७ वैशाख २०८१ शुक्रबार
विचार

सेप्टेम्बर ११ को सम्झना

ओम बानियाँ-

आज सेप्टेम्बर ११ तारिख । ठीक १५ वर्ष पहिला अर्थात् सेप्टेम्बर ११, २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्विन टावर र पेन्टागनमाथि अलकायदाद्वारा भीषण हवाई आक्रमण गराइएको थियो । आक्रमणका ती दृश्य प्रत्यक्ष देखेका तथा टिभीमा हेरेका संसारभरका मानिसको मनमस्तिष्कमा अहिले पनि उस्तै ताजा छ, झलझली आँखामा छ ।

अलकायदाका आतंकीहरुले यात्रुबाहक जहाज अपहरण गरेर कसरी गगनचुम्बी ट्विन टावरमा ठोक्काएका थिए, कसरी टावरमा धुवाँ र आगोको मुस्लो हुर्किएको थियो र विशाल टावर कसरी गल्र्यामगुर्लुम भएको थियो, अनि सडकमा कसरी मानिसको भागदौड र कोकोहोलो मच्चिएको थियो, यी सबै दृश्य कसैले भुलेका छैनन् । यो घटनाको खबर सुन्दा र टिभीमा हेर्दा आफू कहाँ थिएँ र के गर्दै थिएँ भन्ने आदि कुरा पनि मानिसलाई जस्ताको तस्तै सम्झना हुनुपर्छ ।

यसैगरी २०५८ साल जेठ १९ गते भएको कहालीलाग्दो राजदरवार हत्याकण्ड र त्यसपछिका गतिविधि देखेका, टिभी र पत्रपत्रिकामा हेरेका हरेक सामान्य मानिसलाई त्यो घटनाका गतिविधि उस्तै झलझली याद छ । मानव मस्तिष्कको यो विशेषता नै हो कि भयाबह र आतंकित पार्ने यस्ता भावनात्मक सम्झना मानिसलाई निकै स्पष्ट, लगभग जस्ताको तस्तै याद हुने गर्छ ।  यो नै फ्ल्यासबल्ब मेमोरीको उदाहरण हो ।

फ्ल्यासबल्ब मेमोरी अनुसन्धानको क्षेत्रमा एक विवादास्पद विषय हो । कतिपय घगडान मेमोरी विशेषज्ञहरु यस किसिमको मेमोरीको अस्तित्व स्वीकार गर्दैनन् । तर एउटा कुरा के भने यस्ता भयाबह घटनाको सम्झना निश्चितरूपमा अन्य घटनाको तुलनामा जबर्जस्त हुन्छ । यो सबैले अनुभव गरेको कुरा हो । यस्ता भयाबह, मन आतंकित पार्ने, हृदय तोड्ने घटनाले मानिसको मनमस्तिष्क आतंकित पार्छ । त्यसैले यस्ता घटनामा परेका तथा देखेका कतिपय मानिस पिटिएसडी (ट्राउमाटिक स्ट्रेस डिसअर्डर) को शिकार हुने गर्छन् ।

साधारण शब्दमा भन्ने हो भने मानिसको मनमस्तिष्कले थेग्ने भन्दा बढी मानसिक आघात(ट्राउमा) का कारण यदि व्यक्तिमा एक्कासी आघातको कहालीलाग्दो स्मृति, निरन्तर भय, छटपटि, आतंक तथा तनाव देखा पर्छ भने त्यसलाई ‘ट्राउमाटिक स्ट्रेस डिसअर्डर’ भनिन्छ ।
 

डरलाग्दा, भयाबह घटना र दृश्यको सम्झनाले मात्र मानिसलाई आतंकित पार्दैन, विछोडको आघात र त्यसको सम्झनाले पनि मानिसको मनलाई निकै सताउने गर्छ । कतिपय प्रेमी वा पे्रमिकाले आफ्ना पूर्व प्रेमी वा प्रेमिकालाई बिर्सन सक्दैनन् । बारम्बार प्रेमीको सम्झनामा कल्पिरहन्छन् । उनीहरुको यस्तो मेमोरिज फ्ल्यासबल्बका रूपमा देखा पर्न सक्छन् । कतिपय यस्ता सम्झना यति तीव्र र मन नै आतंकित पार्नेखालका हुन्छन् कि प्रेममा बिछोडका आघातले उनीहरुमा पिटिएसडी तथा डिप्रेसनलगायतका मानसिक समस्या देखा पर्न सक्छन् ।

कुनै भयाबह घटना तथा आघातको फ्ल्यासबल्ब मेमोरीहरु मानिसको मनमस्तिष्कमा निकै गहिरोसँग बस्छन् । र, मानिसलाई सताउँछन् । त्यसैले यस्ता पीडादायक सम्झना मानिसले बिर्सन चाहन्छन् । तर जति बिर्सन चाहन्छन्, त्यत्ति नै यस्ता सम्झनाहरु रिभिजन हुन पुग्छन् जसले गर्दा यस्ता सम्झना झन् सुदृढ र ताजा हुन पुग्छन् । त्यसैले मानिसले बिर्सन चाहेको कुरा बिर्सन सक्दैनन् । यस तथ्यलाई जोड दिँदै स्वरसाम्राट नारायण गोपालले गीत नै गायका छन्, यो सम्झिने मन छ, म बिर्सुँ कसरी, तिमी नै भनिदेऊ ए, जाने निस्ठुरी...।

तर सम्झनाको पीडाबाट मुक्त हुने उपाय छ, त्यो हो कग्निटिभ थेरापी । यो थेरापीले त्यसरी कार्य गर्छ, जसरी हिन्दी चलचित्र ‘मुन्ना भाइ एमबिबिएस’ मा मुन्ना भाइ (सञ्जय दत्त) ले प्रेमीकालाई भुल्न नसकेर आत्महत्या गर्न लागेर अस्पतालमा भर्ना गराइएको एक युवकलाई एक गीतमार्फत् उसको सोच परिवर्तन गरेर ठीक पार्छन् । त्यसो त यस्ता समस्यामा परेका मानिसले ‘मुन्ना भाइ एमबिबिएस’ हेर्नु पनि निकै उत्तम हुन्छ । –मनोविद्

प्रकाशित: २६ भाद्र २०७३ ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App