coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसप्रति ओलीको आक्रोशः गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउँछन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रति आक्रोश पोखेका छन्। 
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियर संगठनको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई जनताले नै ठेगान लगाउने चेतावनी दिए। 

‘राजनीतिक रुपमा कार्यसूची सकिएपछि केही राजनीतिक शक्ति अनावश्यक बखेडा झिक्ने र सरकारलाई असफल बनाउन सकिन्छ कि भन्ने ध्याउन्नमा लागेका छन्’, कांग्रेसको नाम नलिई ओलीले भने, ‘गलत व्यवहार र प्रवृत्तिलाई जनताले नै ठेगान लगाउने छन्।’ 

सो अवसरमा प्रधानमन्त्री ओलीले गलत उद्देश्यबाट निर्देशित भएर पैसा देशमा भित्रन नदिइनेसमेत स्पष्ट पारे। ‘गलत उद्देश्यका साथ गलत बाटोबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन’ उनले भने ‘नेपाल भित्रिने पैसा बैंकमार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ।’ 

‘आर्थिक समृद्धिका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले आर्थिक समृद्धिका आधार तयार पार्ने लक्ष्य पूरा गर्न इन्जिनियरको भूमिका महत्वपूर्ण रहने बताए। सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर अभियान शुरु गरेकाले त्यसलाई आत्मसात् गरेर अगाडि बढ्न इन्जिनियरहरुलाई आग्रह गरे। 
राष्ट्र निर्माणको महाअभियान शुरु भएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकको अपेक्षा र मुलुकको चाहनालाई पूरा गर्न प्राविधिक जनशक्तिको अझ बढी योगदानको खाँचो रहेको उल्लेख गरे। 

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नहुने र गुणस्तरियतालाई पनि ख्याल गर्नुपर्ने बताए। देश अहिले विकासको महाअभियानमा भएकाले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ। सरकारलाई जनताले देश अघि बढाउने अधिकारसहितको अभिभारा सुम्पिएकाले त्यसबाट दाँयाबाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट गरे।

प्रकाशित: १२ श्रावण २०७५ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App