८ वैशाख २०८१ शनिबार
अर्थ

अनुसन्धानबिनाको निर्माणले १४ अर्ब लगानी जोखिममा

परीक्षणको क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर। फाइल तस्बिर : नागरिक

काठमाडौं - कुनै पनि आयोजना पर्याप्त अध्ययन–अनुसन्धान नगरी निर्माण गर्दा कस्तो नतिजा आउँछ भन्ने पछिल्लो उदाहरण बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजना बनेको छ। करिब १४ अर्ब ५० रुपैयाँ खर्च भइसकेको यो आयोजना सम्पन्न हुने मिति नजिकिँदै जाँदा उल्टै समस्या थपिएको छ। 

परीक्षणको क्रममा पानी पठाउँदा दुई–दुई पटक मूल नहर भत्किएपछि आयोजना सुरु गर्नुअघि पर्याप्त अध्ययन/अनुसन्धान नभएको निष्र्कष सम्बद्ध अधिकारीहरूले निकालेका छन्। कालिका कन्ट्रक्सनले निर्माण गरेको ४५ किलोमिटर लामो मूल नहरमा परीक्षणका लागि पानी छाडिएको केहीबेरमै भत्केको थियो। दुई वर्षअघि पनि नहर परीक्षणका क्रममा भत्किएको थियो। नहर पटक–पटक भत्केपछि यसमा भएको लगानी खेर जाने सम्भावना पनि बढेर गएको छ।

सिँचाइ विभागका महानिर्देशक सरोज पण्डितले त्यो आयोजना सुरु गर्नुपर्ने बेलामा मात्र नभई अझै पनि आफूहरुले सिक्दै काम गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताए। उनले सिक्टाको मूल नहरमा पर्ने केही माटो निकै घुलनशील भएकाले पानी थेग्न नसकेर भत्कने गरेको जानकारी दिए।

पण्डितले सिक्टा सिँचाइको ४५ किलोमिटर मूल नहरमध्ये ३५ किलोमिटर जंगल क्षेत्रमा पर्ने माटो घुलनशील भएकाले बलियो बनाउने प्रविधि आवश्यक रहेको बताए। नहरको माटो परीक्षण गर्ने प्रविधि अझै नेपालमा प्रयोगमा नआएको उनको भनाइ छ। 

सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कुनै पनि आयोजना निर्माण सुरु गर्नुभन्दा अगाडि सबै पक्षबारे पर्याप्त अध्ययन र अनुसन्धान हुन्छ र सिक्टामा पनि पर्याप्त अनुसन्धान गरिएको उनको दाबी छ। मूल नहर बनाउनुपर्ने जंगल क्षेत्रको माटो घुलनशील भएको र त्यसले समस्या ल्याउन सक्ने त्यसबेलामा नै पत्ता लागेको थियो  तर आयोजनाको लागत धेरै हुने भन्दै त्यसबेलाका अधिकारीहरुले जोखिम लिएरै आयोजना अगाडि बढाउन लगाएका हुन्।

‘नहरमा पानी पस्नेबित्तिकै समस्या आउन सक्ने सम्भावना त्यसबैला नै थाहा भएको हो,’ ती अधिकारीले शुक्रबार नागरिकसँग भने, ‘समस्या आए त्यसै बेला हेरौंला भन्दै आयोजना अगाडि बढाइयो।’ उनले जान्दाजान्दै आयोजना अगाडि बढाउन निर्देशन दिने तत्कालीन अधिकारीहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताए। 

‘सरकारले यो आयोजनामा अहिलेसम्म करिब १५ अर्ब रुपैयाँ लगानी गरिसकेको छ,’ ती अधिकारीले भने, ‘अन्तिम समयमा समस्या देखिएपछि यसको सबै जिम्मेवारी पहिलेका सबै उच्च पदस्थ अधिकारीहरुले लिनुपर्छ।’    

पटकपटक मूल नहर भत्कन थालेपछि पर्याप्त अध्ययन÷अनुसन्धान नगरी आयोजना निर्माण गर्न किन थालियो भनेर स्थानीयबासीले पनि प्रश्न गर्न थालेका छन्। ‘सिक्टाको मूल नहरको माटो अहिले कतैबाट आएको होइन,’ बाँके, महादेवपुरीका किसान भीमबहादुर ओलीले नागरिकलाई शनिबार फोनमा भने, ‘माटोले पानी थेग्न सक्दैनथ्यो भने सोही अनुसारको प्रविधि प्रयोग गरी काम सुरु गर्नुपथ्र्यो।’ उनले अहिले आएर आयोजनाले घुलनशील माटोका कारण नहर भत्केको जवाफ दिनु गैरजिम्मेवारी भएको बताए। 

राष्ट्रिय गौरवको यो आयोजनाको मूल नहर पटकपटक भत्किएपछि कामको गुणस्तर छानबिन गर्न पनि स्थानीयले माग गरेका छन्। सिँचाइका अधिकारीहरूले कामको छानबिन गर्नुको साटो माटोलाई दोष दिन थालेपछि कतिपयले आयोजना र ठेकेदार कम्पनीबीच मिलेमतोको प्रश्न पनि गर्न थालेका छन्। सिक्टाको पश्चिम (दायाँ) मूल नहर परीक्षण गर्ने क्रममा सोमबार राप्ती सोनारी– ८ र ९ ढकेरीमा पर्ने चंगाई खोलानजिक भत्किएको थियो। त्यसअघि २०७३ असार १४ मा पनि ढकेरीस्थित झिझरी खोलाछेउमा नहर परीक्षणकै क्रममा भत्किएको थियो। सरकारको उच्च प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना सम्पन्न नहुँदै पटक–पटक भत्किन थालेपछि स्थानीय स्तरबाट गुणस्तर छानबिन गर्नुपर्ने माग उठेको हो। 

स्थानीयले सिक्टाको मूल नहर भत्किनुको कारण घुलनशील माटो र कमसल निर्माण सामग्री प्रयोग भएकाले उच्चस्तरको विज्ञ टोलीमार्फत छानबिन गराउन माग गरेका छन्। स्थानीयले नहर निर्माण गर्ने क्रममै खराब माटो प्रयोग नगर्न ठेकेदार र आयोजना कार्यालयलाई आग्रह गरे पनि बेवास्ता गरिएको गुनासो गरेका छन्।   

आयोजनाका कर्मचारीले मूल नहरको १७.७ किलोमिटरदेखि ३५ किलोमिटर खण्डको बीचमा पर्ने उक्त खण्डमा घुलनशील माटो (डिसपर्सिभ सोयल) प्रयोग भएका कारण पटक–पटक भत्किने गरेको बताउने गरेका छन्। 

दुई वर्षअघि पनि मूल नहर भत्किएपछि सिक्टाको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठेको थियो। २०६३ सालबाट निर्माण सुरु भएको आयोजनाको ४५ किलोमिटर लामो पश्चिम (दायाँ) मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किलोमिटर पूर्वी (बायाँ) मूल नहरमार्फत राप्तीपारिको कुल नौ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने सरकारको लक्ष्य छ। पश्चिम मूल नहरको क्षमता ५० क्युमेक्स भए पनि सामान्य पानीले भत्काउने गरेको छ। 

हचुवाको भरमा आयोजना थाल्ने शैलीमा सुधार नहुँदा सिक्टा जस्तै तमाम आयोजनाको प्रगति सन्तोषजनक नरहेको विज्ञहरूको धारणा छ । दुई वर्षपछि सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजनामा अहिले आएर समस्या देखाउनु निर्माणको जिम्मा लिने ठेकेदार र आयोजनाका अधिकारीको गम्भीर लापरबाहीको परिणाम हो। 

प्रकाशित: १३ श्रावण २०७५ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App