६ वैशाख २०८१ बिहीबार
अर्थ

अलैंची खेतिमा अाकर्षण बढ्दाे

बिक्रिका लागि तयार गरिएका अलैंची । तस्विर : मेघराज तामाङ/नागरिक

संखुवासभा - मूल्यमा गिरावट आएको भन्दै संखुवासभाका अलैंची कृषकहरुले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका २ मैयुमका सन्जय शेर्पा भने अलैंची खेतितर्फ आकर्षित भएका छन्। ४ बर्ष अगाडी परिक्षणको रुपमा धान खेति घटाएर अलैंची खेति तर्फ आकर्षित भएका शेर्पाले अलैंची लगाएको ३ बर्ष नबित्दै ७ मन अलैंची फलाए। प्रतिमन ४० हजारका दरले २ लाख ८० हजार आम्दानी भएपछि हौसिएका उनले यसपाली थप एक सय रोपनीमा अलैंची खेति लगाएका हुन्। 

हिमाली हिल एग्रिकल्चर फर्म प्रा.लि. दर्ता गरेर खेती सुरु गरेको ३ बर्ष नवित्दै उनलाई नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले सफल उद्यमी राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गरेपछि अहिले उनि निकै दंग परेका छन्। रोजगारीको सिलसिलामा विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पूँजीलाई स्वदेशमा उपयोग गर्दै उद्यमशिलताको विकास, उत्पादकत्वमा बृद्धि तथा आन्तरिक रोजगारीको अवसर सृजनामा योगदान पुर्‍याएको भन्दै पूर्व श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले उनलाई ५० हजार राशीको पुरस्कार तथा सम्मानपत्र समेत प्रदान गरेपछि अलैंची खेति प्रतिको मोह थप बढेर गएको शेर्पाको भनाई छ।

शेर्पाले २०० रोपनी खाली जग्गामध्ये १५० रोपनीमा अलैची खेती सुरु गरिसकेका छन्। अलैंची विकास केन्द्र इलामबाट प्रति बिरुवा १२ रुपैयाका दरले ५० हजार विरुवा लगाएका उनले स्थानीय मुहानबाट नै हालसम्म सिँचाइको व्यवस्था गरेका छन। 

शेर्पा जस्तै वर्षौ देखि धान खेती गर्दै आएका अर्को व्यक्ति हुन् संखुवासभा पाँचखपन नगरपालिका –१ का बलबहादुर राई। उनले विगत ६ वर्षदेखि अलैंची खेती गर्दै आइरहेका छन्। राईले २० मुरी धान उत्पादन हुने खेतमा चार वर्ष अघि अलैंचीको बिरुवा लगाएका थिए। हाल उनको २० मुरी धान उत्पादन हुने जग्गामा १५ मन अलैंची उत्पादन हुन्छ।
‘अहिलेको बजार मूल्य अनुसार १५ मन अलैंचीको ६ लाख पर्छ', उनले भने 'तर धान खेती गर्दा अनावश्यक दुःख र झन्झट हुनका साथै परिवार धान्न र बर्षदिन खान पनि धौधौ हुन्थ्यो।’ 

अहिले त्यहि अलैंचीको आम्दानीले उनको परिवारको आर्थिक स्थितिमा सुधार ल्याउनुका साथै पारिवारिक र सामाजिक प्रतिष्ठा समेत बढाएको राईको भनाई छ। अव आउने ३, ४ बर्षमा कुनै प्रकोप नदेखिने हो भने बार्षिक ५० लाखको हाराहारीमा आम्दानी लिने उनको लक्ष्य छ।   

कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका ३ हजार २ सय ५९ हेक्टर क्षेत्रफलमा अलैचीको खेती हुने गरेको छ। तर केही वर्ष देखि अलैंची खेतीमा कृषकहरुको आकर्षण बढे संगै यो तथ्याङ्क अझै बढ्न सक्ने जिल्ला कृषि प्रसार अधिकृत राम बहादुर ठाकुरको भनाई छ। अन्नबाली लगाउन नसकिने भिर पाखाबाट उब्जनी लिन सकिने,  भू–क्षय रोक्ने र राम्रो आम्दानी लिन सकिने भएकाले बिदेशीने सोच लिएका युवाहरु समेत अलैची खेती तर्फ आकर्षित हुन थालेका हुन्।

खेती विस्तारका लागि इलामबाट ल्याइएका बिरुवाहरु

प्रकाशित: १२ श्रावण २०७५ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App