८ वैशाख २०८१ शनिबार
अर्थ

वीरगन्जकाे नाकाबाट भित्रियो झन्डै ११ लाख टन फलाम

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आयातित फलाम।  तस्बिर : रितेश/नागरिक

वीरगन्ज - सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने वस्तुमा यो वर्ष पनि फलाम नै देखिएको छ। त्यस्तै वीरगन्ज भन्सार कार्यालयमा पनि राजस्वको मुख्य स्रोतका रुपमा फलाम नै देखिएको छ। 

यहाँका दुई नाका वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय भएर आर्थिक वर्ष ०७४/७५ मा १० लाख ७५ हजार ६ सय ८८ टन विभिन्न खाले फलाम भित्रिएको छ। यो भनेको २० टन बोक्ने ५३ हजार ७ सय ८४ वटा ठूला ट्रकमा अटाउने बराबर फलाम हो। 

समग्रमा वीरगन्ज नाका भएर आएको फलाम अघिल्लो आर्थिक वर्षको तुलनामा ११.१५ प्रतिशत बढी हो। पोहोर वीरगन्जको दुइटै नाकाबाट आयात भएको नौ लाख ६७ हजार सात सय १७.२६ टनभन्दा यो वर्ष एक लाख सात हजार नौ सय ७० टन बढी फलाम भित्रिएको हो। यी फलाम भने विभिन्न मोटाइका फलामे डन्डी (छड), ग्रिलका सामग्री, फलामे ट्रस, एंगल, चदरा, तार, जाली, पाइप जस्ता निर्माण सामग्री र ग्यास सिलिन्डर, ट्यांकी, ट्यांकर, बस ट्रकका बडीमा लाग्ने सामान लगायत बनाउन प्रयोग हुने गरेको छ।

फलामे निर्माण सामग्रीको खपत नेपालमा बढेको वीरगन्जस्थित दुई भन्सार कार्यालयको बाटो आयात भएको फलामको तथ्यांकबाट देखिन्छ। जानकारका अनुसार निर्माण सामग्री बनाउने फलाम भित्रिनु भनेको भौतिक पूर्वाधार निर्माणको काम बढ्नु हो। विभिन्न खाले औद्योगिक उत्पादनका लागि कच्चा पदार्थका रुपमा आयात गरिने विभिन्न स्वरुपका फलाम सुक्खा बन्दरगाह भन्सार कर्यालयको राजस्वको मुख्य स्रोत रहँदै आएको छ। सुक्खा बन्दरगाह भएर भित्रिने फलाम -याक नपाएर वीरगन्ज मूल नाका भएर आउँदा त्यहाँको फलाम आयात उच्च देखिएको छ। यता सुक्खा बन्दरगाहमा भने अपेक्षाअनुसार अझै बढी फलाम आउनुपर्ने भन्सार अधिकृत बताउँछन्। 

समग्रमा वीरगन्जका दुवै नाका भएर भित्रिएको फलाम ११.१५ प्रतिशतले बढी हुनुका साथै राजस्व दिनेमा सुक्खा बन्दरगाह भन्सारको लागि पहिलो र वीरगन्ज भन्सारका लागि प्रमुखमध्येको वस्तु बनेको छ।

‘राजस्व बढी दिने वस्तु फलाम नै हो। गत वर्षको तुलनामा फलामको आयात यहाँबाट कम नै भएको छ, तापनि फलामबाट असुल भएको राजस्व नै सबैभन्दा बढी रहेको छ,’ सुक्खा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईंले भने, ‘फलाम ढुवानीका लागि रेल्वेको -याक (मालबाहक रेल) उपलब्ध नहुँदा यहाँ आउने फलाम अर्को नाकातिर गएको हो।’ सुक्खा बन्दरगाहले फलामबाट अघिल्लो वर्षभन्दा एक अर्ब ३२ करोड ८० लाख ६० हजार रुपैयाँ बढी राजस्व असुल गरेको छ। यसपालि फलामबाट ६ अर्ब ८४ करोड ५५ लाख ९६ हजार रुपैयाँ राजस्व असुल गरेको सेढाईले बताए। यस कार्यालयले अघिल्लो वर्ष फलामबाट पाँच अर्ब १७ करोड ५३ लाख पाँच हजार रुपैयाँ राजस्व उठाएको थियो।

प्रकाशित: १३ श्रावण २०७५ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App