काठमाडौं – आगामी साउन १५ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘मेरी मामु’को गीत ‘मलाई माफ गरिदेऊ आमा’ सार्वजनिक भएको छ । फिल्मका डेब्यु कलाकार आयुब सेनको अभिनय रहेको गीतमा एउटा ७ वर्षको अबोध बालकले आमा गुमाउँदाको पीडालाई समेटिएको छ।
रोहित जोन क्षेत्रीको स्वर रहेको गीतमा रवि मल्लको शब्द र कल्याण सिंहको संगीत छ । आशुसेन फिल्मस्को व्यानरमा निर्मित फिल्ममा यम थापाको लेखन तथा निर्देशन छ । गीतमा बाल कलाकार आयुबसँगै सारुक ताम्राकार र कुसुम गुरुङको अभिनय छ । फिल्ममा अश्लेषा ठकुरी, भुवन चन्दको पनि अभिनय छ।
गीत सार्वजनिक कार्यक्रममा निर्माता सन्तोषले आफूले बच्चाले प्रेम गर्ने किसिमको फिल्म नबनाउने बताए । ‘यो फिल्मका लागि छोरा आयुबलाई मैले ६ महिनाको बन्द प्रशिक्षण दिएँ । बाल मनोविज्ञानको फिल्म भएकाले त्यही अनुसार चरित्रमा पनि ढाल्न छोराले मेहनत गर्नुपर्याे ’ उनले भने।
निर्देशक थापाले फिल्म बाल मनोविज्ञानमा आधारित रहेकाले फिल्मका लागि अन्य कलाकारभन्दा आयुब नै उपयुक्त भएको दाबी गरे । कलाकार आयुबले फिल्ममा आफूले निकै मेहनत गरेकाले दर्शकले मनपराउने बताए । फिल्ममा पुरुषोत्तम प्रधान र मानकृष्ण महर्जनको छायांकन, बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ।
प्रकाशित: १३ श्रावण २०७५ ०७:२२ आइतबार