coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वेद विद्याश्रमका लागि कक्षा ११ को पाठ्यक्रम तयार

अान्तरिक परीक्षामा सहभागी वेद विद्याश्रमका विद्यार्थी। फाइल तस्बिर : नागरिक

काठमाडौं - तयारीबिना नै नेकृत विश्वविद्यालयले उत्तरमध्यमा तह यो वर्ष खारेजी गरेसँगै समस्यामा परेका ६ सय विद्यार्थीको पठनपाठन यही शैक्षिक सत्रमै सुरु गराउने सरकारी तयारी अघि बढेको छ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रिले सरकारले कुनै पनि विद्यार्थीलाई कक्षा ११ अध्ययन पढन्बाट वञ्चित नहुने गरी संस्कृत धारको कक्षा ११ को पाठ्यक्रम तयारी गरिसकेको जनाए। पाठ्यक्रम विकास केन्द्रले संस्कृत धारका विभिन्न विषयका विज्ञसहितको विषयगत समिति गठन गरी पाठ्यक्रम तयारी गरेको र अब साउनको अन्तिम सातासम्म कार्यान्वयनमा ल्याएर पठनपाठन सुरु गराउने ठोकुवा गरे । ‘उत्तरमध्यमा नेपाल संस्कृत विश्वविद्यालयबाट फेजआउट भएसँगै यो वर्ष वेद विद्याआश्रमबाट एसइई दिएका ६ सय विद्यार्थी कक्षा ११ कहाँ र कसरी पढ्नेबारे अन्योलमा थिए,’ पाठ्यक्रम विकास केन्द्रका निर्देशक काप्रिले नारिकसँग भने, ‘यो अन्योलता दूर गर्न पाठ्यक्रम विकास केन्द्रले केही एच्छिक विषयलाई थाति राखेर भए पनि साउनभित्र शिक्षा मन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठक बोलाएर पास गराउँछ।’ उनले थपे, ‘भदौदेखि नै कक्षा ११ को पठनपाठन सुरु हुने गरी तयारी भएको छ । कोही विद्यार्थी पढाइबाट वञ्चित हुनु हुँदैन।’ उनले अब गुरुकुलहरुले कक्षा ११ कहाँ चालउने हो, कसरी चलाउने हो, कहाँ दर्ता गराउने हो सोबारे तयारी अघि बढाउन निर्देशन दिएको समेत बताए ।

नेपाल वेद विद्याआश्रमका प्राचार्य एवं पाठ्यक्रम विकास केन्द्रका विषय विज्ञ केशव अधिकारीले देशभरिका ५० वेद विद्याश्रमबाट यस वर्ष एसइई दिएका ६ सय विद्यार्थीले कक्षा ११ पढ्न नपाउने भएपछि पाठ्यक्रम विकास केन्द्रले विभिन्न विषय समितिको बैठक डाकी संस्कृत विद्यार्थी केन्द्रित पाठ्यक्रम तयारीको काम तीव्रताका साथ गरेको बताए।

उनका अनुसार हालसम्म पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा अध्ययनका लागि नेपाली ३ क्रेडिट, अंग्रेजी वा संस्कृत रचना ४ क्रेडिट, संस्कृत भाषा र व्याकरण ५ क्रेडिट, शिल्प शिक्षा ५ क्रेडिट आवर कायम गरी विषय बनाइसकिएको छ। उनले शिल्प शिक्षामा पठनपाठन गराउनका लागि कर्मकाण्ड, फलित ज्योतिष, आयुर्वेद, प्राकृतिक चिकित्सा, फलित ज्योतिषमध्ये कर्मकाण्ड विषयको मात्र पाठ्यक्रम तयार गरिएको छ। अन्य विषयको गृहकार्य भइरहेको समेत उनले जनाए।

यसैगरी ऐच्छिक प्रथममा वेद, नव्य व्याकरण, ज्योतिष, न्याय, सर्वदर्शन, बौद्धदर्शन, साहित्य, इतिहास पुराण, नीतिशास्त्र, प्राच्य राजशास्त्र कायम गरेको छ। ५ क्रेडिट आवर कायम गरेको यो समुहका वेद, न्याय, व्याकरणको पाठ्यक्रम तयार भइसकेको छ।

संस्कृतका विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन नयाँ पाठ्यक्रमले आधुनिक विषय समेत समेटेको छ। ५ क्रेडिट आवरको विषयबस्तुमा हिन्दी, मैथली, जर्मन, जापानी, चिनियाँलगायतका विषय छन्। ‘वेद विद्याका विद्यार्थीलाई संस्कृत शिक्षाका साथै आधुनिक विषयमा समेत पहुँच पुर्याउनका लागि आधुनिक विषय समावेस गरिएको हो,’ विषय समिति सदस्य अधिकारीले नागरिकसँग भने, ‘पाठ्यक्रम पारित हुनासथ कक्षा ११ अध्यापन थाल्छौं।’ पाठ्यक्रम पारित हुनासाथ कक्षा ११ सुरु गर्ने क्षमता रहेको र यसका लागि सरकारले कक्षाकोठा र थप शिक्षक समेत दिनु नपर्ने दाबी उनले गरे।

नेपाल वेद विद्याश्रमका व्याकरण विषय शिक्षक नवराज घिमिरेले सरकारले साउनसम्म पाठ्यक्रम परित गर्नुपर्ने जोड दिए। ‘पाठ्यक्रम समयमै निर्माण नभएका कारण अभिभावकहरुले आप्mना सन्तानको खेर नजाओस् भनेर अन्य विषय भए पनि अध्ययन गर्न दबाब दिइरहेका छन्,’ शिक्षक घिमिरिले भने, ‘जुन संस्कृत विषयका विद्यार्थीको लागि सकारात्मक होइन।’ उनले थपे, ‘त्यही भएर पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम परित गरेलगत्तै वेद विद्याश्रमहरुलाई पठन पाठनबमे व्यवस्था मिलाउन समयमै निर्देशन दिनुपर्छ।’

प्रकाशित: १३ श्रावण २०७५ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App