७ वैशाख २०८१ शुक्रबार
समाज

चुरे अतिक्रमणले अन्नभण्डार मरुभूमिकरणोन्मुख

चुरे डाँडामा विना अध्ययन केही वर्षअघि खनिएको सडक । तस्विर : टंक/नागरिक

सर्लाही - जिल्ला स्थित चुरे क्षेत्र निरन्तर दोहनको मारमा पर्दै आएको छ। जसका कारण मुलुककै अन्नभण्डार तराई क्षेत्र मरुभूमिकरणमा परिणत हुने खतरा बढ्दै गएको छ।

विकास निर्माण कार्यकालागि चाहिने ढुंगा, गिट्टी, बालुवाकालागि होस् वा दैनिक जिवन यापनका लागि आवश्यक पर्ने घाँस दाउरा अनि काठका लागि चुरे क्षेत्र नै मुख्य भरथेगको थलो बन्दै आएको छ। त्यस्तै चुरे पहाडमै रहेका बस्ती अनि छिमेकी सिन्धुलीका गाउँहरुमा जानका लागि खनिने अनियन्त्रित सडकका कारण चुरे क्षेत्र निरन्तर अतिक्रमणको शिकार बनिरहेको छ। 

चुरे क्षेत्रलाई दिने भन्दा पनि निरन्तर लिने काम मात्र भईरहेको जिल्ला भू–संरक्षण कार्यालय सर्लाहीका प्रमुख राजेन्द्रप्रसाद यादव बताउँछन्। ‘अत्यन्त कमजोर भू–बनोट रहेको चुरे क्षेत्रको संरक्षणमा जुट्ने भन्दा पनि दोहनका लागि मारामार भईरहेको छ’, उनले भने, ‘यसैगरी दोहन हुँदै जाने हो भने, चुरे त सिद्धिन्छ नै सँगसँगै उसले तराईलाई पनि उजाड बनाउँछ।’ चुरे क्षेत्रमा निरन्तर भईरहेको दोहनका कारण त्यहाँको माटो बगेर दक्षिण खोलाको सतह वर्षेनी २५ देखि ३० सेन्टिमिटर थपिँदै गएको तथा पानीका मुहान सुक्ने एवं सतह गहिरिदै गएको यादवले बताए।

‘चुरे बग्दै गएकाले दक्षिणमा नदीको सतह बढिरहेको छ जसले गर्दा गाउँ बस्ती अनि खेतियोग्य जमिनमा बाढीको खतरा बढ्दो छ’, यादवले भने, ‘वाटर लेभलको रिचार्ज गर्ने मुख्य चुरेको विनास बढेसँगै पानीका मुहानहरु सुक्दै जान थालेका छन्, यस्तै क्रम रहिरहने हो भने खानेपानीको समेत हाहाकार हुने दिन टाढा छैन।’

चुरे क्षेत्रमा हुने अनियन्त्रित प्राकृतिक स्रोतको दोहनका कारण बागमती, लखन्देही, झिम नदीले दक्षिणी क्षेत्रमा हरेक वर्ष सयौं विगाह जमिन कटान एवं गाउँ बस्ती डुबानमा पार्दै आएको छ।

हरेक पटक प्रमुख जिल्ला अधिकारी परिवर्तन हुने वितिकै केही समय खोलामा मेशिन एवं गाडी हाल्न रोक्ने र क्रसर व्यवसायी लगायत सम्बद्ध व्यवसायीहरुको प्रभावमा पर्ने वितिकै खुला गरिदिने प्रचलनका कारण चुरे क्षेत्र स्थित खोलामा अनियन्त्रित दोहन नै हुने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले असार १ गतेबाटै खोलाबाट ढुंगा, गिट्टी, बालुवा निकासीको काम बन्द गरिएको जानकारी दिए। ‘असार १ गतेबाटै खोलाबाट अनियन्त्रित ढुंगा, गिट्टी, बालुवा निकाल्ने काम बन्द गरिएको छ’, उनले भने, ‘अब जिल्ला स्थित सबै स्थानीय तहले ईआईए/आईई गरेर मापदण्ड बनाएपछि मात्र निकाल्न दिईनेछ।’

जिल्लाको कूल १ लाख २५ हजार ९०० हेक्टर क्षेत्रफल मध्ये चुरे क्षेत्रले २३ हजार ४९३ दशमलब ३ हेक्टर ओगटेको छ।समुद्री सतहबाट ६० देखि ६५९ मिटर उचाई सम्म रहेको चुरे क्षेत्र जिल्ला स्थित पूर्व बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३८ किलोमिटर हाराहारीमा फैलिएकाे छ। 

प्रकाशित: १३ श्रावण २०७५ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App