारी गौरी पार्वतीले लियो । यो कम्पनीको दुईवर्षे म्याद गत वर्ष कात्तिकमा सकिएपछि सडक विभागले भूकम्प र नाकाबन्दीको असर देखाउँदै पुनः ६ महिना म्याद थपिदियो । त्यसको म्यादसमेत गत वैशाखमा सकिएको छ । ठेकेदारले फेरि म्याद थपका लागि विभागमा निवेदन दिएका छन् । पहिलो प्याकेज निर्माणका लागि भन्दै ठेकेदारहरूले अहिलेसम्म २३ करोड ४० लाख रुपैयाँ लगिसकेका छन्।

७० करोड रुपैयाँ लागतको दोस्रो प्याकेजका ठेकेदारले पनि केही संरचना निर्माण गरी लामो समयसम्म सडक अलपत्र पारिदिए । यसमा पनि कर छलीको फन्दामा परेका भण्डारी साझेदार थिए । उनकै कारण खातापाता रोकिएकाले काम गर्न नसकिएको स्पष्टीकरण साझेदार शंकर मालीका प्रतिनिधिहरूले दिँदै आएका छन् । दुवै प्याकेजमा ठेकेदारले सडक भत्काएर अलपत्र पारेपछि गत जेठमा सिन्धुपाल्चोक प्रशासनले ठेकेदारहरूलाई नियन्त्रणमा लिएको थियो ।

‘ठेकेदारकै उदासीनताले ढिला भयो’
लामोसाँघु–जिरी सडक विस्तार आयोजना प्रमुख केदार नेपालले ठेकेदार कम्पनीकै उदासीनताले सडक निर्माणमा ढिलाइ भएको बताए । ‘ठेकेदारकै उदासीनताले यो स्थिति बनेको हो’, उनले नागरिकसँग भने, ‘अरू केही कारण हैन ।’ झन्झटिलो प्रक्रियाका कारण ठेकेदारलाई कामप्रति उत्तरदायी बनाएर लगाम लगाउन नसकिएको नेपालले स्विकार गरे । उनले सडकको दायाँबायाँ पर्खाल, नालालगायत निर्माण भइसकेकाले अब सडकमा ग्राभेल बिच्छ्याउने र कालोपत्रे गर्ने काम मात्र बाँकी रहेको जानकारी दिए । ‘मंसिरसम्म ग्राभेल बिच्छ्याउने र चैतभित्र कालोपत्रे गर्ने काम सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएका छन् ।’

प्रकाशित: १४ श्रावण २०७५ ००:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App