८ वैशाख २०८१ शनिबार
समाज

गुरुयोजना अघि बढ्यो

काठमाडौं - स्वास्थ्य मन्त्रालयले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको सेवा भक्तपुरको बालकोटबाट विस्तार गर्ने परियोजना स्वीकृत गरेको छ। वीर अस्तपालको १२९औं स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भक्तपुरमा सेवा विस्तारसँगै वीर अस्पतालले अब सबै स्तरका सेवा प्रदान गर्ने जानकारी दिए। मन्त्री यादवले भने, ‘राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको विशाल परियोजना अघि बढाउने निर्णय भइसकेको छ। योसँगै वीर अस्पतालले आवश्यक सबै प्रकारका सेवा प्रदान गर्नेछ।’ मन्त्री यादवले स्तरीय सेवामार्फत वीरलाई नमुना अस्पतालका रूपमा स्थापित गर्न स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिए।

प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङले दुवाकोटमा वीर अस्पताल शाखा निर्माण गर्ने विस्तृत गुरुयोजना अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको बताए। ‘बिहीबारको मन्त्रिपरिषद् बैठकबाट चिकित्सा विज्ञान प्रतिष्ठानलाई मेडिकल युनिभर्सिटीका रूपमा विस्तार गर्ने निर्णय भइसकेको छ,’ गुरुङले भने। उनले भदौ १ गतेदेखि दुवाकोटमा मोबाइल क्लिनिक सञ्चालन गर्ने जानकारी दिए। ‘भदौ १ गतेदेखि वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी दुवाकोट पुगेर सेवा सुरु गर्नेछन्’, उनले भने।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले दुवाकोटमा वीर अस्पतालको सेवा विस्तार भएपछि उपचारका लागि विदेश जानेहरूलाई निरुत्साहित गर्न सकिने बताइन्। वीर अस्पतालमा हुने बिरामीको चाप व्यवस्थापन गर्न राजधानीका विभिन्न चार स्थानमा सेटलाइट मोडेल क्लिनिक खोल्ने योजना रहेको चौधरीले बताइन्। उनले संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तथा प्रदेश तहमा विस्तार गर्न सबैको ध्यान केन्द्रित हुनुपर्ने बताइन्।

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले अब अस्पतालबाट अन्य रोगका उपचार सेवासमेत सञ्चालन गरिने बताए। उनका अनुसार कर्मचारी आवास, नर्सिङ कलेज, न्याम्स कार्यालय, चिकित्सक आवास गृह निर्माणको गुरुयोजना बनिसकेको छ। उनले भने, ‘वीर अस्पतालको नाममा जग्गा दर्ता भइसकेको छ।’ उनले कतिपय कार्यक्रमका लागि सरकारले बजेट विनियोजन गरिसकेको जानकारी दिए। कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोमनाथ मिश्रले नगरवासी अस्पतालको सेवा विस्तारको प्रतीक्षामा रहेको भन्दै छिट्टै कार्यान्वयन गर्न आग्रह गरे।

आधुनिक उपकरण तथा सेवा विस्तार
अस्पतालले पछिल्लो अवधिमा गुणस्तरीय सेवा विस्तार गर्दै गएको जनाएको छ। काठमाडौं उपत्यकाको जनसंख्याअनुसार अस्पतालमा भौतिक संरचना पर्याप्त नभए पनि गुणस्तरीय सेवा प्रदान गरिरहेको अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले बताए। उनका अनुसार पछिल्लो समयमा ज्येष्ठ नागरिक बहिरंग सेवा, बहिरंग सेवामा आधुनिक डिजिटल टिकट काउन्टर, नगद काउन्टर निर्माण, नौ शड्ढयाको आइसियू निर्माण, आइसियूमै हेमोडाइलोसिस सेवा, चौबीसै घन्टा डिस्चार्ज सुविधासहितको नगद काउन्टर, अक्सिजन पलान्ट, एचआइभी संक्रमित र हेपाटाइटिसका बिरामीलाई हेमोडाइलोसिस सेवा विस्तार भएको छ। त्यसैगरी अस्पतालले बाथरोग र हेमाटोलोजीमा बहिरंग सेवा तथा श्वासप्रश्वास विशेषज्ञ सेवा विस्तार गरेको छ।

यसअघि कर्मचारी आवासगृह रहेको ११ रोपनी जग्गामा एक सय शड्ढयाको आधुनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भवन निर्माणका लागि सरकारले दुई अर्ब २६ करोड ३९ लाख २४ हजार चार सय रुपैयाँ विनियोजन गरेको थियो। अस्पताल हातामा सिसिटिभी क्यामेरा जडान र तीन वटा ए गे्रडको एम्बुलेन्स खरिद गरिएको छ।

अस्पतालले गत वर्ष एक अर्ब रुपैयाँ बराबरको विभिन्न विभागमा आधुनिक उपकरण खरिद गरेको छ। श्वासप्रश्वास उपचारका लागि पिएएपटी, डिएसिओ, इन्डोब्रोकिंल एक्सरे, क्यान्सर उपचारमा फाइब्रोस्क्यान मेसिन, अत्याधुनिक रेडियोथेरापी मेसिन, न्युरो सर्जरी र युरोसर्जरीका लागि एक सय २० वटा हाल्मोनियमलेजरलगायतका उपकरण खरिद गरेको अस्पतालले जनाएको छ।

अस्पतालमा सेवा लिने बिरामीको संख्या पनि बढेको छ। गत आर्थिक वर्षमा अस्पतालको आकस्मिक तथा बहिरंगबाट चार लाख एक हजार एक सय ५४ जनाले सेवा लिएका छन्। १२ हजार तीन सय ७३ जनाको भर्ना भएर उपचार गरिएको छ। ६ हजार दुई सय १२ जनाको ठूलो शल्यक्रिया भएको थियो।

अस्पतालका चुनौती
अस्पतालमा नेपाल सरकार र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानले नियुक्त गरेका भिन्नाभिन्नै कर्मचारी कार्यरत छन्। यसले गर्दा कर्मचारीहरुका बीचमा बेलाबेलामा मनमुटाव हुँदा सेवा प्रवाहमा चुनौती हुँदै आएको छ। बिरामीको चापअनुसार शड्ढया विस्तार हुन नसक्नु, नर्सिङ कर्मचारी आवश्यकभन्दा दोब्बर संख्यामा कमी रहनु, दुवाकोटमा सेवा विस्तारको गुरुयोजना कार्यान्वयन नहुनु, पुराना भइसकेका मेडिकल उपकरण प्रतिस्थापन हुन नसक्नुजस्ता समस्या छन्।

‘विशेषज्ञ चिकित्सक अस्पतालमै भेटिनुपर्छ’
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले वीर अस्पतालका वरिष्ठ चिकित्सकलाई बिरामीको सेवामा जुट्न निर्देशन दिएका छन्। स्थापना दिवस समारोहमा उनले भने, ‘यो अस्पताल आउने बिरामीले मसित विशेषज्ञ सेवा पाउन नसकेको गुनासो गरका छन्। सिनियर डाक्टरले समय दिएमा विपन्न जनताले वीरमा सबै खालका सेवा पाउँथे। डाक्टर साप्हरू वीर अस्प्तालमै भेटियून्।’ उनले अस्पतालका वरिष्ठ चिकित्सकहरु बिरामीको स्वास्थ्य उपचारमा नजुट्ने प्रवृत्तिले वीरमा आधुनिक सेवा भएर पनि विश्वास बढ्न नसकेको बताए। मन्त्री यादवले भने, ‘विशेषज्ञ डाक्टरको हात बिरामीको टाउकोमाथि राखेर विश्वास दिलाइयोस्।’ सबै चिकित्सक वीर अस्पतालमा सरुवा भएर आउन खोज्नुले दुर्गमका विपन्न बिरामी स्वास्थ्य सेवा पाउन वञ्चित रहेको बताए।

स्थापना दिवसका अवसरमा वीर अस्पतालले अस्पतालका पूर्वनिर्देशक डा. एस के भट्टाचार्यलाई अभिनन्दन गरेको छ। अस्पतालका दीर्घसेवी कर्मचारी पनि सम्मानित भएका छन्। समारोहमा मृर्गेन्द्रराज पाण्डे गुठीले अस्पतालका ग्यास्ट्रोलोजिस्ट अजितकुमार खनाललाई स्वर्ण पदक प्रदान गरेको छ।

प्रकाशित: १३ श्रावण २०७५ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App