मुम्बई – बलिउड अभिनेत्री प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँगको सम्बन्धलाई लिएर फिल्म ‘भारत’बाट हात झिकेपछि निर्माण पक्षले उनलाई ‘अनप्रोफेसनल’को आरोप लगाएको छ । फिल्मका निर्माता निखिल नमितले प्रियंकाको व्यवहारले आफूलाई पीडा भएको बताएका हुन्।
‘सम्झौता भइसकेको काम प्रियंकाले विवाहको कारण देखाउँदै बीचैमा छोड्नु अनप्रोफेसनल काम हो । प्रियंकाले दुई दिन अघि मात्र इन्गेजमेन्टको कारण फिल्मबाट हात झिक्नुपर्ने बताएकी थिइन् । उनको यो आकस्मिक निर्णय अव्यवसायिक छ,’ निखिलले भनेका छन्।
प्रियंका र निक आगामी अक्टोबरमा वैवाहिक जीवनमा बाँधिदैछन् । अक्टोबरमा विवाह गर्नुपर्ने कारणले प्रियंकाले फिल्म ‘भारत’बाट लिएको साइनिङ एमाउण्ट पनि फिर्ता गरिदिएकी छन्।
निक र प्रियंकाले दुई महिनासम्म डेट गरेपछि प्रियंकाको ३६ औं जन्मदिनमा लण्डनमा इन्गेजमेन्ट गरेका थिए । प्रियंकाका लागि निकले न्यूर्योकको टिफनी स्टोरबाट औंठी खरिद गरेका थिए । प्रियंकाका विषयमा निकै गम्भीर निक इन्गेजमेन्टमा निकै खुसी मुद्रामा देखिएका थिए।
फिल्मका निर्देशक अली अब्बास जफरले ट्वीटरमार्फत प्रियंका ‘भारत’मा नरहेको जानकारी दिएका थिए । ‘प्रियंका अब भारतको हिस्सा रहिनन् । उनी आफ्नो जिन्दगीमा अगाडि बढिरहेकी छन् । त्यसकारण उनले यो फिल्म छोडिदिएकी छन् ।’ उनले ट्वीटेका छन् । केही समय अघि मात्र निर्देशक जफरले आफ्नो फिल्ममा प्रियंकालाई अभिनय गराउनु आफ्नो सपना पूरा भए जस्तै हुने बताएका थिए।
प्रियंकाले हात झिकेपछि निर्माण पक्षले कटरिना कैफ वा ज्याकुलिन फर्नान्डिजलाई लिने सोचमा छन् । प्रियंकाले अभिनय नगर्ने निश्चित भएपछि प्रियंकाका प्रशंसकले फिल्ममा दीपिका पादुकोणलाई लिन सुझाव दिइरहेका छन् । फिल्ममा दिशा पटानी सलमानको बहिनीको भूमिकामा देखिँदैछिन्।
प्रकाशित: १३ श्रावण २०७५ ०७:२८ आइतबार