७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

जनशक्ति र भौतिक संरचनाको अभाव खेप्दै जिल्ला अस्पताल

जिल्ला अस्पतालको ईमरजेन्सी कक्ष, जहाँ ४ वटा मात्र शैया रहेका छन।

रोल्पा - जिल्ला अस्पताल रोल्पामा जनशक्तिसँगै भौतिक पूर्वाधारको समेत अभाव हुँदा समेत सम्बन्धित पक्षको ध्यान जान सकेको छैन। वर्तमान सभामुख कृष्णबहादुर महराको घर नजिकै रहेको उक्त अस्पतालमा शैया लगाएत आवश्यक जनशक्तिको समेत अभाव हुँदा उपचार सेवा प्रभावित भएको छ। 

१५ शैयाको यो अस्पतालमा ईमरजेन्सीका विमारीलाई समेत शैया अभावमा भुईमा सुताउनु पर्ने अवस्था आउन थालेको जिल्ला अस्पतालका चिकित्सक डा. अनिल केसीले बताए। ‘हाम्रोमा बेड संख्या र ठाउ भन्दा पनि म्यानपावर समेत प्रयाप्त छैन । ’ डा. केसीले भने ‘जति बेड भए पनि धान्न सक्ने जनशक्ति नै छैन । त्यसैले भौतिक संरचना संगै जनशक्ति पनि थप्नु पर्छ।’

नियममा जति बेडको अस्पताल छ त्यसको १० प्रतिशत ईमरजेन्सीमा शैया हुनुपर्छ । ‘अब उताको नयाँ भवनमा ईमरजेन्सी सार्ने बिचारमा छौ । बेड पनि थपिन्छ तर स्वास्थ्यकर्मीको दरबन्दी प्रयाप्त छैन । एकै पटक धेरै बिरामि आए सकस पर्छ ।’ जिल्ला अस्पताल प्रमुख डा. सुशिल आचार्यले भने ‘नयाँ भवन बन्दै छ, ५० शैयाको अस्पताल स्वीकृत भयो भने दरबन्दी पनि थपिन्छ अनि अलि सहज हुन्छ।’

ईमरजेन्सी कक्षमा शैया अभावमा सकस भए जस्तै बिरामि भर्ना कक्षमा पनि असहज छ । उता अस्पतालले प्रसूतिका लागि थप ५ बेडको जोहो गरेको छ । ‘कहिले काहि गल्लीमा लो बेड राखेर बिरामि सुताउछौ । चाप धेरै हुँदा भुईमा कपडा ओच्छाएर राख्नु पर्छ ।’ अस्पतलाकी नर्स माया बुढाले बताईन । ‘कस्तो आपत पर्छ । बेड नै पुग्दैन । कहिले त अन्य बिरामि राख्ने बेडमा सुत्केरी लगेर राख्नु पर्छ ।’

शान्ति स्थापना पछिको यो लामो समयमा रोल्पा प्राय सधै सत्तामा रहयो। अस्पतालको समस्याका बारेमा सबै सरकारलार्इ स्थानियले सुधारका लागि माग गरिरहे। 'पटक पटक जिल्ला आउँदा सभामुख र मन्त्रीहरु अस्पताल तिर त्यति आएनन् । अस्पताल बनाउनु पर्छ भन्ने नेताहरुमा भाबना नै देखिदैन'  अधिबक्ता माधब प्रशाद आचार्यले भने 'जनताले त माग गरिरहेकै हो, प्रधानमन्त्री हुँदा प्रचण्डले त झन सय शैयाको अस्पताल बनाईदिन्छु भनेर टुडिखेलमै घोषणा गर्नु भएको हो ।’ अब स्थानिय सरकारले नै अस्पताल सुधारमा ध्यान दिनु पर्ने आचार्यकाे भनार्इ छ । 

 

प्रकाशित: ११ श्रावण २०७५ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App