रसुवा - रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेकी पोक्की तामाङ बुधबार राति खाना खाएर सुतिसकेकी थिइन्। घरधन्दा सकाएर ११ बजे सुतेकी पोक्की निदाएकी मात्र के थिइन्, एक्कासि गड्याङगुडुङको आवाजले ब्युँझिइन्।
बाहिर निस्किएर उनले घरभन्दा माथितिर हेरिन् । माथिबाट पहिरो आउँदै गरेको देखेपछि उनी सुतिरहेका दुई छोरी उठाउन गइन्। छोरी उठाउन जाँदा उनलाई माथिबाट खसेको ढुंगाले लाग्यो। उनी बेहोस भइन्। उनी होसमा आउँदा छोरीहरू रोइरहेका थिए। श्रीमान बेहोस भएर ढलिरहेका थिए। ‘होसमा आउँदा नजिकै श्रीमान बेहोस थिए। छोरीहरू सिस्नुघारीमा पुगेका थिए,’ उनले भनिन्, ‘वरीपरी घर थिएनन्।’ केही समयपछि सेना आएर घाइते उनीहरू दुवैलाई चिनियाँ क्याम्प पु-याए। पहिरोबाट बचेर दोस्रो जन्म पाएको पोक्कीले बताइन्।
टिमुरेका निमा दोर्जे तामाङ बुधबारको रात सम्झन पनि चाहँदैनन्। त्यो कहाली लाग्दो रातले उनलाई बेलाबेला झस्काइ रहन्छ। ‘हामी निदाएका थियौं । पहिले गड्याङगुडुङ आवाज आयो। आवाज सुनेपछि हामी आत्तियौं,’ तामाङले भने, ‘पहिरो आएको देखेपछि हामी भाग्यौ।’
खोल्साको माथिल्लो भागमा रहेको ढुंगाले पहिरोको दिशा परिवर्तन गराएकाले मात्र आफ्नो ज्यान बचेको उनले सुनाए। ‘पहिरो आएपछि भागदौड मच्चियो, रातको समयमा केही देखिएको थिएन। यसरी दौडिएछौं की पहिरो कसरी कट्यो थाहै भएन,’ उनले भने।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेका केशव श्रेष्ठ बजार घुमेर राति ११ बजे होटल पुगेका थिए । होटलमा पुगेर बिस्तारामा ढल्किए पनि उनी निदाएका थिएनन्। उनी निदाउन नपाउँदै माथिबाट पहिरोको आवाज आयो। पहिरो घरमा आइसकेको थियो। पहिरो आएपछि उनी झ्याल फोरेर भागे । तर उनी जता भागे उतैबाट पहिरो आइरहेको रहेछ। ‘बल्लबल्ल पहिरो छिचोलेर बारीमा पुगेछु,’ उनले भने। पहिरोले बस्ती नै पुरेपछि भाग्न सफल भएकाहरू केही पर रहेको भन्सार कार्यालयमा बस्न पुगे।
पानी पर्ने क्रम रातभरि रोकिएन। लगाएको एकसरो कपडाबाहेक उनीहरूका साथमा अरू केही थिएन। कहालीलाग्दो त्यो रात उनीहरूले निक्कै कष्टले बिताए। बुधबार राति गएको पहिरोले टिमुरेमा ९ जनाको ज्यान लियो। १२ जना घाइते छन्। पहिरोले सडकै बगाउँदा दुई दिन यातायातसमेत भयो।
समयमै सुरक्षाकर्मी आएका कारण मानवीय क्षति कम
पहिरो गएको केही समयमै सुरक्षाकर्मीको टाली घटनास्थल पुग्यो। प्रभावकारी समन्वय र सञ्चार माध्यमका कारण यो सम्भव भएको थियो। घटना भएको जानकारी पाएलगत्तै जिल्ला प्रशासन कार्यालयबाट सरोकारवाला निकायलाई एसएमएस तथा टेलिफोनमार्फत जानकारी गराइएको थियो। पहिरोको गएको जानकारी पाएपछि नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी तत्काल घटनास्थल पुगे। सुरक्षाकर्मी पुग्दा त्यहाँका मान्छे अत्तालिएर चिच्याइ रहेका थिए। पहिरोमा फसेका १२ जनाको राति नै उद्धार गर्न सुरक्षाकर्मी सफल भए।
‘पहिरोले प्रहरी चौकीसहित बस्ती पुरेको जानकारी पाएलगत्तै हामी घटनास्थल पुग्यौं,’ प्रहरी निरीक्षक दिलिप पौडेलले भने, ‘पहिरोमा पुरिएर चिच्याइरहेकाहरूलाई तत्काल उद्दार गरेर स्वास्थ्य संस्था लान सफल भयौं।’ घाइतेमध्ये केहीलाई स्वास्थ्य चौकी टिमुरे र केहीलाई टिमुरेस्थित चिनियाँ क्याम्प पु¥याएर प्राथमिक उपचार गरिएको थियो। ‘सात जना सामान्य उपचारपछि घर फर्किएका भए पनि गम्भीर घाइते भएकालाई भोलिपल्ट बिहान मात्र जिल्ला अस्पताल पठायौं,’ उनले थपे।
प्रभावकारी सञ्चारका कारण मानवीय क्षति कम गर्न सकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘विपत्का बेला प्रभावकारी सञ्चारको आवश्यकता पर्छ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘यसका लागि हामीले संयन्त्रलाई सक्रिय बनाएका छौं।’
टिमुरेमै पोस्टमार्टम
पहिरोमा पुरिएर ज्यान गएको नौ जनाको टिमुरेस्थित स्वास्थ्य चौकीमै पोस्टमार्टम् गरिएको थियो।
यसभन्दा अगाडि भएका घटनाहरूमा पोस्टमार्टमा लागि जिल्ला अस्पतालमा ल्याउने गरिएको भए पनि यसपटक शव पोस्टमार्टम् त्यहीं गरिएको हो। पीडित परिवारलाई सजिलो होस् भनेर त्यसो गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
मृतकका परिवारलाई आर्थिक सहयोग
पहिरोमा ज्यान गुमाएकाका परिवारलाई प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका नेताले आर्थिक सहयोग गरेका छन्। प्रतिनिधिसभा सदस्य मोहन आचार्यले व्यक्तिगत रूपमा सहयोग गरेका हुन्। पहिरोमा परी ज्यान गुमाएका थुमनका ४५ वर्षीय मिङमार गोम्बो तामाङ, टिमुरेका ४७ वर्षीय दोर्जेवाङजु घले र ३७ वर्षीया कार्साङ किमो घलेका परिवारलाई आचार्यले दुई लाख रुपैयाँ सहयोग गरेको कांग्रेस जिल्ला सभापति पेम्बाछिरिङ तामाङले जानकारी दिए।
नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको तर्फबाट पनि प्रतिमृतक १० हजार रुपैयाँ सहयोग गरिएको उनले बताए। पहिरोमा परेर रसुवाका तीन, सिन्धुपाल्चोकका चार र नुवाकोटका दुई जनाले ज्यान गुमाएका थिए।
पहिरोले स्थानीय टासीदेलेक होटल पूर्ण रूपमा क्षति भएको छ भने टिमुरे गाउँ प्रवेश गर्ने स्थलमा रहेको प्रहरी चेक पोस्टसहित पाँचवटा छाप्रो पुरेको छ।
स्थानीय तह र जिल्ला प्रशासनले राहत दिने
पहिरोपीडितलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले राहत दिने तयारी गरेका छन्। मृतकका परिवारलाई राहतस्वरूप तत्काल जनही एक लाख रुपैयाँ उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए। घरटहरा नोक्सानी भएकाहरूलाई तत्काल १० हजार र घर बनाउन ५० हजार रुपैयाँ उपलब्ध गराइने उनको भनाइ छ। गोसाइँकुण्ड गाउँपालिकाले मृतकका परिवारलाई ४० हजार रुपैयाँ राहत दिने अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए।
प्रकाशित: १३ श्रावण २०७५ ०४:०५ आइतबार