७ वैशाख २०८१ शुक्रबार
समाज

रसुवागढी नाकामा ५ टनभन्दा बढी क्षमताका सवारी सञ्चालनमा रोक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी। तस्बिर : हिमनाथ/नागरिक

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा ठुला सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। 

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलामा बाढीले पुलमा क्षति पु-याएपछि पाँच टन भन्दा बढी क्षमता भएका सवारी सञ्चालनमा रोक लगाइएको हो। मालबाहक सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम उच्च हुने भएकाले शुक्रबारदेखि सवारी सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। 

बुधबार राति गएको पहिरोको कारण बिहीबार र शुक्रबार दिउँसोसम्म साना ठुला सवारी सञ्चालन हुन सकेको थिएन्। सामग्री आयातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ पुगेका सवारी रसुवागढी नाका पारी नै रोकिएका छन्। 

केरुङ जाने तयारीमा रहेका सवारी साधन भने जिल्लाको धुन्चे र स्याफ्रुमा रोकिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। ‘ठुला सवारी साधन सञ्चालन गर्दा पुल भत्किने सम्भावना उच्च रहन्छ’, प्रजिअ पौडेलले भने, यसले जुनसुकै बेलामा पनि सवारी दुर्घटना हुनसक्छ।’ 

पुलको अवस्थाको बारेमा जानकारी लिनका लागि डिभिजन सडक कार्यालयबाट इन्जिनियर खटाइएको छ। शुक्रबार गएको प्राविधिक टोली पुलको अवस्था हेरेर फर्किएको छ। उक्त पुल चिनियाँ टोलीले निर्माण गरेका थिए।

पुलको अवस्थाको बारेमा वृस्तित जानकारी लिनका लागि शनिबार दिउँसो इन्जिनियरको टोली घट्ट्खोला जाने डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए। पानीले करिब तीन मिटर जति पुलको जग खोलिसकेको छ। विभागबाट विशेष टोली ल्याएर पुलको मर्मत वा पुनर्निर्माण गरिने शाक्यले बताए। 

भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ। 

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेण्डल, रबर, प्लाष्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपीएस, प्लाष्टिकका सामग्रीहरू आयात हुने गरेको छ। 

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, श्रृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रीम लगायतका मुख्य बस्तुहरु निकासी भइरहेको छ। 

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १२ श्रावण २०७५ ०२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App