काठमाण्डाैं - दोलखाको भीमेश्वर नगरपालिका ९ खरिढुङ्गा स्थित डाङडुङगे डाँडामा निर्माण हुन लागेको चलचित्र नगरी अन्यत्र सार्ने अभिव्यक्ती दिदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखामा उक्त परियोजना बनाउन नसकिने धारणा पुन: दोहोर्याए छन्।
सरकारलेनै दोलखामा चलचित्र नगरी बनाउन बजेट छुट्याएर पूर्वाधार निर्माणको काम गरिरहेका बेला प्रधानमन्त्री ओलीले दोलखा छाडेर उक्त परियोजना अन्यत्र लैजाने अभिव्यक्ति दिन थालेपछि शुक्रबार ज्ञापनपत्र बोकेर भेट्न पुगेका जिल्लाका दर्जन बढी जनप्रतिनिधिसंग प्रधनमन्त्री ओलीले दोलखामा चलचित्र नगरी बनाउन नसकिने अभिव्यक्ती दोहोर्याएका हुन्।
प्रधानमन्त्रीलार्इ भेट गर्न पुगेका दोलखाका सांसद र स्थानिय तहका प्रमुखका साथै उपप्रमुखसँग उनले गलत स्थान छनोट गरेको भन्दै आक्रोशित शैलीमा दोलखामा चलचित्र नगरी बन्न नसक्ने बताए। ‘दिनको दुई घण्टा पनि घाम नलाग्ने ठाउँमा चलचित्र नगरी बनाउन सकिन्छ ?’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई उद्धृत गर्दै भेटमा सहभागी एक सांसदले भने। ति सांसदका अनुसार जिल्लाका एक प्रदेश सभा सदस्यले फिल्म सिटीको प्रसंग झिक्ने बितिकै आक्रोशित मुद्रामा प्रधानमन्त्रीले घाम नलाग्ने ठाउँमा बन्न नसक्ने भन्दै उक्त अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति पछि जिल्लाका जनप्रतिनिधिले प्रतिप्रश्न गरेनन्।
एक बर्ष अघि हेलिकप्टरमा दोलखाको कालिञ्चोक जाँदा घाम नलागेका कारण ल्याण्ड हुन नसकेर आफु फर्किनु परेको प्रसंग समेत ओलीले कोट्याएका थिए।
जनप्रतिनिधिसँगै भेट्न गएका कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्काले फिल्म सिटी दोलखामा बनाउन प्रधानमन्त्री मानसिक रुपमा सकरात्मक नदेखिएको सुनाए। ‘उहाँको भाव र प्रस्तुती सुन्दा दोलखामा तयार हुँदै गरेको यो आयोजनालाई उहाँ अन्तै लैजाने मनस्थितीमा हुनुहुन्छ’ खड्काले भने 'तर हामी यो हुन दिन्नौं’।'
२०७० सालमा तत्कालिन खिलराज रेग्मी नेतृत्वको सरकारले बजेट वक्तव्य मार्फत दोलखामा फिल्म सिटी बनाउने घोषणा गरेर सम्भाव्यता अध्ययनका लागि २ करोड रुपैंया विनियोजन गर्ने निर्णय सँगै काम अघि बढेर चलचित्र नगरीका अधिकांश प्रक्रियाहरु पुरा भएका छन्।
यसअघि प्रधानमन्त्री ओलीले दुई साताअघि गण्डकी प्रदेशको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै फिल्म सिटी गण्डकीमा बनाउने घोषणा गरेका थिए। अघिल्लो पटक प्रधानमन्त्री हुँदा समेत उनले फिल्म सिटीका लागी हिरो हिरोईन नाच्ने र पौडी खेल्ने पोखरी दोलखामा नरहेको भन्दै चलचित्र नगरी पोखरामा बनाईने अभिव्यक्ती दिएका थिए।
४० करोड खर्च भईसक्यो
दोलखामा चलचित्र नगरी निर्माण गर्न सरकारले ४० करोड खर्च गरिसकेको छ। डाङडुङगे डाँडामा चलचित्र नगरी निर्माण गर्ने अभियानमा शुरु देखी सक्रिय बरिष्ठ कलाकार मदनदास श्रेष्ठका अनुसार पूर्वाधार निर्माणका लागी सरकारको ४० करोड हाराहारीमा रकम खर्च गरिसकेको छ। चलचित्र विकास बोर्डले गठन गरेको दोलखा चलचित्र नगरी निर्माण समितिका संयोजक समेत रहेका श्रेष्ठका अनुसार सबै प्रक्रियाहरु टुङगीएर हाल परामर्शदाता मार्फत गुरुयोजना निर्माणको काम अन्तिम चरणमा छ। २०७५ जेठ १२ गते छनोट भएको परामर्शदाताले आगामी कार्तिक भित्र गुरुयोजनाको विस्तृत प्रतिवेदन सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डलाई बुझाउदैछ।
प्रकाशित: ११ श्रावण २०७५ १३:०१ शुक्रबार