coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच आरोपी अझै फरार

इलाम – ‘बल्ने ढुंगा’ दिन्छु भन्दै पौने ३ करोड ठगी गरी आफैंलाई लुटाउने घटनाका ५ आरोपी अझै फरार छन्। गत मंसिर २५ मा भएको घटनाका १० आरोपी पक्राउ परेपनि फरार रहेकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घटनाका मुख्य योजनाकार भनिएका पाँचथरका ३२ वर्षे राजबहादुर तामाङ, भयप्रसाद विक, महेन्द्रकुमार दर्जी, रुद्र नेम्बाङ र योगेन्द्रप्रसाद आङ्देम्बेलाई प्रहरीले घटना भएकै बेला पक्राउ गरेको थियो। प्रहरीका अनुसार जिल्ला अदालतको आदेशमा पाँचैजना अहिले पुर्पक्षका लागि थुनामा छन्। 

घटना भएयता इलाम चमैताका सुरेन्द्र राई, झापाका मेखराज तामाङ, रामबहादुर श्रेष्ठ, पाँचथरका निश्चल शेर्पा र पाँचथरका पाल्देन तामाङलाई गत पुस ३० गतेअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनीहरूलाई अलग–अलग मितिमा प्रहरीले नियन्त्रणमा लिएको थियो। रामबहादुरलाई भने अदालतले गत फागुन ११ मा ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको प्रहरीले जनाएको छ। 

धनकुटा, झापा, पाँचथर र नवलपरासीका गरी ५ आरोपी भने अझै फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए। ‘यो घटना निकै गम्भीर भएकाले गहन ढंगले अनुसन्धान र खोजी गरिरहेका छौं,’ एसपी श्रेष्ठले भने। घटनाका बेला पक्राउ परेकाहरूको साथबाट प्रहरीले ३ थान पेस्तोल, ९० लाख १० हजार रुपैयाँ नगदलगायत बरामद गरेको थियो। 

इलाम सदरमुकामको तिल्केनीस्थित सडकमा गत मंसिर २५ गते राति १० बजेतिर ‘फिल्मी शैली’मा हतियारसहितका युवाले गाडी लुटेको सूचना जिल्ला प्रहरीमा आएपछि खोजी गर्दा ठगी र लुटको घटना बाहिर आएको थियो। आफूहरू लुटिएको भन्दै उजुरी गर्न आएका व्यवसायी र युवामाथि केरकार गर्दा ठगी गर्नेले आफैंमाथि लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानमा फेला परेको थियो।

प्रहरीका अनुसार माओवादीका पूर्वलडाकुसमेत रहेका राजबहादुरले आफूसँग रहेको ‘बल्ने ढुंगा’ अमेरिकामा बिक्री गर्दा मोटो रकम आउने लोभ देखाएर पाँचथरका व्यवसायीबाट नगद र जग्गासमेत आफ्नो हातमा पारेका थिए। व्यवसायीहरू राजेन्द्र रिजाल, तारा भट्टराई र डिल्ली ढुंगानाबाट नगद २ करोड ७५ लाख रुपैयाँसहित ६० लाख मूल्य पर्ने जमिनसमेत लिएका तामाङले बल्ने ‘ढुंगा लिन आउनू’ भन्दै ती व्यवसायीलाई इलामको तिल्केनी बोलाएका थिए।

तामाङले पूर्वयोजना अनुसार हतियारसहित तयार गरेका युवालाई पाँचथरबाट आएका व्यवसायी र आफूलाई समेत तिल्केनीको सडकमा लुट्न र कुटपिट गर्न लगाएका थिए। र, तामाङसँग रहेको ‘बल्ने ढुंगा’ भएको झोला हतियारसहितका युवाले ‘लुटेका’ थिए। 

तामाङ र व्यवसायीलाई उनीहरूसँग भएको अन्य सामानसमेत लुटेर कुटपिटसमेत गरेका थिए। प्रहरीका अनुसार आफूले रकम लिएका व्यवसायीकै अगाडि आफूलाई ‘बल्ने ढुंगा’सहित लुटाएर रकम पचाउने योजना राजबहादुरको थियो। घटनाबारे जिल्ला अदालतमा मुद्दा चलिरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित: १३ श्रावण २०७५ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App