८ वैशाख २०८१ शनिबार
कला

भिडियोमा लगानीः ‘बालुवामा पानी’

काठमाडौं - पाँच वर्ष अघि ‘डेब्यु’ एल्बम ‘आधार’ सार्वजनिक गर्दा गायिका आस्था राउतले एल्बमसँगै त्यसमा रहेको ‘झम्के बुलाकी’ गीतको भिडियो पनि बनाइन्। अढाई लाख रुपैंयाँ खर्च गरेर भिडियो बनाएकी आस्थाले त्यो लगानी अहिलेसम्म उठाउन सकेकी छैनन्। भिडियोले आस्थालाई गीतको प्रमोसनमा फाइदा त पुग्यो, तर भिडियो बनाउँदाको रकम भने उनले अहिलेसम्म पनि उठाउन सकेकी छैनन्।

‘गीतको भिडियो बनाउँदा जति उत्साहका साथ पैसा लगानी गरिन्छ। त्यो उत्साह अनुसारको लगानी उठाउन सकिँदैन,’आस्थाले अनुभव सुनाइन्,‘भिडियो निर्माण गर्दा मानसिक रुपमा भिडियोको लगानी उठ्दैन् भन्ने मनस्थिति बनाउँदा। भिडियोमा लगानी गर्नु बालुवामा पानी लगाए जस्तै हो।’

भिडियोबाट एकमुष्ट लगानी त उठ्न सक्दैन। लगानी उठाउनका लागि देश विदेशमा हुने स्टेज कार्यक्रम चाहिन्छ।

आस्थालाई पहिलो एल्बमका गीतको भिडियो बनाइदिन्छु भनेर प्रायोजन गर्ने प्रस्ताव नआएको पनि होइन्। ‘म आफै लगानी गरेर भिडियोमा पनि अभिनय गर्छु। म आफै भिडियो बनाइदिन्छु भनेर मलाई धेरै अफर पनि आए,’उनले भनिन्,‘मेरो गीत मेरो सन्तान हो। मेरो गीतको भिडियो अरुले बनाइदिन्छु भनेको मेरो सन्तान अरुले पालिदिन्छु भने जस्तै हो । जुनकुरा मेरा लागि स्वीकार्य छैन।’

आस्था दोस्रो एल्बम ‘आधार २’ ल्याउने तयारीमा छिन्। नाम चलेका गायकगायिकाले आफ्नै युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिरहँदा आस्था आफ्नै च्यानलबाट भिडियो सार्वजनिक गर्ने पक्षमा छैनन्। ‘मेरो युट्युब सब्सक्राइबर अत्यन्त कम छन्। अब तेस्रो एल्बमसम्म चाहीं राम्रो सब्सक्राइबर पुग्यो भने आफ्नैबाट भिडियो रिलिज गर्छु,’आस्थाले भनिन्। आस्थाका अनुसार उनका ‘चौबन्दी’ र ‘सालको पात’ गीत भिडियो नबनाई श्रोताले रुचाएका हुन्।

आस्था एक उदाहरण मात्र हुन्। पछिल्लो दशकयता संगीत क्षेत्रमा म्युजिक भिडियो निर्माणको क्रम ह्वात्तै बढेको छ। एल्बम होस् या सिंगल ट्रयाक होस्, भिडियो निर्माण अनिवार्य जस्तै बनेको छ। भिडियो निर्माणमा लगानीको अनुपातलाई नियाल्ने हो भने न्यूनतम एक लाखदेखि अधिकतम् पाँचदेखि सात लाख रुपैंयाँसम्म खर्च गरेको पाइन्छ। नेपाली सांगीतिक क्षेत्रमा विशेषत गायन र लेखनमा विदेशमा बस्ने नेपालीको उपस्थिति बाक्लो छ । विदेशमा कमाएको पैसालाई एल्बममार्फत संगीतमा लगानी गर्ने संख्या उल्लेख्य छ।

नेपाल र दुबई सरोबर आउजाउ गरिरहने झापाकी नवगायिका कविता शिवाकोटी र उनका भाई किरण बिमलीले महिनादिन अघि राजधानीमा ‘कविता’ र ‘किरण कविता’ नामका एल्बम सार्वजनिक गरे। कविताका अनुसार उनले एल्बममा रहेका गीतमध्ये दुई गीतको भिडियो बनाइन् । जसमा एउटा भिडियोमा आफै खर्च गरिन् भने अर्कोमा प्रायोजक पाइन्। ‘मैले भीमफेदी गाइजलाई लिएर एउटा भिडियोमा झण्डै डेढलाख हाराहारीमा खर्च गरें। मैले आफ्नै युट्युब खोलेकी छु। त्यसको सब्स्क्राइबर पनि राम्रो बढिरहेको छ,’उनले भनिन्,‘भिडियोबाट एकमुष्ट लगानी त उठ्न सक्दैन। लगानी उठाउनका लागि देश विदेशमा हुने स्टेज कार्यक्रम चाहिन्छ। लगानी उठेन भनेर आफू ब्याक सरेर गीत गाउन छोड्नु पनि भएन नि ।’कविता र किरणले दुवै एल्बम बजारमा ल्याउन झण्डै १२ लाख रुपैंयाँ खर्चिएका छन्।

झण्डै पाँच सयको हाराहारीमा म्यूजिक भिडियो निर्देशन गरिसकेका निर्देशक समन अधिकारी भिडियोको प्रमोसन नै गायकगायिकाका लागि लगानी उठाउने माध्यम ठान्छन्। ‘भिडियो बनेपछि केही गायकगायिकाले आफ्नै युट्युब च्यानलबाट गीत राख्छन् त केहीले धेरै सब्स्क्राइबर भएको युट्युब च्यानलमा उनीहरूले गीत राखिदिन आग्रह गर्छन,’उनले भने,‘राम्रो गीत र भिडियो बनेको छ भने उनीहरूको ध्यान भिडियोलाई प्रमोसन गरेर स्वदेशदेखि विदेशसम्मका कार्यक्रममा जाने हुन्छ। भिडियो भनेको विज्ञापन जस्तै हो। राम्रो भिडियो बनाएर मार्केटिङ गर्न सक्यो भने गायकगायिकालाई स्वदेशदेखि विदेशसम्म कार्यक्रममा भ्याइनभ्याइइ हुन्छ। जसकारण लगानी उठाउने वातावरण स्वतः निर्माण हुन्छ । ’ समन सामान्यतया न्यूनतम डेढ लाखदेखि अधिकतम चार लाखसम्मको भिडियो बनाउँछन्। उक्त रकम कलाकार, प्राविधिक, सम्पादनलगायतका काममा खर्च हुने उनको भनाइ छ।

एल्बम उत्पादन र बजारीकरणमा सक्रिय भाइब्स क्रिएसनका प्रबन्ध निर्देशक परशुराम रिजाल मिडियाको कारण पनि भिडियो निर्माणमा आकर्षण बढेको दाबी गर्छन्। ‘गीतको भिडियो बनायो भने मिडियामा चर्चा राम्रो पाइन्छ भन्ने सोच नयाँ गायक गायिकाको हुन्छ। त्यसकारण पनि भिडियो बनाउन उनीहरू कञ्जुस्याइँ गर्दैनन्। उनीहरु लगानी उठाउनेभन्दा पनि चर्चा कसरी पाउने भन्ने ध्याउन्नमा हुन्छन्,’रिजालले खुलाए,‘भिडियोमा स्रष्टाको लगानी उठाउन रोयल्टीको व्यवस्था हुनुपर्छ। त्यो चलन अहिले यहाँ छैन । रोयल्टीबाट स्रष्टा बाँच्ने दिन आयो भने मात्र भिडियोको लगानी उठाउने वातावरण बन्छ।’

विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीको बुझाइमा नयाँ गायकगायिकालाई भिडियोको लगानी उठाउन गाह्राे भए पनि नाम चलेका गायकगायिकालाई लगानी उठाउने चिन्ता छैन। ‘नाम चलेका सर्जकले भिडियोको लगानी उठेन भन्ने गुनासो गरेको अहिलेसम्म सुनेको छैन। एल्बम, भिडियो बनाएरै उहाँहरूले घर, गाडी जोड्नुभएको छ,’उनले भने, ‘पछिल्लो समयमा भिडियोमा आफै लगानी गरेर अभिनय गर्ने र भिडियो बनाउने चलन बढ्दो छ। नयाँ सर्जकलाई लगानी उठाउने चिन्ता भए पनि संगीतमा निरन्तरता दिने स्रष्टालाई भिडियोको लगानी कसरी उठाउँला भन्ने चिन्ता छैन।’

पछिल्लो समयमा संगीत रहर गर्नेको रहरले चलेको छ । चाहे त्यो गाउने मामलामा होस् वा म्युजिक भिडियो बनाउने सवालमा। यसरी रहर गर्नेको रहर त पूरा होला तर यही रहर गर्नेको भिडमा असली सर्जक भने पछि पर्दै गइरहेका छन्।

प्रकाशित: १३ श्रावण २०७५ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App