coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

भूमे दर्शन

मगरहरू भूमी (प्रकृति)को पूजा गर्छन् । उनीहरु असार पहिलो साता धुमधामसँग भूमे पर्व मनाउँछन् । फसल राम्रो लागोस्, सबै निरोगी होऊन, प्राकृतिक प्रकोप नपरोस् र समाजमा सद्भाव कायम होस् भनेर भूमे पर्व मनाइन्छ।   

रोल्पा–रूकुमका मगर समुदायको सबैभन्दा ठूलो चाड हो–भूमे । भेडा, कुखुरा र सुँगुरको बलि चढाएर बल पूजा गरिन्छ । त्यसपछि भूमे नाच शुभारम्भ हुन्छ । त्यस्तै भूमे पर्वमा रमाउने एउटा गाउँपालिका हो भूमे जुन पूर्वी रूकुममा पर्छ। 

साबिकको रूकुमलाई सरकारले ०७२ असोजमा रुकुम (पूर्व) र रुकुम (पश्चिम) जिल्लामा बाँडेको छ । रूकुम पूर्वको भूमे गाउँपालिकामा साविकका काँक्री, महत, चुनबाङ, मोराबाङ, काँडा र रुकुमकोट गाविस–४ को भुगोल समेटिएको छ। 

जनगणना ०६८ अनुसार भूमे गाउँपालिकाको संख्या १८ हजार ५८९ छ । त्यहाँका मगर समुदायको मातृभाषा मगर खाम हो । गाउँपालिकामा प्रकृतिपूजकको बाहुल्यता भएकाले यसको नाउँ ‘भूमे गाउँपालिका’ राखिएको । भूमे पर्व मनाउन गाउँपालिकामा स्थानीय सरकारले जेठ मसान्त र असार १ गते सार्वजनिक बिदा दिन्छ । 

गाउँलेहरू कृषि र पशुपालनमा निर्भर छन् । त्यसबाहेक वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स नै आम्दानीको मुख्य श्रोत हो । जडीबुटीको पनि राम्रो भण्डार हो भूमे ।

रूकुम (पूर्व)को भूमे गाउँपालिकाको प्राकृतिक सम्पदा, मगर संस्कृति र ग्रामीण जीवनशैलीले लोभ्याउँछ। त्यहाँ ‘युद्ध पर्यटन’ फस्टाउन सक्छ। जनमुक्ति सेनाको तालिमस्थल, बंकर, जनबादी स्कूल लगायत सम्पदा संरक्षण गरेर माओवादी जनयुद्धको इतिहास बुझ्ने थलोका रुपमा भूमेको विकास गर्न सकिन्छ। 

गाउँलेहरु फरासिला र मिहेनेती छन् । भूमेमा ग्रामीण जीवनशैलीको सुवास पाइन्छ । घरैपिच्छे जाँतो छन् । खोलाको पानीले घट्ट चल्छन् । अग्र्यानिक परिकार पाइन्छ । 

गाउँपालिकामा जननिर्वाचित प्रतिनिधि आएपछि यसलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरू गरिएको छ । भूमेलाई पर्यटकीय गाउँपालिका बनाउन सकिने आधार छन् । प्रशस्तै प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदा छन् ।  

 

राम्रो पूर्वाधार विकास गरेर मार्केटिङ गर्न सके पर्यटकीय चहलपहल गराउन सकिन्छ । केही गाउँमा खान÷बस्न सामान्य होटल छन् । कतिपय ठाउँमा होमस्टे पर्यटनको अभ्यास गर्न सकिन्छ । 

मध्य पहाडी भुगोल भएकाले हरिया डाँडापाखामा डुल्न पाइन्छ । उकाली ओरालीमा पसिना चुहाउँदै, कृषिकर्म गरेको हेर्दै हिँड्न सकिन्छ । वनजंगल, नदीनाला, झरना, चराचुरुङी र जंगली जनाबरको विविधता भेटिन्छ गाउँमा । भूमेबाट सिस्ने, पुथा र धौलागिरिको हिमालको दर्शन गर्न सकिन्छ। 

मारिङ, गुराँसे, तिलाचन दह, पाती हाल्ने डाँडा, गोन्टे झरना, सेपेको जंगल, तीन बहिनी लेक आदि आकर्षक सम्पदा हुन् । चुनबाङमा मैना सन्धी गुफा छ । गाउँमा सयु फूल टिप्ने लेक र सिद्ध थान छन् । तीन बहिनी लेक पनि धार्मिक सम्पदा हो । झुम्लाबाङ शिरानको तीर्थस्थल चम्बाङमा गुफा, कुटीको भग्नावशेष र यज्ञ कुण्ड छन्।  

सेराबाङ, काँडा र झुम्लाबाङ क्षेत्रमा तामाखानी छ । डोङडुङे खानी ०५१ सालसम्म चलेको गाउँलेहरु बताउँछन् । तिनताका गाउँको आरनमा गाग्री, ताउलो र अम्खोरा लगायत भाँडा बनाइन्थ्यो । पहिलेपहिले यहाँबाट तामा झिकेर भाँडावर्तन बनाइन्थ्यो । तामा खानी पनि पर्यटन प्रोडक्ट बन्न सक्छ।  

मगर समुदाय सांस्कृतिक रुपमा पनि सबल छ । गाउँ–गाउँमा झाँक्री, भूमे, डिग्रे, फाँक, ढँगे, तान्त्रिक नचारु लगायत नाच नाचिन्छ । घुमन्तेरुको आग्रहमा गाउँलेहरुले नाच देखाउँछन् । त्यसका लागि निश्चित रकम तिर्नु पर्छ। 

लुकुमले ‘झाँक्री गाउँ’को चिनारी बनाएको छ । त्यस भेकका ९० झाँक्रीमा ३० जना महिला छन् । मंसिर र साउन महिनामा झाँक्री मेला लाग्छ । झाँक्रीलाई पर्यटकीय प्रोडक्ट बनाउन सकिन्छ । अचेल फ्रान्स, जर्मन लगायत केही देशका पर्यटक झाँक्रीको अध्ययन गर्न रुचाउँछन् । झाँक्रीका मेला लक्षित गरेर पर्यटक तान्न सकिन्छ।   

भूमे जैविक विविधता र संस्कृतिको खुला संग्रहालय हो । क्राँक्री गाउँमा ०७० सालमा आदिवासी जनजाती संग्रहालय खोलिएको छ जहाँ मगर जीवनशैलीको झलक भेटिन्छ । त्यहाँ भाँडावर्तन, गहना लगायत सामान सजाइएको छ। 

भूमे गाउँपालिकाले जोड दिनु पर्ने अर्को विषय हो ‘युद्ध पर्यटन’ । जनयुद्धकै पहिलो महिला सहिद भूमे गाउँपालिका–७ गुनामकी धनमाया रोका श्रेष्ठ हुन्। उनी ०५२ चैत ५ गते राज्यपक्षबाट मारिएकी थिइन् । उनको नाउँमा पार्क बनाइएको छ। 

त्यहाँ जनयुद्धसँग जोडिएका थुप्रै ठाउँ छन् । भेरिडाँडा चुनबाङमा संग्रहालय छ । चुनबाङ बैठकबाट माओवादी शान्ति प्रक्रियामा आएको थियो । ०६२ असोज÷कात्तिकमा भएको बैठकले लोकतान्त्रिक कार्यदिशा तय गरेको थियो। 

भेरिडाँडाको बैठकस्थलमा जनयुद्ध संग्रहालय बन्दैछ । त्यतिबेला माओवादीका सुप्रिम कमाण्डर प्रचण्ड बसेको घर र बैठक घरमा धमाधम जनयुद्धका सामाग्री सजाउने काम भैरहेको छ।  

त्यसैगरी महतमा गौतम बुद्धको मूर्ति राखिएको छ । दश वर्ष लामो युद्धबाट पीडित जनता शान्ति मार्गबाटै समृद्धिको यात्रा तय गर्न चाहन्छन् । महतमा युद्ध स्मारक पनि छ । त्यसमा नेपाल प्रहरीका डिएसपी ठूले राईलाई माओवादीले कब्जामा लिएको दृश्य झल्काइएको छ । उनलाई ५ असोज ०५६ मा कब्जामा लिइएको थियो। 

जनयुद्धकाबेला महत गाउँका ५८ जना सहिद भएका थिए । त्यहाँ बस्ती माथि बंकर छ । तिनताका छापामारहरूले प्रतिरक्षाका लागि बंकर बनाएका थिए । यसलाई तालिम केन्द्रका रुपमा प्रयोग गरिएको थियो। 

महतजस्तै लुकुममा पनि माओवादीको तालिमस्थल थियो । अर्को गाउँ क्याङ्सीमा पनि छापामार तालिमस्थल छ । त्यहाँ जनवादी विद्यालय पनि चलाईएको थियो । क्याङसीमा स्थानान्तरण हुनुअघि यो विद्यालय अन्यत्र दुई ठाउँमा सारिएको थियो । शहिद, जनयुद्धका छापामार र घाइतेका सन्तानलाई पढाउन सुरुमा ०६१ फागुन १ गते प्वाङको छिपखोलामा खोलिएको थियो विद्यालय। 

त्यसलाई ०६२ सालमा क्याङसीमा सारियो । र, पछि सरकारी विद्यालयसँग २०६६ मा मर्ज गरियो । छापामारलाई पढाइएको भवनमा अचेल सरकारी विद्यालयका शिक्षक बस्छन् । त्यसको एउटा कोठामा त्यतिबेलाका पाठ्यपुस्तक र कम्प्युटर लगायत शैक्षिक सामाग्री छन् । त्यसलाई संग्रहालयका रुपमा विकास गर्न ढिलो नगरौं!     

भूमे गाउँपालिकामै पर्ने लाबाङ गाउँ पनि माओवादीकै कारण चर्चामा आएको हो ।  जनयुद्ध तयारी क्रममा लाबाङको गोहाङ, गुनामको खुङमा ०५०/०५१ सालमा सैन्य तालिम गरिएको थियो । र, माओवादीको अन्तरसंघर्षमा पोलिटव्यूरो बैठकले डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय लाबाङ बैठकले गरेको थियो । त्यही क्षेत्रको मारिङमा द्वन्द्वकालमा २३ रोपनी जमिनमा सामुहिक खेती गरिएको थियो।  

माओवादीको तालिमस्थल, बंकर, जनबादी स्कूल लगायत सम्पदा संरक्षण गरेर जनयुद्धको इतिहास बुझ्ने थलोका रुपमा भूमे गाउँपालिकाको विकास गर्न सकिन्छ।  

पछिल्लो समय विकास गरिएको ‘गुरिल्ला पदमार्ग’मा जोडिन्छ भूमे । मुलुकमा गणतन्त्र स्थापना भएपछि जनयुद्धको उद्गमथलोमा पर्यटन प्रवद्र्धन गर्न ‘गुरिल्ला पदमार्ग’ एक्सप्लोर गरिएको हो । रुकुम, रोल्पा, म्याग्दी र बाग्लुङलाई जोडेर बनाइएको मध्य पहाडी क्षेत्रको पदमार्ग विदेशी माझ स्थापित  छ।

चेञ्जिङ नेपालले गुरिल्ला पदमार्ग प्रवद्र्धन गरिरहेको छ । ‘गुरिल्ला पदमार्गमा माओवादी जनयुद्धका कथा÷व्यथा त सुनिन्छ नै । साथमा प्रकृति र संस्कृतिको मिठो संगम पनि भेटिन्छ’, पर्यटनविज्ञ शुरेन्द्र राना भन्छन्, ‘साथै हिजोका छापामारसँग भेटेर भलाकुसारी पनि गर्न सकिन्छ।’  

पदमार्गमा गुरिल्लाहरुले बनाएका बाटा, पुल, स्मारक, चौतारा, उनीहरु हिँडेका गोरेटा र बास बसेका घरसँग साक्षात्कार गर्न सकिन्छ। 

समग्रमा द्वन्द्वको प्रभाव र जनयुद्ध अध्ययन गर्न चाहनेका लागि गुरिल्ला पदमार्ग खुल्ला पाठशाला हो । द्वन्द प्रभावित स्थलहरुको सौन्दर्यलाई पर्यटकीय गन्तव्यका रुपमा व्यवस्थापन गरी स्थानीयको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गरी शान्ति र समृद्धि कायम गर्न गुरिल्ला पदमार्गले सघाउ पु-याउन सक्छ। 

अन्त्यमा, अब भूमे जस्ता गाउँपालिकाले शान्ति मार्गबाटै आर्थिक समृद्धिको भ-याङ चढ्न सक्छन् । त्यसमा पर्यटन भरपर्दो माध्यम बन्न सक्छ । त्यसैले गाउँपालिकाले राम्रो ब्राण्डिङ गरेर भूमेलाई पर्यटन बजारमा पस्कनै पर्छ। 

प्रकाशित: १२ श्रावण २०७५ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App