‘पाठेघरमा क्यान्सर फैलिसकेपछि मात्र उपचार गर्न आउँछन्’

शनिबार, १२ साउन २०७५, ०८ : १४ नागरिक

179


पुरुषको तुलनामा महिलाहरूलाई बढी प्रजनन् अंगका रोगहरू लाग्छन्। महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सर र अन्य स्त्री रोगहरू किन लाग्छन् र कसरी बच्ने? यस विषयमा राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालकी स्त्री रोग विशेषज्ञ प्राध्यापक डा. मधु श्रेष्ठसँग नागरिक दैनिककी पवित्रा सुनारले कुराकानी गरेकी छन्ः 

महिला प्रजनन्सम्बन्धी कस्ता रोगहरू बढी देखिन्छन्? 
यो अस्पतालमा प्रसूति सेवा भएकाले धेरै जसो प्रजननसँग सम्बन्धित बिरामी बढी आउँछन्। विशेष गरी गर्भवती भएपछि प्रसूति हुने अवस्थाका सामान्यदेखि जटिल रोगका बिरामी आउँछन्। अन्य रोगहरूमा पाठेघरबाट फोहोर पानी, दुर्गन्धित  पानी बग्ने, सेतो पानी बग्ने, रगत बग्ने, तल्लो पेट दुख्नेजस्ता समस्या लिएर आउँछन्। 

यो अस्पतालमा उपत्यका भित्रका मात्र बिरामी आउँछन् कि बाहिरबाट पनि आउँछन्? 
खासगरी उपत्यकाभित्र बस्ने, बाहिरबाट आएर राजधानीमा बसिरहेका आउँछन्। जटिल स्त्रीरोग भएमा उपत्यका बाहिरबाट पनि आउँछन्। यो अस्पतालमा कम शुःल्कमा उपचार हुने भएका कारण बिरामीको चाप बढी छ। ४० वर्ष मुनिका बढी प्रजनन् स्वास्थ्यका लागि आउँछन् भने त्यसभन्दा माथिका महिला स्त्रीरोग समस्या लिएर बढी आउँछन्

उनीहरूमा कस्ता–कस्ता स्त्री रोग देखिन्छन्? 
महिनावारी गडबडी भएका, महिनावारीभन्दा पहिल्यै रक्तश्राव हुने, महिनावारी लामो समयसम्म नरोकिने, कतिपय अलि–अलि मात्र रगत देखिनेजस्ता समस्या लिएर आउँछन्। 

प्रजनन् उमेरका समूहका महिलामा कस्ता समस्या छन्? 
प्रजनन् उमेरका समूहका महिलाहरूमा मुख्य गरी दुई किसिमका औषधिको गलत प्रयोगले स्वास्थ्य समस्या आएको देखिन्छ। पहिलो, इमरजेन्सी कन्ट्रासेफ्टिक(आकस्मिक गर्भनिरोधक) चक्कीलाई परिवार नियोजनको साधनकै रूपमा प्रयोग गर्ने।  दोस्रो, कुनै काम परेर महिनावारीको समय पर सार्नुप-यो भने ठीक समयमा ठीक मात्रा औषधि नखाने। 

यी दुवै औषधिले महिलाको हर्मोनमा गडबडी भई महिनावारी  प्रक्रियामा असर पु-याउँछ। कुनै पनि कामले महिनावारी पर सार्नका लागि खाइने औषधिहरू आफैमा हर्मोन हुन्। जुन औषधिहरू सकेसम्म नखानु राम्रो। खानै परे महिनावारीको दिनभन्दा पाँच दिन अघिदेखि नै ठीक समयमा दैनिक औषधि सेवन गर्नु पर्छ। समय र मात्रा नमिलेमा महिनवारी गडबडी भई रक्तश्राव हुन्छ। 

पाठेघरको क्यान्सर धेरैलाई हुने रोग हो। यसबाट बच्न २० वर्ष पछिका महिलाहरूले वर्षमा कम्तीमा एकपटक पाठेघर जाँच गर्नु उचित हुन्छ। यो जाँचले पाठेघरको क्यान्सर हुँदैछ कि छैन भन्ने थाहा पाउन सकिन्छ। महिलाले पाठेघर जाँच आफ्नो जीवनभर गरेमा नै क्यान्सरबाट बच्न सकिन्छ। 

यी दुवै औषधिले स्वास्थ्यमा जटिल समस्या ल्याउँछन्। यी औषधि राम्रोसँग र सही मात्रामा प्रयोग गरिएन भने रक्तश्राव भएर रक्तअल्पता पनि हुन सक्छ। महिनावारी भोलि बन्द गर्नु छ भने कम्तीमा पाँच दिन अघिदेखि नियमित खानुपर्छ। काम सकिएपछि मात्र छाड्ने हो। 

आकस्मिक परिवार नियोजनको चक्की (इमरजेन्सी कन्ट्रासेफ्टिक)  खाँदा कस्तो असर पर्छ? 
यो औषधि आफैमा हर्मोन भएकाले यसले महिनावारीमा गडबडी आउन सक्छ। दैनिक जीवनमा रक्तश्राव भइरह्यो भने समस्या पर्छ। पहिलादेखि नै रगतको कमी छ भने त झन् रगत बगिरह्यो भने स्वास्थ्यमा गम्भीर असर पुग्छ। अर्कोतिर यसले सय प्रतिशत गर्भाधान पनि रोक्दैन। 

कम उमेरमै मेनुपोज (महिनावारी सुक्ने) हुने समस्या पनि बढेको छ भनिन्छ? यथार्थ के हो?  
यो समस्या छ, तर बढी छ या कम छ भन्ने बारेमा खास जानकारी छैन। विशेषगरी ५० वर्ष पुगेपछि महिलामा यो समस्या देखिन्छ। अन्तिम महिनावारी भएको दिनदेखि एक वर्षसम्म महिनावारी रोकिने अवस्थालाई मेनुपोज भनिन्छ। मेनुपोज भएपछि पनि बीचमा रक्तश्राव भयो भने यसलाई खतराको संकेतका रूपमा हेर्नु पर्छ। यस्तो अवस्थामा हामीले पाठेघरको मासु निकालेर परीक्षण गर्छौं । शरीरमा स्ट्रोजेन भन्ने फिमेल हर्मोन हुन्छ। यो हर्मोन सकिएपछि विभिन्न लक्षण देखिन्छन्। मेनुपोज भएको पाँच÷सात वर्षदेखि ढाड दुख्ने, अनुहार चाउरी पर्ने, जीउ दुख्ने, पोल्नेजस्ता समस्या आउँछन्। कम उमेरमै पाठेघर निकालेको अवस्थामा भने ४० वर्षअघि नै उसमा लक्षण देखिन्छ। कतिपयमा ४० वर्षपछि नै मेनुपोज सुरु भएको देखिन्छ। 

मेनुपोज हुनुको कारण ?
शरीरमा स्ट्रोजन  भन्ने हर्मोन हुन्छ। यो प्राकृतिक या अन्य कारणले घट्दै जान्छ । यसको कमीले मेनुपोज हुन्छ। पाठेघरमा  ठूलो मासु पलाएमा, पाठेघरबाट अन्डा निकालेको अवस्थामा ४० वर्षअघि नै लक्षण देखिन्छ। ४० वर्ष पछिको मेनुपोजलाई सामान्य मानिन्छ। ४० भन्दाअघि नै भयो भने अर्ली (छिटो/असामान्य) मनेुपोज भनिन्छ। 

अन्य जटिल स्त्री रोगहरू के–के हुन्? 
पाठेघरको मुखको क्यान्सर, पाठेघरको डिम्बाशयको क्यान्सर हुन्। पाठेघरको मुखको क्यान्सर बढेको या घटेको भन्ने बारेमा अध्ययन भएको छैन। यो केन्द्रीय अस्पताल भएकाले जटिल स्त्री रोगका बिरामीहरू यहीं आउँछन्। यस्ता बिरामी कुल बिरामीको कम्तीमा एक प्रतिशत छन्। अस्पतालमा दैनिक सात सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन्। उनीहरू यति ढिला आइपुगेका हुन्छन् कि पाठेघरको मुखको क्यान्सर तेस्रो या चौथो चरणमा पुगेपछि मात्र आउँछन्।  

यसरी ढिला गरी उपचारमा आउने कुन उमेर समूहका बिरामी पर्छन्? 
उनीहरु  प्रजनन् उमेर समूहकै हुन्छन्। पाठेघरको मुखको क्यान्सर  प्रजनन् उमेरमै हुन्छ। उनीहरू औसत ३० वर्ष माथिका हुन्छन्। तर पाठेघरमै मासु पलाउने समूह चाहिं ५० वर्ष माथिका मात्र हुन्छन्।  

उनीहरू किन उपचारमा ढिला आइपुग्छन्? 
पहिलो त रोगप्रति सचेतनाको कमी। यो समूहका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने नै थाहा छैन। उनीहरूमा अलि–अलि रक्तश्राव भइहाल्छ, यो ठूलो समस्या हैन भन्ने सोंच देखिन्छ । जब यसले जटिल रूप लिन्छ तब मात्र उपचारका लागि आउँछन्। 

जस्तो, तल्लो पेट दुखेपछि, पाठेघरबाट अति नै दुर्गन्धित पानी बग्न थालेपछि। यति गन्ध आउने पानी बग्छ कि नजिक बस्ने अरूलाई समेत थाहा हुन्छ। यसबाहेक लामो समयसम्म पाठघेरबाट रगत बगिरह्यो भने मात्र अस्पताल आउँछन्। रक्तश्राव भएर रक्तअल्पता नै भएपछि उपचारमा आउने पनि छन्।  

धेरैजसोलाई पाठेघरको क्यान्सर बारेमा जानकारी पनि छैन र कतिलाई यो परीक्षण सेवा नपुगेको पनि देखिन्छ। बाहिरी जिल्लाबाट आएर राजधानीमा बसेका, उपचारका लागि आर्थिक स्थिति राम्रो नभएकाहरू पाठेघरको क्यान्सर जटिल बनिसकेपछि मात्र आउने गरेको देखिन्छ। 

पाठघेरको डिम्बाशयमा कसरी क्यान्सर हुन्छ? 
यसको एउटा मात्र कारण छैन। जोखिमको मुख्य कारण, वंशाणुगत हो। परिवारमा आमालाई छ भने छोरीलाई हुने सम्भावना हुन्छ। दिदीलाई छ भने बहिनीलाई हुने सम्भावना हुन्छ। तर डिम्बाशयमा मासु पलाउँदैमा क्यान्सर नहुन पनि सक्छ। मासुको जाँच गरेपछि मात्र क्यान्सर भए/नभएको थाहा हुन्छ। 

डिम्बाशयको क्यान्सर हुँदैछ भन्ने बेलैमा कसरी थाहा पाउने? 
डिम्बाशयको क्यान्सर सुरुकै अवस्थामा पत्ता लगाउने कुनै त्यस्ता परीक्षण छैन। तर हामी के भन्छौं भने परिवारमा डिम्बाशयको क्यान्सर भएका कुनै पनि परिवारका सदस्यले एक या दुई वर्षमा कम्तमिा एकपटक पाठेघरको भिडियो एक्सरे गरेर हेर्नु पर्छ।  

पाठेघरको मुखको क्यान्सर लाग्दैछ भन्ने कसरी थाहा पाउने? 
यसका लागि हामीकहाँ मुख्य दुईवटा परीक्षण प्रचलनमा छन्। एउटा, प्याप स्मेयर (पाठेघरको पानी जाँच) र अर्काे, भिआइए टेस्ट( पाठेघरको मुखकै जाँच)। प्याप स्मेयर सबैको पहुँचमा छैन। तर भिआइए टेस्ट सस्तो भएकाले सबैको पहुँचमा छ। यसको जाँचबाट पनि थाहा पाउन सकिन्छ। 

पाठेघरको मुखको क्यान्सरको जोखिममा को–को हुन्छन्? 
एचआइभी एड्स भएकाहरू, सानै उमेरमा विवाह गरेकाहरू, धेरै जना यौनसाथी भएकाहरू, धेरै जनासँग यौन सम्पर्क गर्ने पति भएकाहरू, पतिको पूर्वपत्नी पाठेघर क्यान्सरका कारण मृत्यु भएको छ भने त्यस्ता महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको संभावना हुन्छ । जुन ह्युमन प्यापिलोमा भाइरस संक्रमणको कारणले हुन्छ। 

डिम्बाशयको क्यान्सरको जोखिममा को–को हुन्छन्? 
ठूलो आकारको  ट्युमर अण्डाशयमा पलाएमा, किशोरी पनि पर्छन्। मुख्यगरी त प्रजनन् उमेर समूहका महिला पर्छन्। यो अंगमा सानोतिनो ट्युमर पलाइराख्छ। ठूलो ट्युमर पलाएमा भने शल्यक्रिया गरेर निकाल्नु पर्छ। ट्युमर हुँदैमा क्यान्सर नभएको पनि हुन सक्छ। यो महिनावारी नभएका किशोरीमा पनि हुन सक्छ। किशोर अवस्थादेखि जीवनभर यसको जोखिममा हुन्छन्। कुनै पनि आमाको डिम्बाशय क्यान्सरबाट मृत्यु भएको छ भने छोरी पनि जोखिममा हुन्छिन्।  

पाठेघरसम्बन्धी रोगबाट बच्न के गर्ने? 
पाठेघरको क्यान्सर धेरैलाई हुने रोग हो । यसबाट बच्न २० वर्ष पछिका महिलाहरूले वर्षमा कम्तीमा एकपटक पाठेघर जाँच गर्नु उचित हुन्छ। यो जाँचले पाठेघरको क्यान्सर हुँदैछ कि छैन भन्ने थाहा पाउन सकिन्छ। महिलाले पाठेघर जाँच आफ्नो जीवनभर गरेमा नै क्यान्सरबाट बच्न सकिन्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

प्रियंकाभन्दा ११ वर्ष कान्छा निक, मुम्बईमा इन्गेजमेन्ट

अन्ततः बलिउड अभिनेती प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले आफ्नो प्रेम सम्बन्धलाई औपचारिक रुपमा सार्वजनिक गरेका छन्। मुम्बईस्थित प्रियंकाको...

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

कमेडी र एक्सनलभस्टोरीको वर्चस्व

सातामा दुईदेखि तीनवटा फिल्म रिलिजको निरन्तरता चलिरहँदा शुक्रबारबाट चार फिल्म ‘ब्ल्याक’, ‘जय शम्भु’, ‘मिष्टर भर्जिन’ र ‘बाह्रमासे’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

ट्रेलरमा ‘मेरी मामु’

ट्रेलरमा ‘मेरी मामु’

आमा र बच्चाको सम्बन्ध प्रस्तुत गरिएको फिल्म ‘मेरी मामु’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरको जावलाखेलस्थित डिएभी स्कुलमा बिहीबार विद्यार्थीमाझ...

फेसन नाइटका लागि १४ मोडल

फेसन नाइटका लागि १४ मोडल

आउँदो भदौ २३ मा आयोजना हुन लागेको ‘इबिजा फेसन नाइट’का लागि १४ मोडल छनोट भएका छन्। ...