८ वैशाख २०८१ शनिबार
समाज

पहिरोले बगाएको सपना

फाइल फोटो : बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा साउन ५ गते गएको पहिरो।

पश्चिीमेली ब्युरो - खप्तड छान्ना–६, बझाङकी महेश्वरी थापा गाउँकी स्वास्थ्यकर्मी थिइन्। दुर्गमकी ‘डाक्टर’ उनले मृत्युको मुखमा पस्न लागेका धेरैको ज्यान बचाइन्। गर्भवतीदेखि सिकिस्त बिरामीसम्मका उपचारमा तल्लिन् रहिन्। उनको एउटै सपना थियो– दुर्गमका बासिन्दाको उपचार गर्ने । तर, उनको सपना लामो समय टिक्न सकेन। २८ वर्षमै उनको सपना पहिरोले बगायो। गोठनजिकै पहिरोले थिचेर मृत्यु भएपछि उनको सपना पनि पहिरोसँगै बगेर गएको हो। उनका दाइ जनक थापाले भने, ‘सानैदेखि गाउँलेको उपचारमा चासो देखाएकी बहिनीको सपना पूरा हुन सकेन।’

गाउँको एक मात्र ‘डाक्टर्नी’ गुमाउँनु पर्दा यतिबेला सिंगो गाउँ शोकमा डुबेको छ। सबै चिन्तित छन्। स्थानीय जयधने थापाले भने, ‘गाउँमा जतिबेला भन्यो उतिबेला आउँथिन् उनी, अब त्यस्तो डाक्टर्नी कहाँ पाउनु?’

बझाङमा पछिल्लो साता पहिरो खस्दा चार जना पैदल यात्रुको मृत्यु भयो। त्यस्तै घर पुरिँदा रोल्पामा तीन जना र दार्चुलामा एक जनाको ज्यान गयो। दुर्गम क्षेत्रका बासिन्दा सुरक्षित बास स्थान र बाटो नहुँदा अकालमा ज्यान गुमाउन बाध्य छन्।

बझाङ खप्तडछान्ना गाँउपालिका–६, बयानामा पहिरोमा परी एकै परिवारका तीनसहित चार जनाको मृत्यु भयो। बयानाकी उजलीदेवी थापा (४५), उनकी बुहारी महेश्वरी थापा (३२) र उनका छोरा कृष्ण थापा (६) को मृत्यु भयो। त्यस्तै छिमेकी मंगल थापाले (२०) सोही पहिरोमा ज्यान गुमाए । प्रहरीका अनुसार गाँउनजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा चौतारामा बसिरहेका र बाटामा हिँडिरहेका बेला उनीहरूको मृत्यु भएको थियो।

त्यस्तै साताअघि अविरल वर्षाका कारण आएको पहिरोमा परी रोल्पा सुनिलस्मृति गाउँपालिका–८, अरेसको फुल्ढारामा तीन जनाको मृत्यु भयो। घरभन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय चमेली पुन (१८), हुमे घर्ती (२८) र ओबी घर्ती (१२) को मृत्यु भएको हो। स्थानीय जीतबहादुर पुनका अनुसार गोठ गाउँभन्दा अलि टाढा रहेकाले घटनाका बारेमा ढिला मात्र थाहा भयो। यदि नजिकै गाउँ भएको भए उनीहरूको उद्धार हुन सक्ने उनले बताए । यो घटनासँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

त्यस्तै दार्चुलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। गत बुधबार बिहान घरमा सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। शैल्यशिखर नगरपालिका–९, का मानबहादुर विकको घर पहिरोले पुरिँदा सोही नगरपालिका–२, रौतेडाका नरेश ओड (२२) को मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोका बारेमा सचेत नहुँदा पनि कतिपयले ज्यान गुमाउने गरेको सरोकारवाला बताउँछन्।

यी बाहिर आएका घटना मात्र हुन्। कतिपय यस्ता घटना बाहिर आउँदैनन्। तर कतिपय यस्ता घटना बाहिर आउदैनन्। कमजोर धरातल, प्रावधिक सल्लाहबिना जथाभावी खनिएका सडक, नांगो डाँडामा वृक्षरोपण नहुनु पहिरो जानुका मुख्य कारण हुन्। ‘घर वरिपरि वृक्षरोपण गर्नु पर्छ,’ कर्णाली प्रदेश प्रहरी प्रमुख वीरबहादुर ओलीले भने, ‘अनि नांगा डाँडाहरूमा पनि वृक्षरोपण गर्नु पर्छ।’ यसो गर्दा पहिरोको जोखिम कम हुन सक्ने उनी बताउँछन्।

रोल्पा विपद् व्यवस्थापन समिति सदस्य तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुुसार रोल्पाका धेरै गाउँ पहिरोको जोखिममा छन्। पहिरो सम्भावित ठाउँमा हिँड्दा सचेत हुनुपर्ने उनको सुझाव छ। रातिको समयमा पहिरो जान सक्ने ठाउँमा नजाने, मदिरा पिएका व्यक्ति तथा बिरामी, बालबालिका र वृद्ध उमेरका मानिस त्यस्ता ठाउँमा एक्लै जान नहुने उनी सल्लाह दिन्छन्।

‘पहिरो कतिखेर आउँछ थाहा हुँदैन,’ उनले भने, ‘तर, त्यसबाट कसरी बच्न सकिन्छ, पहिला नै ख्याल गर्नु पर्छ।’ पहिरो आइसकेपछि उद्धार टोलीको त्यत्तिकै आवश्यक पर्ने उनले बताए। त्यस्तै पहाडमा पहिरोको जोखिम बढ्दै जाँदा तराईमा बाढीको चिन्ता छ। वर्षात्का बेला तराईका सयौं घर डुबानमा पर्छन् । बाढीकै कारण बाँकेमा ६ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अब सडकहरू वैज्ञानिक ढंगले खनिनु पर्ने रुकुमका विपद् व्यवस्थापनसम्बन्धी काम गर्दै आएका सुनिल शाह बताउँछन्। उनले भने ‘रूखविरुवा प्रशस्तै रोप्नु पर्छ।’

कर्णाली प्रदेशमा यो बर्खामा अहिलेसम्म सात जनाको ज्यान गइसकेको छ। पहिरोमा परेर सल्यानमा तीन, डोल्पामा तीन र ­दैलेखमा एक जनाको ज्यान गएको कर्णाली प्रदेश संघीय प्रहरीले जनाएको छ। त्यस्तै २७ जना घाइते भएका छन्। प्रहरीका अनुसार दैलेखमा तीन, जाजरकोटमा तीन, सल्यानमा १०, डोल्पामा एक, कालिकोटमा सात र सुर्खेतमा तीन जना घाइते भएका हुन्।

दाङमा ढिस्कोले पुरिएर एक र डुबानका एक गरी दुई जनाको ज्यान गएको छ। बर्दियामा अविरल वर्षाले नौ घरमा क्षति पुगेको छ। नवलपरासीमा मानवीय क्षति नभए पनि बाढीको डुबानले धेरै क्षति भएको छ। असार लागेयता ९५ घरमा क्षति पुगेको हो। गुल्मीमा पहिरोले चार जना घाइते भएका छन्। रुकुम पूर्वमा अविरल वर्षाले एक घरमा क्षति पुगेको छ।

प्रदेश ५ का १२ जिल्लामध्ये तराईका जिल्लामा बाढी, डुबान र नदी कटानले मानवीय तथा अन्य भौतिक संरचना क्षति हुने गरेको प्रदेश ५ का प्रहरी प्रमुख शेरबहादुर बस्नेत बताउँछन्। उनका अनुसार २०७४ साउनदेखि ०७५ साल असार मसान्तसम्म २० करोड ८१ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।

गणेश विक, नेपालगन्ज/विनोद परियार, रूपन्देही/ दिनेश सुवेदी, रोल्पा/जगत खड्का, बझाङ

प्रकाशित: १३ श्रावण २०७५ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App