७ वैशाख २०८१ शुक्रबार
खेल

नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान

काठमाडौं – मलेसियामा एक महिनापछि हुने एसिया कप २०१८ को छनोटमा नेपालले ओमानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुआत गर्ने भएको छ।

मलेसिया, हङ्कङ, नेपाल, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित प्रतियोगिता अगष्ट २९ देखी सेम्टेम्बर ६ सम्म हुनेछ ।  प्रतियोगिताको विजेता दुबई र अबुधावीमा सेप्टेम्बर १५ देखी २८ सम्म हुने एसिया कपका लागि छनोट हुनेछ । छनोट हुने राष्ट्रले एसिया कपमा आइसिसीका पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। मलेसियाबाट छनोट हुने एउटा टोलीले समूह ‘ए’मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

एसिसीले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दोस्रो खेल अगस्ट ३० मा युएईसँग किन्नारा ओभलमा खेल्नेछ भने तेस्रो खेल आयोजक मलेसियासँग सेप्टेम्बर १ मा बायुमास ओभलमा खेल्नेछ। चौथो खेल सेप्टेम्बर २ मा नेपालले सिंगापूरविरुद्ध युकेएम ओभलमा खेल्नेछ भने सोही मैदानमा पाँचौ खेल सेप्टेम्बर ४ मा हङकङविरुद्ध हुनेछ। राउन्ड रोबिन लिगमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा उपाधिसँगै एसिया कपको टिकटका लागि प्रतिस्पर्धा गर्नेछन्। 

नेपाली क्रिकेट टोली अहिले क्रिकोणीय ट्वान्टी–२० शृंखलाका लागि इङ्ल्यान्ड भ्रमणमा छ । लन्डनको लर्डस क्रिकेट मैदानमा हुने खेलमा नेपालले आइतबार एकै  दिन मेरलीबन क्रिकेट क्लब(एमसिसी) र नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि नेपाली टोली अगष्ट १ मा हुने पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि नेदरल्यान्ड्स जानेछ । त्यहाँ नेपालले नेदरल्यान्ड्ससँग अगस्ट १ र २ मा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले पहिलो पटक आधिकारिक रुपमा ५० ओभरको अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। 

मलेसियामा हुने छनोट प्रतियोगिताका लागि युरोपको भ्रमण नेपाललाई अभ्यासका रुपमा रहनेछ।

 

प्रकाशित: १२ श्रावण २०७५ ०५:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App